पाँच दिनपछि मौसममा सुधार आएपछि आज रामेछापको मन्थलीबाट लुक्लाको उडानहरू सञ्चालन भएका छन् । पाँच दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटक लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जान पाउँदा निकै खुसी भएका छन् ।
लगातार पाँच दिनसम्म लुक्लाको मौसम नखुल्दा लुक्ला उडान ठप्प थियो । पर्यटक मौसम सुरु भएसँगै विगतमा काठमाडौंबाट लुक्लाका लागि हुने गरेका उडान केही वर्षदेखि रामेछापबाट हुँदै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरू बनाएसँगै उडानहरू सहज भएको छ र थप सुधारका कामहरू हुँदै आएका छन् । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरूले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग गरेका छन् ।
हाल यी विमानस्थलहरूमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरू हातैले खानतलासी गर्नुपरेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनः प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ । यस विमानस्थलबाट तारा, समिट र सीता एयरले उडान भर्दै आएका छन् ।
सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एयरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ५ दिनदेखि मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन्, केही पर्यटक फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने केही हेलिकाेप्टरमार्फत उडान गरी गन्तव्यतर्फ लागेका थिए । आज मौसम खुलेसँगै उडान सहज भएको छ । जहाज तथा जनशक्ति सबै मन्थली विमानस्थलमै थिए, आज बिहानैदेखि उडानहरू सञ्चालन भइरहेका छन् ।