
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औँल्याएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक– २०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन्। आमसर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ। अहिले चिन्ताको विषयचाहिँ त्यही हो। कतिपय वेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ।’
बढाइचढाई गरेर आमलगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति रहेको भन्दै मन्त्री डा. महतले धितोपत्र बोर्डले लगानीकर्तालाई साक्षर बनाउनुका साथै लगानी सुरक्षाको ज्ञान र जागरुकता पैदा गरी स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न जरुरी रहेको बताए।
‘पहिला सीमित ब्रोकर मात्र थिए। अहिले ब्रोकरको संख्या बढेको छ। अब मनोपलाइज न्यून हुँदै जानेछ। यसको फाइदा आमलगानीकर्ताले प्राप्त गर्नेछन्,’ उनले भने।
सेयर बजार अहिले तल झर्नुकाे विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताए। उनले भने, ‘यसको समाधान हुँदै जान्छ। सेयर बजारका लागि केही निर्णय चाँडै आउँछ भन्ने मलाई विश्वास छ।’