१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
असनमा बेच्न राखिएको प्लास्टिकको फूलको माला । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरले रोक लगाए पनि प्लास्टिकका माला छ्यापछ्याप्ती

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:१२:oo

काठमाडौं महानगरपालिकाले प्लास्टिक तथा कागजका फूल बेच्न रोक लगाए पनि पसलहरूमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ । निर्देशन दिएर अनुगमनमा कडाइ नगर्दा प्लास्टिकका माला र फूल बिक्री नरोकिएको हो । 

विगतका वर्षहरूमा प्लास्टिकजन्य फूल भित्रिँदा किसानले उत्पादन गरेका फूलमालाले बजार नपाएको भन्दै महानगरपालिकाले यस वर्ष प्लास्टिकका फूल आयातमा कडाइ गर्ने जनाएको थियो । तर, अनुगमन फितलो हुँदा महानगरभित्र रहेका पसलहरूमा प्लास्टिकका फूल यत्रतत्र बिक्रीका लागि राखिएको छ । हाल काठमाडौंका मुख्य चोक, पसल र सपिङ मलहरूमा समेत प्लास्टिकजन्य फूल माला टागेर राखिएको छ । सोही कारण किसानले उत्पादन गरेको फूलमाला बिक्री हुन नसकेको कृषि व्यवसायी उद्धव अधिकारीले बताए । ‘अझै पनि महानगरभित्रका धेरै पसलमा प्लास्टिकजन्य फूलमाला बिक्रीका लागि राखेको पाइएको छ, यसले गर्दा उपत्यकाआसपास उत्पादन भएका फूलले बजार पाउँदैनन्,’ उनले भने, ‘यसबारे महानगरले निगरानी बढाए सहज हुन्छ ।’ 

तिहारमा काठमाडौं उपत्यकाकामा ठूलो मात्रामा फूल खपत हुन्छ । मखमली, सयपत्रीलगायतका करिब २० लाख माला खपत हुने तथ्यांक छ । तर, बर्सेनि भारतबाट फूलमाला तथा कृत्रिम माला ल्याउने गरिन्छ । यस वर्ष सरकारले भारतबाट फूल तथा माला आयात हुन नदिने जनाएको थियो । काठमाडौं महानगरपालिकाले पनि भारतबाट ल्याइएको फूलमाला महानगरभित्र प्रयोग तथा बिक्री नगर्न भनेको छ ।

काठमाडौं महानगरपालिकाले नगरपालिकाभित्र तिहारलक्षित बजार र फूलको बिक्री सहज बनाउनेबारे शनिबार बिहान व्यवसायीहरूसँग छलफल गरेको छ । छलफलका क्रममा व्यवसायीहरूले कृत्रिम तथा आयातीत फूलमाला रोक्न सुझाव दिएका छन् । सुझावपछि महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले प्लास्टिकजन्य माला नबेच्न अनुरोध गरे । ‘प्लास्टिकजन्य माला हामीले बेच्न दिँदैनौँ, अब बजार अनुगमनलाई कडाइ पार्छौँ, त्यसरी बिक्री गरेको पाइएमा प्रहरीले उठाएर लैजान सक्छ,’ उनले भने, ‘उपत्यकाआसपासका किसानले दुःख गरेर फूल उत्पादन गर्नुभएको छ, यसबाहेक अन्य जिल्लाबाट पनि फूलहरू आउँछन्, स्वदेशी उत्पादनलाई प्रयोग गरौँ, प्लास्टिकजन्य फूल प्रयोग नगराैँ ।’ 

उनले महानगरभित्रका बजार तथा पसलहरू प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण रोक्न चार क्षेत्रबाट नगर प्रहरी परिचालन भएको बताए । त्यस्तै, महानगरले फुटपाथ अवरोध गरेर फूल तथा तिहारका सामग्री बिक्री नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । हाल काठमाडौं उपत्यकाका काठ क्षेत्रमा व्यावसायिक पुष्पखेती भइरहेको छ भने आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गोर्खा, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखालगायत जिल्लाबाट पनि तिहारका लागि फूल ल्याउने गरिन्छ । यसमध्ये पनि सबैभन्दा बढी माला चितवनबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायी विश्वमणि पोखरेलले तिहारको वेला मखमली र सयपत्री फूल बढी खपत हुने जानकारी दिए । उनका अनुसार हाल देशका ६७ भन्दा बढी जिल्लामा सयपत्री र मखमली फूल उत्पादन हुने गरेको छ । ‘विगतका वर्षहरूमा भन्दा यो वर्ष फूल उत्पादन बढेको छ, अब विदेशी उत्पादनलाई कम गरेर नेपालमै उत्पादन भएको फूलमाला प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘प्लास्टिकजन्य मालालाई पूर्ण रूपमा निषेध गर्न जरुरी छ ।’ 

४० लाख माला खपत हुने अनुमान, पाँच लाख अपुग
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यो वर्ष ४० लाख माला खपत हुने अनुमान गरिएको छ । त्यसमध्ये ३५ लाख माला नेपालमै उत्पादन भएको र बाँकी पाँच लाख माला भारतबाट आयात गरिएको छ । गत वर्षभन्दा यो वर्ष पाँच लाख माला बढी खपत हुने एसोसिएसनको अनुमान छ । 

कसरी छुट्याउने नेपाली र आयातीत माला ?
नेपाली माला ताजा हुन्छ । भारतबाट आयात गरिएको मालामा विभिन्न विषादीको प्रयोग गरिएको हुन्छ भने माला पनि चाउरिएको हुन्छ । नेपाली मालामा विषादी राखिँदैन भने कोल्डस्टोरमा धेरै समय होल्ड पनि गर्नुपर्दैन । 

भारतबाट आउने र नेपालमै बनेका माला छुट्याउने अर्को तरिका हो, त्यसको बुनाइ । भारतबाट आउने माला सुतलीको धागोमा बुनिएको हुन्छ भने नेपाली माला सेतो तथा गलैँचा बुन्ने धागोमा बुनिएको हुन्छ । 

फूलमाला बिक्री गर्न महानगरले तोक्यो चार स्थान
काठमाडौं महानगरपालिकाले तिहारको अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न चार स्थानमा बिक्रीका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्री–वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिरनजिक बिक्रीस्थल तोकिएको हो । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघाभन्दा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सो अवसरमा जानकारी दिइयो । 

ad
ad