अपर तामाकोसीका संस्थापकले चुक्ता गरे हकप्रद सेयरबापतको रकम

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम चुक्ता गरेका छन् ।चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी १८ भदौदेखि सेयरधनीलाई १ कित्ता सेयरबराबर १ कित्ताको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरका हकप्रद सेयर निष्कासन गर्दै छ । 

सर्वसाधारणतर्फको सेयर निष्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् । संस्थापकले पाँच अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् । 

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि सेयरको बाँडफाँट पनि भइसकेको छ । 

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । 

सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले एक अर्ब पाँच करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ । हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवा–ब्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताए । कम्पनीले माथिल्लो तामाकोसी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्कालीन ऋण लिएको छ ।

 सिइओ गौतमले अल्कालीन ऋणको साँवा–ब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोसीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उल्लेख गरे । यसैबीच, कम्पनीको पन्ध्रौँ वार्षिक साधारणसभा गत बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतलाई पारित गरेको छ । 

सुझावित समाचार