१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o४:oo

प्रमुख पर्यटकीय र चाडपर्वको सिजनमै नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने वाइबडी जहाज ६ दिनदेखि ग्राउन्डेड भएको छ । कार्गोपट्टि ढोकाको भागमा हाइलोडर ठोक्किएर जहाजको बडी क्र्याक भएपछि ‘९एन–एएलजेड’ ११ असोजदेखि काठमाडौंमा ग्राउन्डेड भएको हो ।

अहिले नेपालमा पर्यटकीय सिजनसँगै दसैँ–तिहारजस्ता ठूला चाडपर्व सुरु भइसकेका छन् । यो समयमा विदेशबाट धेरै नेपाली स्वदेश फर्किने गर्छन् । यही समयमा काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन हुँदै छ, जसका लागि विश्वभर रहेका गैरआवासीय नेपाली आउने क्रम सुरु भइसकेको छ । तर, वर्षभरिमै सबैभन्दा व्यस्त रहनुपर्ने सिजनमै निगमको अन्तर्राष्ट्रिय उडान गर्ने ठूलो जहाज नै बिग्रिएर थन्किएको छ । ‘जहाज बिग्रिनु सामान्य हो, प्राविधिक समस्या आउन सक्छ,’ निगमबाट अवकाशप्राप्त एक कर्मचारीले भने, ‘तर, बिग्रिएको जहाज मर्मतमा समय लगाउनु लापरबाही हो ।’

विदेशबाट यात्रु ल्याउन व्यस्त हुने सिजनमा जहाजको सामान्य मर्मतमै धेरै समय लगाउँदा निगमले करोडौँ आम्दानी गुमाउनुपरेको छ । वाइडबडी जहाजले दोहा, दिल्ली, नारिता, दुबईलगायत गन्तव्यमा २४ घन्टामा चारवटासम्म उडान गर्छ । ती गन्तव्यको उडानतालिका नै बिग्रिएको छ । ‘बिहानको उडानतालिका भएका यात्रुलाई बेलुका वा अर्को दिन उडाउँदा कि होटेलमा राख्नुपर्छ, कि अरू वायुसेवामा टिकट काटेर उडाउनुपर्ने हुन्छ, विदेशी वायुसेवाको भाडा अत्यन्तै चर्को छ,’ निगमका एक पूर्वकर्मचारीले भने, ‘उडानतालिका बिग्रिनेबित्तिकै निगमलाई अतिरिक्त बोझ थपिन गइहाल्छ ।’ 

भारतको बैंग्लोरबाट ११ असोजको राति ८: ३२ बजे काठमाडौंमा अवतरण गरेको जहाजबाट सामान निकाल्ने क्रममा हाइलोडर ठोक्किएर जहाजमा क्र्याक आएपछि वाइडबडी ग्राउन्डेड भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । हाइलोडर जहाजमा कार्गो लोड–अनलोड गर्ने इक्विपमेन्ट हो । ग्राउन्ड इक्विपमेन्ट स्टाफले सामान झिक्न कार्गो ढोकामा हाइलोडर जोड्दा ठोक्काएका थिए । हाइलोडर ठोक्किएपछि चेक गर्दा भित्री भागमा पनि क्र्याक देखिएपछि जहाज ग्राउन्डेड गरिएको हो ।

निगमको इन्जिनियरिङ टिमले क्र्याक भएको जहाजको बडी रिपेयर गर्न ‘हाइलक’ र ‘प्याच’ आवश्यक पर्ने देखिएको स्रोतको भनाइ छ । ‘क्र्याक मर्मत गर्न जहाज बनाउँदा प्रयोग गरिएकै जस्तै सामग्री चाहिन्छ, त्यो सामान निगमसँग स्टक थिएन,’ निगम स्रोतले भन्यो, ‘त्यो सामान खोज्दा यसै समय लाग्यो, सामान ल्याएर जहाज मर्मत गरी उड्न अझै कम्तीमा चार–पाँच दिन लाग्छ ।’

निगमको विगतदेखि नै ‘पेमेन्ट प्रोसेस’ राम्रो नहुँदा धेरै कम्पनीले सामान दिन नखोजेको स्रोतको दाबी छ । ‘एक–दुई कम्पनी सामान दिन तयार भएका छन्, सामान लिन निगमले पर्चेज अर्डर गर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘यस विषयमा निगमको कन्टिन्युइङ एयरवर्दिनेस म्यानेजमेन्ट डिपार्टमेन्ट इन्जिनियरिङले निर्णय गर्नुपर्छ, तर अझै निर्णय भइसकेको छैन ।’ जहाज मर्मतका लागि भारतबाट प्राविधिक पनि ल्याउनुपर्छ ।  

वाइडबडी ग्राउन्डेड हुनुअघि निगमकै न्यारोबडी ९एन–एकेएक्स जहाज ग्राउन्डेड भएको साढे दुई महिनापछि इजरायलमा भाडाको इन्जिन फेरेर शुक्रबारदेखि नियमित उडानमा फर्किएको छ । निगम व्यवस्थापनको अक्षमता र चरम लापरबाहीका कारण जहाजमा सामान्य प्राविधिक समस्या आउँदा पनि लामो समय ग्राउन्डेड हुँदै आएका छन् ।

अहिले निगमको सञ्चित कुल ऋण ४८ अर्ब तीन करोड छ, जसको सरदर १० प्रतिशतभन्दा बढीको दरले ब्याज र किस्ता बुझाउनुपर्छ । यो ऋणभारलाई घटाउन निगमलाई व्यापार वृद्धि गर्नुपर्ने बाध्यता छ । तर, निगम व्यवस्थापनले इन्जिन बिग्रिएपछि भाडाको इन्जिन ल्याएर नियमित उडान सुचारु गर्न पनि साढे दुई महिनासम्म लगाउँदै आएको छ । पछिल्लो २० महिनामै इन्जिनमा खराबी देखिएर निगमको अन्तर्राष्ट्रिय उडान गर्ने न्यारोबडी ९एन–एकेडब्लु दोहामा ग्राउन्डेड हुँदा ७५ दिन, काठमाडौंमा ग्राउन्डेड हुँदा ६२ दिन र अर्को न्यारोबडी ९एन–एकेएक्स ग्राउन्डेड हुँदा ७५ दिनसम्म ग्राउन्डेड भएका थिए ।
 

ad
ad