
बचतकर्ताको रकम घोटाला प्रकरणमा प्रहरीले लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अर्जुन चौलागाईँसहित थप पाँचजनालाई पक्राउ गरेको छ । चार हजार पाँच सय बचतकर्ताको रकम घोटाला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठमध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो ।
सहकारीमा भएको अनियमिततामा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । ‘लालुपाते सहकारी संस्थामा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ ।
अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने ।
आफूहरूले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले २ फागुन ०७९ मा सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उनकी श्रीमती रविना श्रेष्ठलाई १३ असोज तथा प्रबन्धक रुकु जोशीलाई १७ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउ परेका सुनिल जोशी श्री एयरलायन्सका क्याप्टेनसमेत हुन् । बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघि सार्वजनिक गर्न मानेको थिएन । उनीहरूको परिवारले एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष ०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । १० मंसिर ०७२ मा दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिडबाट १५ वैशाख ०७८ मा पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीको निधनपछि सहकारीको आर्थिक कारोबार ठप्प छ ।