१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाका श्रीमतीलाई जीवन निर्वाह भत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१४:oo

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीहरूलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ

दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा बर्दियालगायत देशभरि बेपत्ता भएका परिवारहरूले मानसिक, सामाजिक र आर्थिक समस्या भोग्दै आएका छन्। एकातर्फ आफन्त बेपत्ता भएको पीडा छँदै छ भने अर्कोतर्फ आर्थिक रूपमा सक्रिय सदस्य बेपत्ता हुँदा जीवन निर्वाह गर्न समस्या परेको छ।तर, बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाका श्रीमतीहरूलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ।

राजापुर नगरपालिकाभित्रका विभिन्न वडाका वडाबाट ३४ जना बेपत्ता भएका र अर्को विवाह नगरेका १६ जना महिलालाई पालिकाले मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ। नगरपालिकाले जीवन निर्वाह भत्ता कार्यविधि २०७९ निर्माण गरी भत्ता दिएको नगरपालिकाले जनाएको छ। 

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बेपत्ता परिवारको मासिक जीविकोपार्जन भत्ताको लागि १० लाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिए। 

उनले यस वर्ष  ०८०/८१ को नीति तथा कार्यक्रममा बिमाबापत सात लाख, सहिद तथा बेपत्ता परिवारको लागि ३५ लाख रुपैयाँ छुट्याइएको बताए। गत आर्थिक वर्षमा ०७९/८० मा ३५ लाख रुपैयाँ रकमबाट २० जनालाई दुई दुईवटाको दरले पाडी र १५ जनालाई पाँचवटा बाख्रा र प्रतिपरिवार एक  गोठ उपलब्ध गराएको छ।

अन्य पालिकामा जीवन निर्वाह भत्ता नपाए पनि आफ्नो नगरपालिकाले भत्ता दिएकोमा बेपत्ताका श्रीमतीहरू हर्षित भएका छन्। जीवन निर्वाह भत्ताले घरखर्च चलाउनका लागि सहज भएको राजापुर नगरपालिका ६ बिक्रमपुरकी ४९ वर्षीया हिरा थारूले बताइन्। 

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले श्रीमान् बेपत्ता भएका महिलाहरूले बिधवा भत्ता नपाउने भएकोले पालिकाले ‘जीवन निर्वाह भत्ता कार्यविधि २०७९’ निर्माण गरेर भत्ता दिइएको जानकारी दिइन्। उनले भनिन्, ‘श्रीमान् बेपत्ता भएकाहरू एकल महिलासरह भएको र सरकारको नीतिले भत्ता नपाउने भएकाले नगरपालिकाले जीवन निर्वाह भत्ता दिएको हो। यसले उनीहरूलाई जीवन निर्वाह गर्न थोरै भए पनि राहत मिलेको छ।’ 

राजापुर नगरपालिकामा सहिद तथा बेपत्ता परिवारको संख्या एक सय सात रहेको छ। जसमा सहिद ७३ जना र बेपत्ता ३४ जना रहेका छन्। द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएको थियो। बेपत्ता पारिएकाको अवस्था सार्वजनिक नहुँदा परिवारले अझै पीडा भोग्नुपरेको छ।
 

ad
ad