महात्मा गान्धी अंग्रेजलाई भारतबाट धपाउने ध्येयसाथ ‘भारत छोडो’ आन्दोलनको नेतृत्व गरी देशभरको दौडाहामा थिए । कैयौँ स्थानमा उनको स्वागत हुन्थ्यो भने कतिपय स्थानमा अंग्रेजको प्रभावले गर्दा उनको विरोध पनि हुन्थ्यो । कतिपय अंग्रेज उनका प्रशंसक थिए भने कैयौँ अंग्रेज उनका कट्टर आलोचक थिए ।
उनका आलोचकमध्ये एक अंग्रेज अधिकारीले एकपटक गान्धीलाई एउटा पत्र पठाए । पत्र गान्धीको हातमा पर्यो । उनले ध्यानपूर्वक त्यो पत्र पढे । पत्रमा गान्धीलाई तथानाम गाली गरिएको थियो । गालीबाहेक त्यसमा केही पनि थिएन । पत्र पढिसकेपछि कुनै प्रतिक्रिया नजनाई गान्धीले पत्रलाई रद्दीको टोकरीमा हालिदिए । पत्रमा एउटा आलपिन लगाइएको थियो, उनले त्यसलाई निकालेर सुरक्षित राखे ।
केही समयपछि तिनै अंग्रेज अधिकारी गान्धीसित प्रत्यक्ष भेटघाटका लागि आए । गान्धीको अगाडि पुग्नासाथ उनले सोधे– महात्माजी, मैले तपाईंलाई एउटा पत्र लेखेको थिएँ, के तपाईंले त्यो पत्र पाउनुभयो ? पाउनुभएको भए तपाईंले के त्यो पत्र पढ्नु पनि भयो ? उनको प्रश्न सुनेपछि गान्धीले मुसुक्क हाँस्दै जवाफ दिए– हो, तपाईंले मलाई मायाले पत्र पठाउनुभएको रहेछ । मैले धैर्यपूर्वक पूरै पत्र पढेँ । पत्रका लागि धन्यवाद !
गान्धीको जवाफ सुनेर उत्साहित हुँदै ती अंग्रेजले पुनः सोधे– महात्माजी, तपाईंले मेरो पत्रको के सार निकाल्नुभयो त ? अंग्रेजको जवाफ सुनेपछि गान्धीले हाँस्दै जवाफ फर्काए– मैले त्यसबाट एउटा आलपिन निकालेको छु । बस, पत्रको सार यत्ति मात्र त थियो । जे सार थियो, त्यो मैले लिएँ, जे असार थियो, त्यसलाई मैले मेरो रद्दीको टोकरीमा फालिदिएँ ।
गान्धीको जवाफ सुनेपछि ती अंग्रेज अधिकारीको बोली बन्द भयो ।