१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : पब्जीमा पनि नेपाल बाहिरियो

पब्जीमा सेमिफाइनलको समूहमा दोस्रो स्थानमा रहँदा पनि फाइनल पुग्ने प्रावधान छ, तर समूह ‘ए’मा तेस्रो स्थान हात पार्दा नेपाली टोलीको पदक जित्ने सम्भावना समाप्त

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१४:oo

चीनको हाङझाउ सहरमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा ई–स्पोर्टस्अन्तर्गत पिस एलिटको रूपमा रहेको पब्जी मोबाइलबाट नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । यो नतिजासँगै सन् १९८६ पछि नेपाल एसियाडबाट सम्भवतः पहिलोपटक खाली हात फर्कने अवस्थामा पुगेको छ । सन् १९५१ देखि लगातार सहभागिता जनाइरहेको नेपालले १०औँ संस्करणमा पदक जितेको थियो । सन् १९८६ को सोल एसियाडमा नेपालले खाता खोलेको थियो । त्यसयता नेपाल कहिल्यै पनि एसियाडबाट पदकविहीन हुनुपरेको थिएन । 

तर, कमजोर तयारी र आन्तरिक संघहरूको आपसी किचलोबीच एसियाडमा सहभागी नेपाल यसपटक पदकविहीन अवस्थामा पुगेको छ । प्रतियोगिता सुरु भएको एक साताभित्र नेपालले पदकको आशा गरेका सबै खेल एकपछि अर्को गरी घर फर्किएका छन् । यसपालि राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मार्सल आर्ट खेलमा पदकको आशा राखेका थिए । तेक्वान्दो, बक्सिङ, कराँतेलाई सम्भावित पदक जित्ने लिस्टमा समावेश गरी हाई परफर्मेन्स खेलको वर्गीकरण गरी प्रशिक्षण दिइएको थियो । 

उसु र जुडोका खेलाडी पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो र बक्सिङमा नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो । अपेक्षाविपरीत नतिजा आउँदा पब्जीबाट नेपालले पदक जित्ने आशाको किरण देखेको थियो । शुक्रबार नेपाली टोली सेमिफाइनलमा पुग्दा पदक जित्न सक्ने भनी सम्बन्धित पदाधिकारी दंग परेका थिए । पदक जित्ने आशासहित ओलम्पिक कमिटीका सबै पदाधिकारी पब्जी खेल हेर्न उपस्थित भएका थिए । यो खेलले विश्व च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको थियो । विश्व च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले एसियाडमा पक्कै पनि पदक भिœयाउन सक्ने क्षमता राखेको थियो । 

तर, शनिबार बिहान चाइना हाङझाउ ई–स्पोर्टस् सेन्टरमा सेमिफाइनलको समूह ’को खेलमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले केवल जापानलाई हराएको थियो । फाइनलमा पुग्न कम्तीमा दोस्रो हुनुपर्ने थियो । नेपाली टोली दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भयो । नेपाली टोलीमा सुविनकुमार प्रजापति, दीपेश गुरुङ, साहस भण्डारी र समीर गुरुङले खेलेका थिए । 

फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहँदा नेपालका सुविनकुमार, दीपेश, साहस, समीर र संगीन सम्मिलित नेपाली टोलीले ५४ मिनेट ३३.३४६ सेकेन्ड टाइमिङ निकाले, जुन तेस्रो स्थानसम्म मात्र सीमित भयो । दक्षिण कोरिया ५० मिनेट ३७.१५१ सेकेन्ड टाइमिङसहित पहिलो स्थानमा रह्यो । 

चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेन्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेको छ । यसअघि शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’मा दोस्रो हुँदै नेपाल अन्तिम चारमा पुगेको थियो । नेपालले क्वार्टरफाइनलमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । हङकङ शीर्ष स्थानमा रह्यो । नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । 

बक्सिङमा पनि पदकविहीन
एसियाडमा बक्सिङ पनि पदकविहीन हुँदै घर फर्किएको छ । हाङझाउ जिम्नासियममा नेपालकी सरस्वती राना ७५ केजी तौलसमूहको क्वार्टरफाइनलमा भियतनामकी लु क्विइनसँगै ४–१ ले पराजित भएकी छिन् । सरस्वती बाहिरिएसँगै नेपाली बक्सिङ टोलीसमेत पदकविहीन भएको हो । सरस्वतीले खेल जित्दा कांस्य पदक निश्चित थियो । तर, उनी भियतनामकी खेलाडीसँग अंकका आधारमा पराजित भइन् । पहिलो राउन्डमा राम्रो खेले पनि उनी तेस्रो राउन्ड पुग्दा कमजोर देखिइन् । यद्यपि, उनले भियतनामकी खेलाडीलाई हराइन् । यो राउन्डमा उनले ३०–२७ को स्कोर गरेकी थिइन् । 

एसियाडको इतिहासमा नेपाललाई बक्सिङबाट ६ कांस्य प्राप्त छ । सन् १९८६ को सोल एसियाडमा बक्सिङले चार कांस्य दिलाएको थियो । सन् २०१० को ग्वाङझाउ एसियाडमा वर्तमान नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले कांस्य जितेका थिए । त्यसयता नेपाल एसियाडमा बक्सिङबाट पदकविहीन छ । 

यसपटक बक्सिङमा १३ खेलाडी सहभागी भएका थिए । सहभागी खेलाडीमध्ये रबिना थापाले एक बाउट जितेकी थिइन् । उनले इन्डोनेसियाका खेलाडीलाई ४–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका थिए । उनी प्रिक्वार्टरफाइनलमा अन्तिम १६ बाटै पराजित भए । उनी उत्तर कोरियाका खेलाडीबाट परास्त भए । 

उनीबाहेक अन्य नेपाली बक्सरले एक खेल पनि जित्न सकेनन् । एसियाली स्तरमा रजत पदक विजेता सुष्मा तामाङले पदक दिलाउने आशा थियो । तर, उनले आफ्नो इभेन्टमा गतिलो प्रदर्शन गर्न सकिनन् । १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्णविजेता भूपेन्द्र थापा पनि पहिलो खेलमा पराजित भए । 

 एसियाडमा ६ कांस्यको त्यो इतिहास 
नेपालले एसियाडमा बक्सिङबाट ६ कांस्य पदक जितेको छ । एसियाडमा बक्सिङ तेक्वान्दोपछि नेपालको सफल खेल हो । नेपालले अन्तिमपटक सन् २०१० को ग्वाङझाउ एसियाडमा वर्तमान टोलीका प्रशिक्षक दीपक महर्जनले नेपाललाई कांस्य पदक दिलाएका थिए । त्यसयता नेपाल एसियाडमा बक्सिङमा पदकविहीन छ । सन् २०१० को एसियाडमा नेपाललाई एक मात्र पदक जिती पदकविहीन हुनबाट दीपकले नै जोगाएका थिए ।

नेपालले १९८६ को एसियाडमा बक्सिङबाट चार कांस्य जितेको थियो । नेपालका दलबहादुर रानामगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले बक्सिङबाट कांस्य जितेका थिए । सन् १९९० को बेइजिङमा चित्रबहादुर गुरुङले कांस्य जिते । यसको २० वर्षपछि दीपकले कांस्य हात पारे । 

 दीपकले बनाए राष्ट्रिय कीर्तिमान
एसियाडको आठौँ दिनमा नेपालका लागि एथलेटिक्सका धावक दीपक अधिकारीले राष्ट्रिय रेकर्ड राखेका छन् । हान्झाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा शनिबार साँझ दीपकले १० हजार मिटर दौडमा आठौँ स्थानमा रहँदै राष्ट्रिय रेकर्ड राखेका हुन् । उनले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गरे । १० हजार मिटर दौडमा गोपिचन्द्र पार्कीले इन्चोन एसियाडमा राष्ट्रिय रेकर्ड राखेका थिए । अब यो रेकर्ड दीपकको नाममा आएको छ । 

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन एसियाडमा पार्कीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए । ९ वर्षपछि पार्कीको रेकर्ड तोडिएको छ । दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेन्डको ह्यान्ड कीर्तिमान बनाएका थिए । तर, इलेक्ट्रिक टाइमिङ नभएकाले सो कीर्तिमानलाई आधिकारिक मान्यता दिइएन । 

१९औँ एसियाडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी बनेका छन् । शनिबारको स्पर्धामा दीपक सहभागी दौडमा १६ जना सहभागी थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले एसियाडमा राष्ट्रिय कीर्तिमान पदक जितेबराबर भएको प्रतिक्रिया दिएका छन् । ‘यो एकदमै ठूलो उपलब्धि हो, हामी सबैको मिहिनेतले सफल भयौँ, एकदमै खुसी छौँ,’ उनले भने । 

यसैगरी, राष्ट्रिय कीर्तिमान बनाएका दीपक अधिकारीले मिहिनेतअनुसारको नतिजा आएको बताए । ‘एकदमै खुसी लागेको छ, मिहिनेत अनुसार रिजल्ट आयो,’ उनले भने, ‘नियमित प्रशिक्षण भए अझ राम्रो गर्न सकिन्छ ।’ 

 ट्रायथलनमा महर्जन १७औँ स्थानमा
ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७औँ भएकी छिन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएई, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् । महर्जनले एक हजार पाँच सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा दुई घन्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरेकी थिइन् । ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष/महिला गरी चार खेलाडी सहभागी छन् । 

 ह्यान्डबल :  सबै चुनौती समाप्त
महिला ह्यान्डबलमा नेपालको सबै चुनौती समाप्त भएको छ । समूह ‘बी’को तेस्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्‍यो । नेपालका लागि कप्तान वन्दना राईले ७ र उमा राईले ६ गोल गरेका थिए । कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान दुई गोल गरे । सम्झना कुमाल र रामकुमारी चौधरीले समान दुई गोल गरेका थिए । यसअघि नेपाल हङकङसँग २७–१८ ले पराजित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७–१० र जापानसँग ६२–१० ले हारेको थियो । 

 भारोत्तोलनमा : टीकामाया बाहिरिइन्

एसियाडमा शनिबारदेखि भारोत्तोलन सुरु भएको छ । महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ बाहिरिएकी छिन् । एक्सएससी जिम्न्यासियममा भएको समूह ‘ए’को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् । स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेकी थिइन्, तर उनी सफल भइनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा उनले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । उनी ९० केजी तौल उचाल्नसमेत असफल भइन् । 

ad
ad