१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहन प्रधानसेनापतिको निर्देशन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o४:oo

प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्न सक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिएका छन्।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहन सुझाव दिए।

प्रधानसेनापति शर्माले भने, ‘नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।’

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए।

प्रधानसेनापति शर्माले भने, ‘लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र अनुशासित संगठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहन्छ।’

सम्बोधनका क्रममा प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशाका बारेमा जानकारी गराएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गरे। उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्यांकन गर्दै उपचारका क्रममा रहेका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन सदैव प्रेरणा मिलोस् भनी कामना गरे।

प्रधानसेनापतिले आजै जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्यानी चिह्न प्रदान गरे।

ad
ad