१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार

बागदरबारको रेट्रोफिट गर्दै महानगर

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२९:oo

चालू आर्थिक वर्षभित्रै सुरु हुने, पुरानो स्वरूप नमासिने

लामो समयसम्म काठमाडौं महानगरपालिकाले मुख्य कार्यालयका रूपमा प्रयोग गरेको सुन्धारास्थित बागदरबार ०७२ सालमा गएको भूकम्पपछि जीर्ण बनेको थियो । भूकम्पपछि महानगरका अधिकांश विभाग यहाँबाट सारिएको थियो । प्रयोगमा नरहेका कारण बागदरबारका छानामा झार उम्रिएका छन् । भवनका झ्याल, भर्‍याङ, शौचालयजस्ता संरचनाहरू प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । जीर्ण यो भवन भत्काएर नयाँ बनाउने कि रेट्रोफिट (प्रबलीकरण) गर्ने भन्ने विषयमा लामो छलफलपछि महानगरले प्रबलीकरण गर्ने भएको छ । 

नवीन मानन्धर प्रवक्ता, महानगर
सबलीकरणका लागि टेन्डर आह्वान भइसकेको छ । चालू आर्थिक वर्षदेखि नै बागदरबार रेट्रोफिट सुरु हुन्छ । 

महानगरले भवन प्रबलीकरणको यकिन मिति नतोके पनि टेन्डर भने आह्वान गरिसकेको छ । महानगकारका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रबलीकरणका लागि टेन्डर आह्वान भइसकेको छ । उनले भने, ‘चालू आर्थिक वर्षदेखि नै बागदरबार रेट्रोफिट सुरु हुन्छ । यसका लागि टेन्डर आह्वान पनि भइसकेको छ ।’

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले यो दरबार भत्काउने तयारी गरेका थिए । तर, सय वर्षभन्दा पुरानो बागदरबार भत्काउन लागेपछि सम्पदा अभियन्ता सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले चैत ०७५ मा बागदरबार नभत्काउन र यसको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासले बागदरबारको संरचनामा थप हानि हुन नदिन पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सर्वोच्चले १५ दिनभित्रै पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा काठमाडौं महानगरपालिकाका प्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि, काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका पुरातत्वविद्, इतिहासकार, संरचनाविज्ञ, वास्तुविद्, आर्किटेक्ट, इन्जिनियरलगायत विशेषज्ञको समूह गठन गर्न परमादेश पनि दिएको थियो । इतिहासविद्का अनुसार बागदरबार सन् १८०५ मा भीमसेन थापाले निर्माण गरेका थिए ।

सन् १८३७ मा नेपाल सरकारले दरबार जफत गरे पनि माथवरसिंह थापाले फिर्ता लिएका थिए । सन् १९०२ मा उनको हत्या गर्दै जंगबहादुर राणाले दरबार पुनः कब्जा गरेका थिए । यो दरबार करिब १८ रोपनी क्षेत्रफलमा रहेको छ । यस दरबारलाई महानगरको सम्पदा विभागले नभई सार्वजनिक निर्माण विभागले रेट्रोफिट गर्ने भएको हो ।

पाँच करोड बजेट विनियोजन
महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमै सार्वजनिक निर्माण विभागअन्तर्गत महानगरको मुख्य कार्यालय भवन बागदरबार (हरिभवन) रेट्रोफिट–सबलीकरणका लागि भन्दै पाँच करोड विनियोजन गरेको छ । यसलाई महानगरले बहुवर्षीय योजनाका रूपमा निर्माण सम्पन्न गर्ने जनाएको छ ।

महानगरले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा पनि साबिकको महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको ११ नम्बर वडास्थित हरिभवन अर्थात् बागदरबार प्रबलीकरण गर्न आवश्यक प्रबन्ध मिलाइने उल्लेख गरेको थियो ।

तर, बजेट भने विनियोजन गरेको थिएन । तत्कालीन महानगर मेयर शाक्यले कार्यालय भवन निर्माणका लागि भन्दै बागदरबारभित्र रहेको संरचना भत्काएर नयाँ भवन बनाउने निर्णय गरेका थिए । सोहीअनुसार डिजाइनसमेत सार्वजनिक भएको थियो । सर्वत्र विरोध हुन थालेपछि शाक्य पछि हटेका थिए । 

ad
ad