१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले गरे सशस्त्र प्रहरीको कार्यसम्पादनको प्रशंसा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित स्रोतसाधनको बाबजुद सशस्त्र प्रहरीले उच्चस्तरको कार्यसम्पादन गर्दै आएको भन्दै प्रशंसा गरेका छन्। 

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।  

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुका साथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरे। 

राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्त्पूर्ण इतिहास बोकेको संगठनमा आबद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेको भन्दै उनले प्रशिक्षार्थी अधिकृतहरूलाई बधाई दिए। यस्तै, राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकता साथ अनुशासित र इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन पनि दिए। 

आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनीकरण, राजस्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको मूलभूत पक्षहरूमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो। 

सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्त्वपूर्ण पक्ष भएको बताउँदै उनले संगठनलाई आधुनीकरण र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए।

दीक्षित भई कार्यक्षेत्रमा जान लागेका अधिकृतहरूप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीका क्षेत्रहरूमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैरव्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारीपूर्वक लागू गर्न प्रधानमन्त्रीले निर्देशन दिए। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पार गर्दै कार्यक्षेत्रमा आइपरेका सुरक्षा चुनौतीहरूलाई परास्त गर्दै राज्य र जनचाहनाअनुरूपको सेवा र सुरक्षामा दर्बिलो सुरक्षा निकायको रूपमा आफूलाई परिचित गराउँदै आएको बताए। 

सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउट पोस्ट (बिओपी)हरूको स्थापना तथा मौजुदा रहेका बिओपीहरूको समेत स्तरवृद्धि र प्रविधिमैत्री बनाउँदै लगिने उनले बताए। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताको सेवा, सुरक्षामा कटिबद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लागेका अधिकृतहरूलाई हार्दिक बधाई दिए। उनले तालिममा हासिल गरेका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई पेसागत जीवनमा अक्षरशः पालना गरी कार्यसम्पादनमा जुट्न निर्देशन दिए। 

ad
ad