हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध आमाबुबा, गर्भवती पत्नी, नाबालक छोराछोरीसहितका आफन्तसँग विछोडको दृश्य दर्दनाक देखिन्छ । स्वदेशमै भविष्यप्रति आश्वस्त हुन नसकेका युवाको पलायनले देशको सिंगो चित्र देखाउँछ ।
बुढेसकालको सहारा जवान छोरालाई बिदाइ गर्दा जलेश्वरका मोहम्मद जैइनुल टोलाइरहे
कतार हिँडेका २३ वर्षीय कान्छो छोरा सरफराजलाई बिदाइ गर्न आएका महोत्तरी जलेश्वरका मोहम्मद जैइनुल थामिन सकिरहेका थिएनन् । आँखाबाट खसेको आँसुको भेल सेताम्य दाह्रीसम्म पुगिरहेको थियो । घाँटीमा बेरेको सेतो गम्छाले उनी आँसु लुकाउन खोज्दै थिए । ‘छोराछोरीलाई मजदुरी गर्न खाडीमा पठाउन कुनचाहिँ आमाबुबालाई राम्रो लाग्ला र ? तर, नपठाई पनि सुख छैन,’ छोरालाई बिदाइ गरेपछि उनले रसाएका आँखा पुछ्दै भने, ‘१० लाख कर्जा छ । चार बहिनीको सादी (बिहे) गर्नु छ । दहेज (दाइजो) खोज्छन्, खर्च धेरै हुन्छ । यहाँ केही काम पाइँदैन, विदेश नपठाएर हुँदैन ।’ तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
कतार जान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टिकट जाँच कक्षतिर प्रवेश गर्नै लाग्दा महोत्तरी जलेश्वरका २३ वर्षीय मोहम्मद सरफराजको मन थामिएन । फनक्क फर्किएर बिदा गर्न आएका बाबालाई कस्सेर अँगालो हाले । भरिएका आँखा कालो रुमालले पुछिरहेका सरफराजलाई ५७ वर्षीय बुबा मोहम्मद जैइनुल पिठ्युँमा मुसार्दै सम्झाउने कोसिस गरिरहेका थिए, ‘मत रो बेटा, मत रो ।’ तर, उनी आफैँ पनि थामिन सकिरहेका थिएनन् । आँखाबाट खसेको आँसुको भेल सेताम्य दाह्रीसम्म पुगिसकेको थियो । घाँटीमा बेरेको सेतो गम्छाले उनी आँसु लुकाउन खोज्दै थिए ।
बुढेसकालको सहारा लक्का जवान छोराको बिदाइको यो मार्मिक दृश्यले वरिपरिकालाई पनि भावुक बनाएको थियो । अन्ततः बाबालाई बिदाइको हात हल्लाउँदै सरफराज ‘चेक इन’ गर्न लागे । ‘छोराछोरीलाई मजदुरी गर्न खाडीमा पठाउन कुनचाहिँ आमाबुबालाई राम्रो लाग्ला र ? तर, नपठाई पनि सुख छैन,’ छोरालाई बिदाइ गरेपछि जैइनुलले रसाएका आँखा पुछ्दै नयाँ पत्रिकासँग भने, ‘१० लाख कर्जा छ । चार बहिनीको सादी (बिहे) गर्नु छ । दहेज (दाइजो) खोज्छन्, खर्च धेरै हुन्छ । बहुत लफडा छ, यहाँ केही काम पाइँदैन, विदेश नपठाएर हुँदैन ।’
गह्रुँगो जिम्मेवारीसहित उज्ज्वल भविष्यको खोजीमा कतार उडेका सरफराजले डेढ वर्षअघि मात्रै बिहे गरेका थिए । केटाकेटी भइसकेका छैनन् । बुबा जैइनुलका अनुसार एक वर्षदेखि जेठो छोरा पनि कतारमै श्रम बेचिरहेका छन् । ‘यहाँ मकान (घर) बनाउने काम गथ्र्यो, दिनको ५–६ सय ज्यालाले नहुने भयो,’ उनले भने, ‘नत्र कसलाई आफ्ना बेटाबेटी यसरी छोड्न मन लाग्छ र ?’
अन्तर्राष्ट्रिय विमानस्थल ‘चेक इन’को गेटबाहिर आमा–छोरीको बिदाइको अर्को दृश्य त्यस्तै भावुक थियो । विराटनगरस्थित पानीट्यांकीकी निरु देवल ३९ वर्षको उमेरमा देश छाडेर श्रम बेच्न दुबई जाँदै थिइन् । उनको बिदाइमा आएकी २१ वर्षीया छोरी सुटकेस बोकेर विदेश उड्न लागेकी आमालाई अँगालो हालेर धरधरी रोइरहेकी थिइन् । निरुलाई छाड्न उनकी बहिनी पनि एयरपोर्ट आएकी थिइन् । ‘नेपालमा बसेर १०–१२ हजारको जागिरले के हुन्छ ?’ निरुले भनिन्, ‘मेरो छोरा भने पनि छोरी भने पनि यही एउटै हो । उसलाई नै छाडेर जान त कहाँ मन थियो र ? तर, उसको भविष्यका लागि पनि जानुपर्यो ।’
निरुका अनुसार उनी यसअघि विराटनगरकै कोशी अस्पतालको आइसियू कक्षमा कर्मचारीका रूपमा काम गर्थिन् । तलब मासिक १० हजार मात्रै थियो । ‘त्यही १० हजार पनि नियमित आउँदैनथ्यो,’ उनले भनिन्, ‘श्रीमान् पनि घरमै छन्, यसरी त छोरीको भविष्य अन्धकार हुने भयो । नत्र बुढेसकालमा यसरी छोरी छोड्न त कसलाई रहर हुन्छ र ?’ निरुकी छोरी अहिले ११ कक्षाको परीक्षा दिएर बसेकी छिन् ।
सधैँझैँ शुक्रबार साँझ पनि अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा नेपाली भूमि छाड्नेको संख्या थपिँदै थियो । छाड्नेहरूलाई खादा लगाइदिने, अंकमाल गर्ने अनि ‘लाइफ त यस्तै रहेछ, हामीलाई नबिर्सिनु है’ भन्दै बिदाइ गर्न आउने आफन्त र साथीभाइको भिड पनि उस्तै बढिरहेको थियो ।
गलाभरि खादा लगाएर उड्न प्रतीक्षा गरिरहेका र तिनको बिदाइमा आँसु खसाल्दै गरेकाहरूको भिडमा अलग भेटिए, इनरुवा कप्तानगन्जका मोहम्मद वारिस । टर्मिनलको एउटा पिलरमा अडेस लागेर बसिरहेका उनको गलामा न खाँदा थियो, न बिदाइमा कोही आएका थिए । एक्लै झोक्राएर बसिरहेका उनको साथमा साउदी अरेबियाको टिकट थियो ।
चार वर्ष अरब बसेर चार महिनाको छुट्टीमा घर फर्किएका उनी मिल्ने भए यतै परिवारसँगै बस्थे । तर, नियतिले त्यो अवसर नजुराएको उनले सुनाए । ‘नेपालमा पढेको मान्छेलाई त जागिर मिल्दैन, हामीजस्तो अनपढलाई कहाँबाट जागिर मिल्छ ?’ उनले दुःख पोखे, ‘त्यसैले दोस्रोपटक विदेश जाँदै छु । घरमा बाआमा, श्रीमती, स–साना दुई छोरी र एक छोरा छन् । मन त उनीहरूसँगै बसौँ भन्ने थियो । तर, छोराछोरीको भविष्य र उनीहरूको बिहेका लागि पनि हामीजस्तो औँठाछापलाई विदेश नगएर सुख छैन ।’
जनकपुर रामानन्द चोकका २८ वर्षीय मोहम्मद हबिबुलको कथा पनि वारिसकोभन्दा कम थिएन । मंगलबार साँझ विमानस्थल टर्मिनलस्थित सिमेन्टको खम्बामा एउटा झोला च्यापेर अडेस लाग्दै श्रीमतीसँग फोनमा गफिइरहेका थिए उनी । न उनको गलामा खादा थियो, न उनलाई बिदाइ गर्न कोही आएका थिए । एक्लै बसिरहेका उनी सायद फोनबाटै बिदा मागिरहेका थिए । ‘छिट्टै फर्किन्छु, तनाव नलिनु है,’ आफ्नै भाषा र लवजमा श्रीमतीलाई सम्झाइरहेका थिए उनी ।
मोहम्मद करिब पाँच वर्ष कतारमा श्रम गरेर फेरि विदेश नजाने प्रणसहित ६ महिनाअघि मात्रै स्वदेश फर्किएका थिए । सोचेका थिए, ‘अब बिहे गर्छु, अनि स्वदेशमै केही काममा सेटल हुन्छु ।’ बिहे त गरे, तर ६ महिना नबित्दै विदेश जान बाध्य भए । ‘नेपालमै बसौँ भनेको, काम नै पाइएन,’ भावुक दृश्यहरूले भरिँदै गएको एयरपोर्टमा उनी पनि भावुक सुनिए, ‘६ महिना बसेर फेरि जाँदै छु । घरमा बिबी (श्रीमती) गर्भवती भएकी छिन्, नजानू भन्दै थिइन्, तर सम्झाएर आएँ ।’
गर्भमा सन्तान हुर्काउँदै गरेकी श्रीमती केही अवधि श्रीमान्लाई समीपमै चाहन्थिन् । तर, मोहम्मद उनीहरूकै रोजीरोटीका लागि परदेसिन बाध्य भए । मन त उनलाई पनि छ, सन्तानको जन्म हुनेबित्तिकै अँगालोमा बेर्ने, तर सोचेजस्तो छैन जिन्दगी । ‘अब दुई वर्षपछि आउँछु, त्यसपछि मात्रै देख्न पाउँछु होला,’ उनले भने, ‘नेपालमै राम्रो काम र कमाइ भएको भए त विदेश नजाने थिएँ, के गर्नु यहाँ त्यस्तो स्थिति नै छ । त्यसैले मधेशमा धेरैजसो घरमा विदेश जानुपर्ने बाध्यता नै छ ।’
अहिले कतारस्थित एक कागज फ्याक्ट्रीमा काम गर्ने उनी पाँच वर्षअघि नेपालमै मजदुरी गर्थे । बाइक रिपेयरिङ र वासिङको काममा थिए । तर, कामअनुसारको दाम भएन । त्यसपछि बिदेसिन बाध्य भएको बताउँछन् । ‘१२ जनाको परिवार छ, घरको आर्थिक स्थिति पनि कमजोर छ,’ उनले भने, ‘त्यसैले नेपालको कमाइले नपुग्ने भयो । खासमा लेबर मान्छेलाई सम्मान नै छैन यहाँ । गौशालाबाट एयरपोर्टसम्म आउँदा पनि ट्याक्सीमा पाँच सय माग्छ यहाँ । टिक्ने अवस्था नै छैन । त्यसैले विदेश जानुपर्यो । अहिले उता राम्रै छ, महिनाको ६० हजार नेपाली रुपैयाँ कमाइ हुन्छ ।’ उनका एक दाइ पनि वैदेशिक रोजगारको सिलसिलामा कतारमै छन्, अर्का एक दाइ जाने प्रक्रियामा रहेको उनले बताए ।
सिराहा लहानस्थित सरहन्चियाका २३ वर्षीय जितेन्द्रकुमार साफीको कथा पनि मोहम्मदको भन्दा कम थिएन । टर्मिनलको भुइँमा एक्लै टोलाएर मोबाइल चलाउँदै बसिरहेका थिए उनी । उनको बिदाइमा पनि कोही आफन्त थिएनन्, न गलामा खादा । घरमा अढाई वर्षको छोरा, श्रीमती र बाआमा छाडेर पहिलोपटक श्रम बेच्न मलेसिया जाँदै थिए उनी । बाआमा गिरहत (मालिक)को घरमा हरवा–चरवाको काम गर्छन् । उनी इँटा बोक्ने–जोड्ने काम गरेर जेनतेन गुजारा चलाइरहेका थिए । तर, घरकी एक बहिनीको बिहे गरेपछि ऋणको पासो फुकाउन विदेश जानुपर्ने बाध्यता आइपरेको सुनाए ।
‘बहिनीको बिहे गर्दा १० लाख खर्च भयो, त्यसैवेला गाउँमा साहुसँग लिएको ऋण थियो । त्यसको ब्याज नै बढेको–बढ्यै छ । लेबर काम गरेर त्यो ऋण र ब्याज तिर्न नसकिने भइयो । परिवारमा टेन्सन बढेपछि बाध्यताले विदेश जाँदै छु । रहरले त को जान्छ र विदेश ?’
देशका नेताहरू विदेश जान बाध्य नेपालीलाई स्वदेश फर्काउने दाबी गर्छन्, तर हरेक दिन त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा श्रम बेच्न बिदेसिनेको मेला लाग्छ । दिनहुँ पढेका/नपढेका दुवै पुस्ता त्यहाँ गलामा खादासहित अन्तिम बिदाइमा भक्कानिँदै गरेका भेटिन्छन् ।
मंगलबार राति १० बजेसम्म करिब पाँच घन्टा स्थलगत रिपोर्टिङका लागि एयरपोर्टमा रहँदा अधिकांश नेपाली मलेसिया, कतार, साउदी, हङकङ, कोरिया, युएईलगायत देशमा रोजगारीका लागि जाँदै गरेको भेटिए । अधिकांशले देशमा रोजगारी र भविष्य नदेखेपछि विदेशलाई गन्तव्य बनेको बताए । त्यहाँ भेटिएका अधिकांशको स्वर र भाव उस्तै थियो, ‘देशमा परिवारसँगै बस्ने रहर कसलाई हुँदैन र, तर बाध्यात्मक परिस्थितिसामु रहरहरू मार्नुपर्ने रहेछ ।’
कोही पतिसँगको बिदाइमा रुँदै थिए, कोही पत्नीसँग । सन्तानसँगको विछोडको दृश्य उस्तै दर्दनाक थियो । प्रिय ‘यार’हरूसँग छुट्टिँदै गर्दाका दृश्य उस्तै भावुक थिए ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा १९ लाख ३९ हजार चार सय २४ नेपाली रोजगारीका लागि बिदेसिएका छन् । अध्ययनका लागि जानेको तथ्यांक यसमा समेटिएको छैन । कैयौँ नेपाली विदेशमै वर्षौँदेखि बस्दै आएका छन् ।
मंगलबार एयरपोर्टभित्र वैदेशिक रोजगारको सूचीमा थपिँदै गरेको अर्को नाम थियो, रौतहटस्थित मेवागाउँका २४ वर्षीय राजनकुमार साह । आठ कक्षामा पढ्दै गरेको भाइ र काका उनलाई बिदाइ गर्न एयरपोर्टसम्म आइपुगेका थिए । घरको आर्थिक स्थिति कमजोर भएकाले दुई बहिनीको बिहे गराउन र आमाबुबालाई खुसी बनाउन मलेसिया जाने निर्णयमा पुगेको साहले बताए । ‘धेरैजना छन् घरमा, यता काम गरेर खानै पुग्दैन,’ उनले भने, ‘गरिब भएपछि यस्तै हो । यहीँ मकान (घर) बनाउने काम गर्थेँ, दिनको पाँच सय ज्याला आउँथ्यो । आमाबुबाचाहिँ अर्कोको खेतमा काम गर्नुहुन्थ्यो । तर, यसरी प्रगति भएन । दुई बहिनीको बिहे गर्ने वेला भइसक्यो, तर पैसा छैन । मधेशमा दहेज (दाइजो) नदिई बिहे गराउन सकिन्न । त्यसैले विदेश जाँदै छु ।’
मलेसियामा नेपाली ३० हजार रुपैयाँ तलब पाउने गरी एक पेपर कम्पनीमा प्याकिङको काममा जान लागेको राजनकुमारले बताए । ‘विदेशमा कमाएर धेरै ठूलो सपना छैन,’ उनी भन्दै थिए, ‘दुई बहिनीको बिहे गर्ने, आमाबुबालाई खियाउने (खुवाउने) र सानो भाइलाई राम्रो पढाएर बिहे गराउने चाहना छ । मेरो जस्तै भाइले दुःख नपाओस्, अब यही इच्छा छ ।’
ललितपुरस्थित लुभुका जितबहादुर सुनार श्रीमती र दुई साना सन्तानसँग छुट्टिँदै गर्दाको दृश्य उस्तै मार्मिक थियो । सेक्युरिटी गार्डका लागि मलेसिया उड्न लागेका उनको बिदाइमा श्रीमती गीताको आँसु थामिएन । आठ वर्षीय छोरा र १० वर्षीया छोरीका आँखा ‘बाबा’को बिदाइमा आँसुले भरिएका थिए । लुभुमा जमिन लिजमा लिएर अन्य ६ जनाको परिवार टहरो बनाएर बसिरहेको छ । उनी टहरोमै बसेर बुट्टाको काम गरिरहेका थिए । तर, सन्तानलाई पढाउन र घर चलाउन त्यो कमाइले नपुगेपछि उनी बिदेसिन बाध्य भएको बताउँछन् । ‘घर चलाउन ऋण लिनुभएको थियो । त्यही ऋण तिर्न यहाँको कमाइले पुगेन । त्यसैले विदेश जानुभयो,’ जितबहादुरका भाइले भने ।
वृद्धावस्थामा सन्तान साथमै होऊन् भन्ने अपेक्षा हरेक बाबुआमाको हुन्छ । तर, छोरा प्रेमकुमारलाई बिदाइ गर्न उदयपुरबाट आएकी ७० वर्षीया चन्द्रमाया राईको जीवनमा ठीक उल्टो भयो । मलेसिया उड्न लागेका जेठा छोरा र आमा चन्द्रमाया एक–अर्कालाई हेरिरहँदा दुवैको बोली रोकिएको थियो । न प्रेमकुमार खुलेर हाँस्न सके, न आमा खुलेर रोइन् । टाउकोमा बेरेको रातो गम्छाले लुकी–लुकी आँसु पुछिरहेकी थिइन् उनी ।
‘मेरो जेठो छोरा हो, कान्छो घरमै छ । के गर्नु विदेश नगई सुख छैन, गयो...,’ यतिमै उनको बोली अवरुद्ध भयो, बाँकी बोल्न चाहिनन् । छोरा प्रेमकुमार पनि हामीसँग गफिन चाहनेनन् । ‘भो कुरा नगरम् है,’ देशको अवस्था, बाध्यता र नियतिसँग उनको गुनासो थिएन, चुपचाप एयरपोर्ट प्रवेश कक्षतिर लागे ।
एयरपोर्टभित्र मकवानपुर मन्थलीका २० वर्षका दुई युवा पासाङ तामाङ र निरोज तामाङ मोबाइलमा सेल्फी खिच्दै थिए । प्रस्टै बुझिन्थ्यो– फेसबुकमा ‘बाई–बाई नेपाल’ लेख्न उनीहरू एयरपोर्टको पृष्ठभूमि देखिने गरी तस्बिर खिचिरहेका थिए । त्यसो त बिदाइको क्षणमा त्यहाँ तस्बिर खिच्ने र टिकटक बनाउनेहरू बाक्लै थिए । नेपालमा रोजगारी नपाएपछि मलेसिया जान लागेको तामाङद्वयको भनाइ थियो ।
‘नेपालमा बस्न मन लागेन ?’
जवाफमा पासाङले भने, ‘मन त थियो नि, तर के गर्ने यहाँ काम नै पाइएन । घरको आर्थिक अवस्था कमजोर छ । ममी–बुबालाई खुसी राख्न पनि विदेश त जानैपर्यो ।’
पासाङको बोली काटेर निरोजले थपे, ‘नेपालमा रोजगार भए पनि के गर्नु, पैसा बचाउनै सकिन्न । त्यसैले विदेश जाँदै हो । नेपाली ४२ हजारजति तलब भनेको छ । त्यहाँ पुगेपछि पैसा पनि बच्छ, घर पनि चल्छ भन्ने हो ।’
१३ वर्षीय छोरा र ११ वर्षीया छोरीलाई घर छाडेर बिदेसिँदै गर्दा धादिङकी सीताकुमारी नगरकोटीको मन उस्तै भारी देखिन्थ्यो । उनका श्रीमान् राजकुमार स्वयं उनलाई बिदाइ गर्न एयरपोर्ट आएका थिए । ‘जान त मन थिएन, तर छोराछोरीको सुखका लागि पनि जानुपर्यो, मान्छेलाई समस्याले गाँजेपछि विदेश नगई नहुने रहेछ,’ नगरकोटी धेरै बोल्न सकिनन् । त्यसपछि छेउमै रहेका उनका श्रीमान् राजकुमारले आफू पनि विदेश जाने प्रक्रियामा रहेको बताए । ‘म धादिङ–काठमाडौंको बस चलाउँछु,’ उनले भने, ‘साहुको काम गर्यो, बल्लबल्ल तीन महिनामा तलब दिन्छ । साहुको आफ्नै बाध्यता होला । तलब माग्यो, गाडी नै लैजा भन्छ । अब यो देशमा केही होलाजस्तो लागेन । त्यही भएर बुढी विदेश गइन् । अब म पनि जाने हो, प्रोसेसमै छु ।’
तस्बिर : संजित परियार/दीपेन्द्र ढुंगाना