मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Saturday, 07 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १४ बिहीबार ११:११:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मुटु स्वस्थ राख्न के गर्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार ११:११:oo

मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ ।

पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई मात्रै मुटुमा समस्या देखिन्थ्यो । तर, अहिले ४० वर्षमुनिका मानिसमा पनि मुटुरोग देखिन थालेको छ । मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ । 

मुख्य कुरा सानैदेखि स्वस्थकर खानेकुरा खाने बानी बसाल्नुपर्छ । हिजोआज बाबु–आमा दुवै काममा व्यस्त हुन्छन् । बालबच्चामा बजारको खानेकुरा खाने बानी बस्छ । जंकफुडले मुटुलाई असर गरिरहेको हुन्छ । त्यसको असर ठूलो भएपछि देखिन्छ । त्यस्तै, पर्याप्त शारीरिक अभ्यासको कमीका कारण बालबालिकामा पनि मोटोपन देखिन थालेको छ । अल्छी र आवश्यकभन्दा धेरै तौल भएका बालबालिकामा ठूलो भइसकेपछि मुटुरोग लाग्न सक्ने जोखिम रहन्छ ।

यसतर्फ अभिभावक सधैँ सजग रहनुपर्छ । आफू पनि शारीरिक गतिविधिमा सक्रिय रहने र बच्चालाई पनि सक्रिय राख्ने गर्नुपर्छ । दैनिक कम्तीमा ३० देखि ४० मिनेट हिँड्ने, नियमित व्यायाम गर्ने, बच्चालाई खेलकुदमा लगाउने, योग तथा प्राणायाम सिकाउने गर्नुपर्छ । यस्ता क्रियाकलापले तौल नियन्त्रण हुन्छ । जसकारण मधुमेह र रक्तचाप पनि नियन्त्रणमा रहन्छ र मुटुरोगको जोखिम कम भएर जान्छ । 

के गर्ने ?
शारीरिक व्यायाम नियमित गर्ने । बच्चालाई पनि शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । कतिपय स्कुलमा खेल्ने ठाउँ पनि हुँदैन । बालबालिकालाई घरमा मोबाइल वा टिभीमा गेम खेल्ने बानी बसेको हुन्छ । ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकालाई अल्छी बनाउँछ र विभिन्न मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । मोटोपन बढ्ने गर्छ । त्यसैले बालबच्चालाई बाहिर खेलाउने र घुमाउने गर्नुपर्छ । उनीहरूलाई प्रकृतिसँग नजिक गराउने गर्नुपर्छ । दैनिक कम्तीमा पनि ३० देखि ४० मिनेट शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

अनावश्यक तनाव लिनुहुँदैन । तनावले निद्रा बिगार्छ र मुटुमा असर गर्छ । मुटु स्वस्थ राख्नका लागि पर्याप्त मात्रामा निदाउन आवश्यक छ । तर, आवश्यकताभन्दा धेरै निदाउने, दिउँसै सुत्नेलगायत काम पनि गर्नुहुँदैन । शारीरिक रूपमा सक्रिय रहने, योग–ध्यान गर्ने, संगीत सुन्नेलगायत क्रियाकलापले तनाव कम गर्छ र राम्रो निद्रा पर्छ । 

कस्ता खानेकुरा खाने ? 
- खानामा नुन र चिल्लो कम गर्ने । घ्यू, चिज, पनिर, बटरलगायत चिल्ला कुराहरू थोरै प्रयोग गर्ने । 
- कार्बाेहाइड्रेट भएका खानेकुरा कम खाने ।
- हरियो सागसब्जी तथा फलफूल प्रशस्त खाने । 
- रातो मासु सकभर नखाने, बोसोयुक्त मासु नखाने । 
- ड्राइफुड कम खाने ।
- सादा दाल–भात–तरकारी खाने । 
- गुलियो कम खाने । सकेसम्म चिनी नखानु राम्रो हो । 
- तेलमा तारेका, भुटेका खानेकुरा नखाने । 
- अहिले माछा–मासु छाकैपिच्छे खाने चलन छ । तर, गलत हो । सन्तुलन मिलाएर मात्रै खानुपर्छ । 
- धूम्रपान र मद्यपान नगर्ने । यसले मुटुलाई प्रत्यक्ष रूपमा असर गर्छ ।