Skip This
एमाले बागमती अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ७ आइतबार o८:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले बागमती अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार o८:३७:oo

११ सय ३८ प्रतिनिधि सहभागी हुने, सर्वसम्मति नभए विद्युतीय मतदान

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चारजना नेता अध्यक्षका मुख्य प्रतिस्पर्धी देखिएका छन् । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् । 

अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेता र प्रतिनिधिसँग लबिङ सुरु गरेका छन् । काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ जिल्लामध्ये कुनै जिल्लाबाट तीनजनासम्मले पदाधिकारीमा दाबी गरेका छन् । 

अध्यक्षका दाबेदारमध्ये काठमाडौंबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुन् । नुवाकोटका पाण्डेले तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राखेका छन् । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आएका छन् । आकांक्षी चारमध्ये अन्तिममा भने दुईजनाबीच मात्रै मुख्य प्रतिस्पर्धा हुने एमाले वृत्तमा चर्चा छ । 

अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । ८ असोजमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्दै छन् । अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अध्यक्ष पाण्डेका अनुसार महाधिवेशनमा सहभागी हुने ११ सय ३८ प्रतिनिधिमध्ये एक हजार २८ जना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये ४० वर्षमुनिका युवा प्रतिनिधिको संख्या एक सय २० रहेको छ भने महिलाको संख्या तीन सय ५० रहेको छ । बाँकी पाँच प्रतिशत प्रतिनिधि मनोनयनको प्रक्रियामा रहेको पनि पाण्डेले बताए । एमालेले सबै प्रदेश कमिटीमा युवाको सहभागितालाई प्राथमिकतामा राखेको छ । 

९ असोजमा सम्पन्न हुने अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । समावेशितालाई पनि ध्यान दिएर भूगोल र खुलासहित विभिन्न समूहबाट सदस्य निर्वाचित गर्ने तयारी छ । अधिवेशनअघि काठमाडौंको ६ स्थानबाट निस्किने बाजागाजा र झाँकीसहितको जुलुस रत्नपार्क, बागबजार हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन सभामा परिणत हुने अध्यक्ष पाण्डेले बताए । उनले सबै पदमा सर्वसम्मत सहमति गर्ने गरी अन्तिमसम्म पहल गरिने पनि जानकारी दिए । 

‘अध्यक्षको हैसियतबाट यो अधिवेशनबाट सबै पदमा सर्वसम्मतिबाटै टुंग्याउने गरी अन्तिमसम्म अधिकतम प्रयास गर्नेछु,’ पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘जसरी लुम्बिनीमा केही पदमा बाहेक कमिटीको बहुसंख्या सर्वसम्मतिमा टुंगो लाग्यो, त्यस्तै सहमति यहाँ पनि हुन सक्छ, थोरै पदमा आन्तरिक रूपमा स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा भयो भने त्यसलाई निर्वाचन नै भएको अर्थमा बुझ्नुहुँदैन ।’

स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज गुरु बरालले पनि एमालेलाई सुदृढ, सबल र निर्णायक बलियो राष्ट्रिय शक्तिका रूपमा क्रियाशील बनाउने तयारीका लागि सबै नेता–कार्यकर्ताको जोड सर्वसम्मतिमै नेतृत्व टुंग्याउने प्रयत्नतिरै रहेको बताए । ‘हामी अधिकतम सहमतिकै लागि कोसिस गर्छौँ, सहमति हुन नसकेको अवस्थामा आन्तरिक रूपमा लोकतान्त्रिक प्रतिस्पर्धा हुन सक्छ, त्यसलाई कुनै अमुक व्यक्ति वा समूहसँग जोडेर चर्चा गर्नु वाञ्छनीय हुँदैन,’ बरालले भने, ‘किनभने हामी एकताबद्ध र गतिशील पार्टी निर्माण गर्ने प्रयासमा छौँ ।’ 

एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र निर्वाचनको विकल्प खुला राख्ने नीति तय गर्दै माथिदेखि तलसम्म ‘प्यानल’ प्रतिस्पर्धामाथि भने रोक लगाएको छ । त्यही नीतिअनुसार नेतृत्वका आकांक्षीले व्यक्तिगत ‘लबिङ’मात्रै गरिरहेका छन् ।