मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Wednesday, 05 February, 2025
२o८o भदौ २१ बिहीबार o८:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा उरै नाका पनि समावेश गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार o८:४९:oo

सुदूरपश्चिमका व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी महिना हुने चीन भ्रमणको एजेन्डामा बझाङको उरै नाका सञ्चालनको विषयलाई समावेश गर्न माग गरेका छन् । चीनसँग जोड्ने उरै नाका सञ्चालनको विषयलाई भ्रमणको एजेन्डामा समावेशका लागि पहल गरिदिन व्यवसायीहरूले सुदूरपश्चिम प्रदेश सरकारसँग पनि आग्रह गरेका छन् ।

उरै नाका सञ्चालनमा ल्याउन सके उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको आर्थिक समृद्धि हासिल गर्न सकिने उनीहरूको भनाइ छ । उरै नाकाले भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दूरीमा जोड्ने भएकाले यसलाई त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना रहेको व्यवसायीहरूले औँल्याएका छन् ।

कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्प कुँवर यो नाका सञ्चालन हुन सकेमा पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमै महत्वपूर्ण योगदान पुग्न सक्ने बताउँछन् । सुदूरपश्चिमको समग्र विकासका लागि चीनसँगका नाका खोल्नेसँगै भारतसँगका नाकाहरूको स्तरोन्नति आवश्यक रहेको उनले बताए । ‘उरै नाका खोल्न सके ‘कनेक्टिभिटी’ बढ्छ, व्यापारिक कारोबारमा सहज हुन्छ । यहाँको औद्योगिक विकासमा सहयोग पुग्छ,’ कुँवरले भने, ‘नाका खुलाउनेतर्फ सरकारको ध्यान जानुपर्छ ।’ उत्तर र दक्षिणतिरका नाकाहरू खोल्न सके सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उरै नाकाको विषय उठाउन आग्रह गरिएको उनले बताए । 

करिब हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएको ठानिएको यो नाका कोरोनायता प्रवेश निषेध गरिएको छ । बझाङको चैनपुरदेखि उरैसम्म जोड्ने सडक निर्माण हुन सकेको छैन । चैनपुरदेखि उरैसम्म एक सय १७ किलोमिटरमध्ये हालसम्म ४० किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम पूरा भएको छ । 

सरकारले कैलालीको टीकापुरदेखि बझाङमा चीनतर्फको ताक्लाकोट जोड्ने सडकलाई सेती लोकमार्गका रूपमा अगाडि बढाएको छ, तर डेढ दशकसम्म ट्र्याक खोल्ने कामसमेत पूरा भएको छैन । त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो यहाँका स्थानीयको छ ।

उरै नाकाको विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणको एजेन्डामा राख्न आवश्यक पहल गर्न आग्रह गर्दै व्यवसायी तथा व्यावसायिक संघ–संस्थाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश समिति, जिल्ला समिति, नाटा सुदूरपश्चिमलगायत व्यावसायिक संघसंस्था तथा व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

पर्यटन व्यवसायीहरूको संस्था नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले उरै नाका खोल्न सके सुदूरपश्चिमको पर्यटन विकासले छलाङ मार्ने बताए । उरै नाका खुले चीनको मानसरोवर जाने हजारौँ भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्र्याउन सकिने उनको भनाइ छ । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उरै नाकालाई एजेन्डामा राख्न प्रदेश सरकार आफैँले पनि पहल गर्नुपर्ने हो,’ सिंहले भने, ‘हामीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह गरेका छौँ ।’