पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कुरा कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी मात्रै रहेको प्रस्टीकरण दिएका हुन्।
‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन। वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐजस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रस्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
संघीयताविरोधी अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृतिजस्ता संवेदनशील विषयलाई उछालेको उल्लेख गर्दै शर्माले सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।