Skip This
दोलखा सुन तस्करी प्रकरण : फलेक नाका हुँदै पटक–पटक गरी ३० किलोभन्दा धेरै सुन तस्करी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दोलखा सुन तस्करी प्रकरण : फलेक नाका हुँदै पटक–पटक गरी ३० किलोभन्दा धेरै सुन तस्करी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:o८:oo

प्रहरीले दोलखामा भएको साढे ११ किलो सुन तस्करी घटनाको अनुसन्धान प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रहरीले एक साताभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने गरी तयारी थालेको छ । 

जिल्ला प्रहरी कार्यालयले गत असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन बरामद गरेको थियो । घटनामा संलग्न १४ जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा संगठित अपराध कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । 

जिप्रका दोलखाका प्रमुख दीपक खड्काले घटनाको अनुसन्धान लगभग पूरा भएको र अबको केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने बताए । ‘सुन तस्करी गरेको अभियोगमा १४ जना पक्राउ परेका छन् । उनीहरूबाट ११ किलो ४५ तोला सुन बरामद भएको छ । उनीहरूविरुद्ध सुन चोरीपैठारी तथा संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान गरिएको थियो । घटना भएको ३५ दिन पूरा भइसकेको छ । अबको केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिनेछ,’ उनले भने ।

प्रहरीका अनुसार घटनामा संलग्न अभियुक्तले वर्ष दिनअघिदेखि नै फलेक नाकाबाट सुन तस्करी गर्दै आएका थिए । यस अवधिमा उनीहरूले ३० किलोभन्दा धेरै सुन तस्करी गरेको प्रहरीको भनाइ छ । तर, उक्त सुन भारतीय बजारमा लगेर बिक्री भइसकेकाले प्रहरीले बरामद गर्न सकेको छैन । सोहीमध्येको ४५ तोला सुन भने प्रहरीले काठमाडौंस्थित सुन व्यापारी दीपेन्द्र शाक्य र तिलक विकबाट बरामद गरेको छ । प्रहरीले दुवै व्यापारीलाई पक्राउ गरिसकेको छ । 

डिएसपी खड्काले बजार भाउभन्दा पाँच हजार रुपैयाँ सस्तोमा पाइएपछि शाक्य र विकले तस्करीको सुन खरिद गरेको अनुसन्धानबाट खुलेको बताए । ‘उनीहरूले विगतमा पनि सोही नाकाबाट सुन तस्करी गरेको देखिन्छ । उक्त सुन भारतीय बजारमा लगेर बिक्री गर्दै आएका थिए । केही सुन भने काठमाडौंमा पनि बेच्ने गरेका थिए । सोहीमध्येको ४५ तोला सुन शाक्य र विकबाट बरामद भएको छ । तस्कर गरी ल्याएका अन्य सुन भने बरामद हुन सकेको छैन,’ उनले भने ।

प्रहरीका अनुसार फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् । टासी चीनस्थित सिचुवान प्राप्तका हुन् भने गेङ तिब्बतका निवासी हुन् । तस्करीमा मुख्य साझेदार दोलखा बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा पनि रहेको अनुसन्धानबाट खुलेको छ । त्यसबाहेक पक्राउ परेका अन्य अभियुक्त भने भरियाका रूपमा प्रयोग भएको प्रहरीको भनाइ छ ।

हालसम्म सुन तस्करीमा पक्राउ परेका व्यक्ति

  • टासी दावा भनिने आगर लामा, मुख्य नाइके 
  • गेङ राउ, मुख्य नाइके 
  • नुर्बुछिरिङ शेर्पा, व्यापारिक साझेदार 
  • सुनमाला तामाङ, व्यापारिक साझेदार
  • दीपेन्द्र शाक्य, व्यापारी
  • तिलक विक, व्यापारी
  • सनत प्रधान, सहयोगी 
  • लालबहादुर तामाङ, सहयोगी
  • पेम्बा तामाङ, भरिया 
  • च्याङ्बा भनिने चसमान तामाङ, भरिया
  • केशर तामाङ, भरिया 
  • माधव मगर, भरिया 
  • राज तामाङ, भरिया 
  • चेतनाथ न्यौपाने, सहयोगी
ad
ad