१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुटवलमा एक हजार सवारीसाधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५४:oo

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई दुई हजार पाँच सय, तीनपांग्रे सवारीलाई  दुई हजार नौ सय, चारपांग्रे सवारीलाई तीन हजार दुई सय र हेभी सवारीलाई  तीन हजार ६ सय राजस्व तोकिएको छ

बुटवलमा सवारीसाधनको अभिलेख केन्द्रीकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्ष दिन बितिसकेको छ । तर, यहाँका सवारीधनीमा यसप्रति खासै रुचि नभएको देखिएको छ ।

सरकारले ०७४ भदौदेखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारीसाधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ ।  

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँच सय १५ सरकारी मोटरसाइकल र एक सय ४६ वटा चारपांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपांग्रे सवारी, आठवटा ट्याक्टर, भाडाका पाँच र दशवटा भारी सवारीसाधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।  

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडानबापतको राजस्व पनि विभागको खातामा दाखिला हुने गरेको जानकारी दिए । निजी सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुचि नभएको उनको बुझाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई दुई हजार पाँच सय, तीनपांग्रे सवारीलाई  दुई हजार नौ सय, चारपांग्रे सवारीलाई तीन हजार दुई सय र हेभी सवारीलाई तीन हजार ६ सय राजस्व तोकिएको छ । एघारजना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।   
 

ad
ad