मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणलाई लिएर गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलित भएका छन् । चिकित्सक संघ गण्डकी शाखाले तीनसूत्रीय माग राख्दै मंगलबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर बिरोध गरेका छन् ।
संघका कार्यवाहक अध्यक्ष डा. सुशील तिमिल्सिना र सचिव डा. सुनिल पनेरूले हस्ताक्षर गरेको विज्ञप्तिमा मणिपालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालसमेत तोडफोडको भत्र्सना गर्दै दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको माग गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रवाह गर्न नसकिने जनाइएको छ ।
सामान्य अवस्थामा आएकी बिरामीको उपचारका क्रममा चिकित्सकको लापरबाहीले सोमबार मृत्यु भएको भन्दै आक्रोशित आफन्त र चिकित्सकबीचको विवाद हात हालाहालको अवस्थामा पुगेको थियो । बिरामीका आफन्त र चिकित्सक दुवैले सुरुमा आफूहरूमाथि हात हालेको आरोप लगाएका छन् ।
अस्पतालका चिकित्सक अनिल शाहलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका– ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको थियो । चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न रहेको आरोपमा फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार विकलाई पनि प्रहरीले सोमबार साँझ पक्राउ गरेको थियो । गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अदालतबाट सात म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीको नियन्त्रणमा रहेका डा. विकलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहवरमा डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
५७ वर्षीया सुकमाया दुरा आइतबार लमजुङबाट उपचारका लागि मणिपाल अस्पताल आएकी थिइन् । सामान्य अवस्थामा रहेकी उनलाई ढाड दुख्नेसँगै ब्लडप्रेसर कम भएपछि उपचारका लागि आफन्तले अस्पताल ल्याएका थिए । उनलाई सोमबार बिहान आइसियूमा सारिएकोमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको थियो । उपचारका क्रममा बिरामीको अवस्थाबारे जानकारी माग्दा चिकित्सकले नदिएको र उपचारमा लापरबाही गरिएका कारण मृत्यु भएको आरोप आफन्तको छ । घटनाको यथार्थ जानकारी पाउनुपर्ने मागसमेत उनीहरूको छ । अस्पताल तनावग्रस्त बनेपछि सोमबारदेखि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । अस्पताल प्रशासन र बिरामीका आफन्तबीच सोमबार र मंगलबार वार्ता भए पनि सहमति हुन सकेको छैन ।