१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १५ शुक्रबार १o:५३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वलक्षित बजार अनुगमन तीव्र बनाउँदै वाणिज्य विभाग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १o:५३:oo

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्थानीय तहसँग सहकार्य गरेर अनुगमनलाई तीव्र बनाउने तयारी गरिएको वाणिज्य विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । 

उनले भने, ‘अन्य समयको तुलनामा भन्दा चाडपर्वमा विशेष कालोबजारी हुने भएकाले अहिलेदेखि नै रणनीति बनाएर जान लागेका हौँ ।’ तर, बजार अनुगमनमा जाने जनशक्ति कम हुँदा सोचेजस्तो अनुगमन पनि गर्न नसकिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । उनले भने, ‘अहिले  दैनिक दुईदेखि तीनवटा टोलीले बजार अनुगमन गरिरहेका छौँ, चार्डपर्वमा जनशक्ति बढाएर जाने तयारी छ । कर्मचारी परिपूर्तिका लागि संघीय मामला मन्त्रालयमा समन्वय भएको र अधिकृत र नासुस्तरका कर्मचारी माग गरिएको उनले जानकारी दिए । चार्डपर्वलक्षित बजार अनुगमनलाई तीव्र बनाउन करिब आठदेखि १० टोलीको आवश्यक पर्ने भट्टराईको भनाइ छ ।  

पछिल्लो समय वाणिज्य विभागले प्रत्यक्ष उपभोक्तासँग जोडिएका विभागलाई मिलाएर संयुक्त अनुगमन टोली बनाएर लैजाने रणनीति बनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभागलगायतका विभागसँग सहकार्य गरेर अनुगमन गर्ने गरी तयारी थालिएको विभागको भनाइ छ । तयारीका लागि अनुगमन समन्वयात्मक समिति गठनसमेत गरिएको छ । 

यस समितिले सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाएर अनुगमन समिति बनाउने र हरेक वडापालिका र नगरमा अनुगमन बनाउने गरी तयारी थालेको भट्टराईले बताए । उनले भने, ‘सबै स्थानीय तहबाटै चुस्त बनाउने गरी हामी जुटेका छौँ, कैफियत भेटिएको खण्डमा तुरुन्त कारबाही गर्छौँ । ’उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतका वर्षहरूमा पनि बजार अनुगमनलाई चुस्त बनाउने भनिए पनि उपभाक्ता ठगिएको बताए । 

उनले भने, ‘विभागले हरेक वर्ष तयारी गरेको भए पनि उपभोक्ता विभिन्न बहानामा ठगिएका छन् ।’ सरकारले पनि अनुगमनलाई प्रभावकारी बनाउनका लागि कर्मचारी उपलब्ध गराउनुपर्ने र कालो बजारीलाई तत्काल कारबाही नगरीकन प्रभावकारी नहुने उनको भनाइ छ । 

विभागले पछिल्लो समय तरकारी, लत्ताकपडा, खाद्यान्नलगायतमा अनुगमन तीव्र बनाएको छ । बिस्तारै खाद्यान्न र लत्ताकपडाको माग बढ्न थालेको र उपभोक्ता यस्ता कुरामा ठगिएको जानकारी आएपछि अनुगमन बढाएको विभागको दाबी छ ।