Skip This
वडाध्यक्ष खत्री आठौँपटक पहलमान घोषित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ६ सोमबार
  • Saturday, 27 July, 2024
कमल खत्री म्याग्दी
२o८o कार्तिक ६ सोमबार २o:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वडाध्यक्ष खत्री आठौँपटक पहलमान घोषित

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o कार्तिक ६ सोमबार २o:५६:oo

म्याग्दीको धवलागिरि– ७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा वडाध्यक्ष अशोक खत्री आठौँपटक पहलमान घोषित भएका छन् ।

८.५ किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका वडाध्यक्ष खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका छन् ।

प्रतियोगितामा ताकम र आसपास गाउँका १८ युवाले सहभागिता जनाएका थिए । पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ । खत्रीले आठौँपटक पहलमानको उपाधि जित्दा यसअघि ०७८ र ०७९ मा विजयी भएका मालिका गाउँपालिका– १ निस्कोटका याम परियार दोस्रो बने ।

खत्रीले ०७० देखि ७६ सम्म लगातार सातवटा उपाधि जितेका थिए । विजयी खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले फेटा गुथाएर सम्मान गरेका छन् ।

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका छन् । यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

वि.सं. १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रूपमा समेत प्रयोग गरेको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।