इजरायल घटनामा नेपालको रबैया कस्तो लाग्यो ?
मृतकको शव र बिचल्लीमा परेकाहरूलाई विमान पठाएर तुरुन्तै किन ल्याइएन भन्ने आलोचनाले अन्तर्राष्ट्रिय उडान रोकिएको अवस्थालाई उपेक्षा गर्यो । यसैगरी इजरायली सेनाले तदारुकतासाथ घाइतेलाई अस्पताल र बिचल्लीमा परेकालाई स्कर्टिड गरेर सुरक्षित स्थलमा पुर्याएर आफ्नो दक्षता पुष्टि गरेकामा शाब्दिक साधुवाद व्यक्त गर्नबाट नेपाल सरकार चुकेको छ । यो कूटनीतिक त्रुटि र बेमौकामा पनि सरकारलाई झपार्ने बानी सच्याउनुपर्छ ।
यस्ता द्वन्द्वमा नेपालको अन्तर्राष्ट्रिय दायित्व के हो ?
आतंककारी गतिविधि अस्वीकार गर्नु र इजरायलको आत्मरक्षाको अधिकारका पक्षमा उभिनु नेपालको सैद्धान्तिक प्रतिबद्धता हो । परेको वेलामा मित्र देशलाई नैतिक आड दिन सधैँ अग्रपंक्तिमा उभिनुपर्छ । इजरायलको आत्मरक्षाको अधिकारलाई प्रभावशाली वाक्यांशद्वारा समर्थन जनाउन नेपाल पछि पर्नु हुँदैन । आफ्नो भूराजनीतिक स्थापनाले अनुभूत गर्न थालेको सामरिक तानातानी र अनिश्चयमा अन्तर्राष्ट्रिय समर्थन, सद्भावनाको सञ्चिती र आर्जनको निरन्तरतालाई नेपाली कूटनीतिले सधैँ जोगाउनुपर्छ ।
अबका दिनमा नेपालले निर्वाह गर्नुपर्ने भूमिका के हो ?
रेमिटेन्सको आकर्षणमा द्वन्द्वग्रस्त देशमा पनि जनशक्ति पठाउने श्रम सम्झौतामुखी कूटनीतिले नागरिकलाई जोखिममा घचेटेको छ । विगतमा अफगानिस्तान र अहिले युक्रेन युद्धमा नेपाली युवाको संलग्नताले भएको बदनामीबाट सच्चिन ढिलो भइसक्यो । वैदेशिक फाँटमा मध्यपूर्वको कूटनीतिक जटिलता ह्वात्तै बढेको छ । अहिलेको घटनाले साउदी अरेबिया र इजरायलबीच मेल गराउने अमेरिकी प्रयास, साउदी र इरानबीच मिलाप गराउने चिनियाँ कोसिस तथा युक्रेन युद्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न छ । यस प्रश्नलाई नेपालले भविष्यमा सम्बोधन गर्नुपर्ने भएकाले सरकारले तत्काल अध्ययन, मूल्यांकन र सामरिक सोच बनाउन थाल्नुपर्छ ।