१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ९ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ९ शनिबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार जलविद्युतमा ३६.३७ अर्ब लगानी स्वीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ९ शनिबार १o:१६:oo

लगानी बोर्डले विभिन्न चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुंग खोला, ३९.९५ मेगावाटको दाना खोला र ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि उक्त लगानी स्वीकृत गरिएको हो । 

शुक्रबार लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले लगानी स्वीकृत गरेको हो । बैठकले सात सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । 

उक्त परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेड (पिसिसिएल)ले सम्झौताअनुसार काम गरेको छैन । पिसिसिएलले नेपालको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल)सँगको संयुक्त लगानीमा उक्त आयोजना बनाउने गरी बोर्डसँग ०७६ माघमा सम्झौता गरेको थियो । 

सम्झौता भएको मितिले दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्ने भनिए पनि हालसम्म उक्त काम सकिएको छैन । त्यसपछि बोर्डले चिनियाँ कम्पनीलाई गत जेठमा स्पष्टीकरण सोधेको थियो । कम्पनीले नेपालले सहयोग नगर्दा काम नगरेको जवाफ पठाएको छ । त्यसबारे समीक्षा गरेर परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरिएको बोर्डको भनाइ छ । 

बैठकले दमकमा रहेको चीन–नेपालमैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता (पिडिए)को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । 

त्यस्तै, दाङको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्पा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । यसका साथै बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ । 

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वाेच्च अदालतबाट जारी भएको आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्ड बैठकले ग्रिन क्याल्सियम एमोनियम निट्रेट (क्यान) फटिलाइजर फ्याक्ट्रीको स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियाका रिनोकोलासँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ । 

बैठकमा लगानी बोर्डका सिइओ सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधि तथा ५४औँ बोर्ड बैठकका निर्णयको कार्यान्वयन अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
 

ad
ad
ad
ad