Skip This
दीपेन्द्रबारे बुबा गगनसिंहकाे प्रतिक्रिया- छोराकाे कीर्तिमानले देश खुसी छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका महेन्द्रनगर
२o८o असोज ११ बिहीबार १५:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दीपेन्द्रबारे बुबा गगनसिंहकाे प्रतिक्रिया- छोराकाे कीर्तिमानले देश खुसी छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १५:o८:oo

बुधबार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे।

१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मंगोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो। 

उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने। उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए। 

कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मिहिनेती र अब्बल रहेको उनका बुबा गगनसिंह ऐरीले सुनाए। बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन, गाउँ नै खुसी रहेको उनले बताए। 

‘घरको टिभीमा रिचार्ज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगेँ,’ छोराको सफलताले हर्षित गगनसिंहले भने,  ‘चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन।’ 

एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो वेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झिए। ‘चार छोरामध्ये साइँलो हो, दीपेन्द्र,’ उनले भने, ‘छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ।’ 

विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मिहिनेत र सक्रिय भएर लाग्ने दीपेन्द्र उच्च माध्यमिक शिक्षा अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कुल भर्ना भएका वेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे। 

‘स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो,’ उनले भने, ‘खेलप्रतिको लगाव र मिहिनेतकै कारण आज ऊ सफलतातर्फ लम्किँदै छ। दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन्।’ 

सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उनले बताए।  

करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएका गगनसिंह परिवारसहित ०३६ सालमा बैतडीबाट तिलाचौर बसाइँ सरेका थिए। 

नेपाली क्रिकेटका परिचित नामहरू प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन्। ‘छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपर्नू भनेर सम्झाउने गर्थेँ,’ उनी भन्छन्, ‘समयअनुसार परिपक्व हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो।’ 

बुबा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी थिए भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए। ‘छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपिएफ क्लबमा क्रिकेट नै खेल्छिन्,’ उनी भन्छन्, ‘छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ। क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ।’ 

एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन्। 

महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताए। 
    
‘निकै मिहिनेती र क्रिकेटलाई नै जिन्दगी ठानेर ऊ अघि बढिरह्यो,’ उनी भन्छन्, ‘क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ।’ दीपेन्द्रले पढाइभन्दा पनि त्यसवेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उनको भनाइ छ। रासस