१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुरक्षा परिषद् बैठक : सामाजिक असहिष्णुता बढाउने गतिविधि न्यूनीकरणबारे छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:१७:oo

विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि बढेपछि सरकारले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आवश्यक रणनीति बनाएको छ । देशमा धार्मिक तथा जातीय टकरावका घटना शृंखलाबद्ध रूपमा बढ्न थालेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार बसेको बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठकले धार्मिक तथा जातीय सद्भाव बिग्रँदा राष्ट्रिय सुरक्षामै असर पर्न सक्ने भएकाले सुरक्षा निकायले थप चनाखो हुनुपर्ने निष्कर्ष निकालेको छ ।

हिंसाका घटना बढ्दै जाँदा सेनालाई पनि खटाउनुपर्ने भएकाले उच्च सतर्क अवस्थामा रहन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । बैठकमा सम्भावित अवस्थालाई हेरेर सबै तयारी अवलम्बन गर्ने विषयमा छलफल भएको छ । 

परिषद्का अनुसार बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको छ । ‘पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरू, विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरू तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भयो,’ परिषद्को विज्ञप्तिमा भनिएको छ । 

परिषद्को ३१औँ बैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाबारे छलफल भएको थियो । बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षासचिव किरणराज शर्मा सहभागी थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने सुरक्षा गोष्ठीका लागि मधेश प्रदेशमा गएकाले बैठकमा सहभागी हुन पाएनन् । 

पछिल्लो समय तराईका जिल्लाहरूमा हिन्दू तथा मुस्लिम समुदायबीच तनाव बढेको छ । गत साता सर्लाहीको मलंगवामा चार दिन कर्फ्यु लागेकोमा मंगलबारदेखि नेपालगन्जमा पनि सद्भाव बिगार्ने प्रयास भइरहेको छ । यस्ता गतिविधिमा केही अतिवादी व्यक्तिहरू प्रायोजित रूपमा लागेको सुरक्षा निकायको विश्लेषण छ । सीमा क्षेत्रमा हुने यस्ता घटनाले सुरक्षामा अझै चुनौती थपेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । यही अवस्थामा प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका हुन् । 

उता मन्त्रिपरिषद् बैठकले पनि सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ । मंगलबार बसेको बैठकले जात–जाति र सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल प्रयोग गर्दा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक कुनै पनि प्रकारका घृणा तथा अवहेलना हुने गतिविधि नगर्न सरकारले आग्रह गरेको छ । 


 

ad
ad