१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुक्लामा पनि इन–रुट वेदर क्यामरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४३:oo

 दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टरमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा जडान गरेको हो । 

सोलुखुम्बुस्थित फाप्लुको उत्तरतर्फ इन–रुट वेदर क्यामरा जडान गरिएको क्यानले जनाएको छ । क्यामराले जहाज उड्ने रुटमा मौसमका बारेमा प्रत्यक्ष जानकारी गराउँछ । स्टल उडानमा एक्कासि मौसम परिवर्तन भएर हुन सक्ने सम्भावित जोखिम कम गर्न इन–रुट वेदर क्यामराले सहयोग गर्ने क्यानको विश्वास छ । यो क्यामराले प्रस्थान र गन्तव्य विमानस्थलमा इन–रुटको ‘रियल टाइम भ्यु’ देखाउनेछ ।

भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै क्यानले हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन स्टल उडानको बीचभागमा पर्ने हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गर्न २५ कात्तिक ०७९ मा राष्ट्रिय आविष्कार केन्द्रसँग समझदारी गरेको थियो । सम्झौताबमोजिम आविष्कार केन्द्रले पोखरा–जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरिसकेको छ ।

यी क्यामरा जडान तथा व्यवस्थापन खर्च क्यान आफैँले व्यहोर्नेछ । हिमाली भेगमा पर्ने काठमाडौं–लुक्ला, पोखरा–जोमसोमलगायतका हवाई रुट उडानका लागि जोखिमपूर्ण मानिन्छन् । यस्तै, पश्चिम क्षेत्रका जुम्ला, सिमिकोट, डोल्पा, रारा रुटमा पनि मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गर्ने क्यानको तयारी छ । क्रमशः अन्य क्षेत्रहरूमा पनि इन–रुट वेदर क्यामरा जडान गर्दै जाने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

ad
ad