१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ बैशाख २० बिहीबार १२:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२५:oo

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण गरिएको छ। टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियु आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो। 

गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला र यांमा क्षेत्रमा बसोवास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराइएको हो। उनले भने, ‘टिप्ताला नाकासम्म यतादेखि हामी पुग्याैँ। डिङ्जे काउन्टीका प्रतिनिधि पनि नाकासम्म आउनुभयो। दुई पक्ष भेटघाट भयो।’ 

दसैँ–तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन ताप्लेजुङकाे त्रिपक्षीय सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोवास गर्ने नागरिकलाई पहिलो चणणमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। 

बिस्तारै प्राथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोवास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ। जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधि एक वर्ष हुनेछ। प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ।

कोभिड– १९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ। लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ। सीमा क्षेत्रमा बसोवास गर्ने समुदायको व्यापार ठप्प हुँदा आर्थिक संकट खेप्दै आएको स्थानीय बताउँछन्। गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोवास गर्ने समुदायको आर्थिक संकटमा पर्दै गएको जनाइएको छ। 
 
हिमाली क्षेत्रका समुदायले चौँरी, याक गोठबाट जीविका गर्दै आएका छन्, तर चीनमा याक निर्यात नहुँदा दैनिकी चलाउनै मुस्किल भएको स्थानीयवासीको भनाइ छ। यांमाका फिन्चो शेर्पाको पनि गोठमा चार वर्षदेखि याक बिक्री भएको छैन। शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ९० हाराहारीमा छन्। 

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइ याकको चरन क्षेत्र हो। चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको यांमाका सोनाम शेर्पाले बताए। 
 
चीनका विभिन्न बजारमा एउटा याकको रु. ५० हजारदेखि एक लाख ५० हजारसम्म मूल्य पर्ने जनाइएको छ। यसैले त हिमाली क्षेत्रका समुदाय याकपालनप्रति आकर्षित हुँदै गएका हुन् । तर, चार वर्षदेखि कोभिड– १९ का कारणले ताप्लेजुङदेखि चीन प्रवेश गने मुख्य नाका टिप्ताला नाका साथै अन्य नाकासमेत बन्द गरेसँगै याक बिक्री हुन सकेको छैन। 

हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायको पुर्ख्याैली पेसा हो याकपालन हो। उच्च हिमाली क्षेत्र भएकाले याकबाहेक अन्य पशुचौपाया तथा खेतीपाती पनि हुँदैन । ताप्लेजुङमा जिल्लामा फुङलिङ नगरपालिकासहित नौ स्थानीय तह रहेका छन्। 

सबै पालिकामा बसोवास गर्ने उच्च हिमाली क्षेत्रका समुदायले याकपालन गर्दै आएका छन्। चीनका भिन्न बजारमा याक राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले याकपालन व्यवसायलाई निरन्तरता दिँदै आएको उनीहरूको भनाइ छ।

 तर, लामोसम्ममा पनि याक बिक्री नहुँदा किसान निराश हुँदै गएका छन्। बिक्री नभएपछि याककाे संख्या बढ्दै गएकाे छ भने किसानको आर्थिक संकटले गर्दा दानापानी खुवाउन मुस्किल भएको छ। चरन क्षेत्रको समेत अभावले चौँरी, याक भोकले मर्नुपर्ने अवस्थासमेत भएको पोक्पेगोलाका चौँरी तथा याकपालक दोर्जे शेर्पाले बताए। 

टिप्ताला नाका खुलाउने प्रक्रियामा भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो। 

नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थिए । यसअघि घाङ्ला नाकाबाट पनि आउजाउ हुने गरेको थियो। 

विशेषगरी यांमावासी घाङ्ला नाका भएर रिउ जाने–आउने गरेका थिए। सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किलाेमिटर दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ। रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो। तिब्बतले अहिले रिउबाट ३५ किलाेमिटर दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ। ताप्लेजुङ र संखुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो। सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किलाेमिटरकाे दूरीमा छ। 

सिमानादेखि नजिकैकाे बस्ती यांमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ। सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना संक्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ। मर्मतसम्भार हुन सकेको छैन। चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन्।

नाका खुल्यो भने सीमा क्षेत्रमा बसोवास गर्ने समुदायलाई ठूलो राहत हुने सीमावर्ती क्षेत्र घुन्साका पेमा शेर्पाले बताए। रासस 

ad
ad