नेकपा एमालेका महासचिव शंकर पोखरेलले जाजरकोट भूकम्पपीडितहरूका अस्थायी घर-टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयंसेवकहरूको परिचालन भोलि १ मंसिरदेखि हुने बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य नीरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्।
उनले घरबारविहीन जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई जति सक्यो सुरक्षित आवासमा सार्न पार्टीका तर्फबाट खटाइने स्वयंसेवकहरूले भूकम्प प्रभावित क्षेत्रमै गएर १ मंसिरदेखि काम थाल्ने बताएका हुन्।
‘गत १७ कात्तिकमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले घरबारविहीन बनेका भूकम्पपीडितहरू खुला आकाशमा कष्टकर जीवन बिताइरहनुभएको छ। विभिन्न निकायबाट संकलन भएकाे राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भैरहेको छ,’ लुम्बनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले भने, ‘भूकम्पपीडितका आस्थायी घर-टहरा निर्माण गर्न पार्टीले परिचालन गर्ने एक हजार स्वयंसेवकमध्ये पार्टीका पोलिट्ब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयंसेवकहरूले भोलि १ मंसिरदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्नेछन्।’
भूकम्पपीडितहरूका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरूबाट सत्ता र शक्तिको चरम दुरुपयोग भएको आरोप लगाउँदै महासचिव पोखरेलले कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्न पनि पार्टीका ९ वटै प्रदेश कमिटीहरूको प्रतिनिधित्व हुने गरी एक हजार स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिए।
छलफलमा एमाले उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूको अस्थायी घर-टहरा निर्माणको काममा नेपाली सेनालाई परिचालन गर्न सकेको खण्डमा मितव्ययी र प्रभावकारी हुने बताए।
केही वर्षअघि तराईको बारा र पर्सा जिल्लामा गएको आँधी हुरी प्रभावितहरूको आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले सबैभन्दा छरितो र प्रभावकारी ढंगले काम सम्पन्न गरेको उल्लेख गर्दै उपमहासचिव रिमालले जाजरकोट भूकम्प प्रभावितहरूका लागि सरकारले दिने भनिएको ५० हजार राहत रकमबाट अस्थायी घर-टहरा निर्माणको काम नेपाली सेनालाई दिँदा प्रभावकारी हुने बताए।
भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै एमाले केन्द्रीय सदस्य नीरज आचार्यले प्रभावितहरूलाई राहत वितरण एकद्वार प्रणालीबाट गर्ने नाममा सत्तापक्षीय राजनीतिक दलका नेताहरूले चरम विभेद गरेको आरोप लगाए।
‘जिल्ला सदरमुकाममा राहत थुप्रिएर बसेको छ। गाउँमा भूकम्पपीडित नागरिक खाली पेटमा खुला आकाशमुनि बस्न बाध्य छन्,’ केन्द्रीय सदस्य आचार्यले भने, ‘बहालवाला मन्त्री र सत्तारुढ दलका नेताहरूले आफूपक्षीय जनप्रतिनिधिमार्फत आफ्ना पार्टीका कार्यकर्ता छानेर राति राहत सामग्री वितरण गर्ने गरेका कारण वास्तविक भूकम्पपीडित नागरिक समस्यामा परेका देखिन्छन् ।’
जाडोका कारण अहिलेसम्म चारजना भूकम्पपीडितको ज्यान गैसकेको उल्लेख गर्दै आचार्यले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरूलाई मंसिर महिनाभित्रै खुला आकाशबाट सुरक्षित अस्थायी आवासमा सार्न नसके हिउँदको चिसोमा थुप्रै बालबालिका र वृद्धवृद्धाहरूको ज्यान जोखिममा रहेको उल्लेख गरे।
छलफलमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्यमणि गौतमलगायतको टोलीले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे पार्टी नेताहरूलाई जानकारी गराएको थियो।
सय सदस्यीय एमाले केन्द्रीय फोर्स जाजरकोट
जाजरकोट भूकम्प प्रभावितहरूको खोज, उद्धार तथा पुनर्निर्माणमा लागि एमालेको एक सय सदस्यीय स्वयंसेवक टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगेको छ।
भूकम्पले भग्नावशेष भएका बस्तीहरूको खोज, उद्धार र अस्थायी घर-टहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको सयसदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्र पुगेको हो।
पार्टी केन्द्रको निर्णयअनुसार भग्नावशेष हटाउन, अवरुद्ध बाटो पन्छाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा बनाउने कामका लागि जाजरकोट पुगेको स्वयंसेवक टिम (भोलि) १ मंसिरदेखि परिचालन हुने टोलीको नेतृत्व गरेका पार्टीका पोलिटब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।
‘एमालेको सय सदस्यीय केन्द्रीय फोर्स भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ,’ नेता श्रेष्ठले भने, ‘भूकम्प प्रभावित क्षेत्रको खोज, उद्धार र अस्थायी आवास निर्माणको काममा दुई सयजना स्वयंसेवकको टोलीले मंसिर १ गते भेरी नगरपालिका वडा नम्बर ३ माथिल्लो थाप्लेबाट काम सुरु गर्नेछ।’
एमालेको स्वयंसेवक टोलीले पहिलो काम भग्नावशेष पन्छाउने, बन्द भएका बाटाघाटा खुलाउने, खुला आकाशमुनि बसेकालाई सुरक्षित आवासमा सार्ने, अस्थायी शौचालय निर्माण गर्ने काम गर्ने टोली नेता श्रेष्ठले जानकारी दिए।
पार्टी केन्द्रको निर्णयअनुसार १५ दिनसम्म स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने बताएका श्रेष्ठका अनुसार अन्य स्वयंसेवक केही दिनमा जोडिँदै जानेछन्।
एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५-२५, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशबाट ५०-५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालित हुनेछन्।