१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२o:oo

कार्यस्थलमा शान्त र ऊर्जाशील वातावरण हुनुपर्छ । त्यसका लागि सजावटका सामग्री पनि उत्तिकै महत्वपूर्ण हुन्छ । फर्निचरको रङ, डेस्कको सजावट तथा आसपासमा रहेका सामग्रीले मानिसलाई आरामदायी महसुस गराउँछ । यसले कर्मचारीको कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने विज्ञहरू बताउँछन् । तसर्थ, सुन्दर र सुविधाजनक कार्यस्थल हुनु जरुरी छ । त्यसले सकरात्मकता र सिर्जनात्मक सोच मात्रै बढाउँदैन, उत्पादकत्व बढाउन पनि सहयोग पुर्‍याउँछ । 

कार्यस्थल अव्यवस्थित वा चित्त नबुझ्ने खालको भयो भने तनाव बढ्छ, काम गर्ने जाँगर चल्दैन । मनोपरार्शदाता आदर्श प्रधान आफ्नो कार्यस्थल सुन्दर र सुविधाजनक हुँदा सिर्जनात्मक काम गर्न सकिने बताउँछन् । ‘कतिपय मानिस आफ्नो परिवारिक समस्या तथा मानसिक समस्या लिएर कार्यस्थल पुगेका हुन्छन् । हामी व्यस्त जीवनशैलीले गर्दा घरबाट तनाव लिएर निस्किएका हुन्छौँ । त्यसैले कार्यस्थलमा शान्त वातावरण हुनुपर्छ । कार्यस्थलमा चिटिक्क हुँदा हाम्रो मुड फ्रेस हुन्छ ।’

काम गर्ने डेस्कमा के–के राख्ने ? 
काम गर्ने डेस्कमा असरल्ल फाइल–किताब, अव्यवस्थित सामान, चिया–कफीका खाली गिलास भएमा काम गर्ने ऊर्जा आउँदैन । प्रधान भन्छन्, ‘काम नलाग्ने वा बिग्रेका सामग्री रहिरहँदा तिनले नकारात्मक ऊर्जा प्रवाह गरेको हुन्छ । कार्यकक्ष, भित्तामा सकारात्मक ऊर्जा दिने खालका पेन्टिङ वा कलाकृति, इन्डोर प्लान्ट, हँसिलो फोटो, लामो समय बसेर काम गर्दा सजिलो हुने कुर्सी भएमा मन आनन्दित हुन्छ । काम गर्दा मानिसलाई खुसी बनाउने कुरा रङ महत्वपूर्ण हुने उनी बताउँछन् ।

त्यसैले कार्यकक्षको रङ शान्त महसुस हुने खालको हुनुपर्छ । सकेसम्म ब्लु कलरको पर्दा, भित्ताको रङ प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै, फर्निचर राख्दा पनि नयाँ तरिकाले सोच्नु राम्रो हुन्छ । ‘आरामदायी फर्निचर छनोट गर्दा नयाँ खालको अनुभूति हुन्छ र नयाँ तरिकाले सोच्न प्रेरणा मिल्छ,’ प्रधानले भने, ‘कार्यस्थलमा आवश्यक पर्ने कलम, डायरी, टेलिफोनलगायत अन्य सामग्री डेस्कमा मिलाएर राखिएको हुनुपर्छ । काम गर्ने स्थानमा प्राकृतिक प्रकाश, रंगीन सजावट, आरामदायी फर्निचर र अलिकति गोपनीयता चाहिन्छ ।’ इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका महाचिव रामगोपाल तन्डुकार आफूले काम गर्ने स्थान आनन्द र आरामदायी हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्लो समय धेरैले इन्टेरियर डिजाइनरसँग परामर्श गरेर कार्यस्थलको सजावट व्यवस्थापन गर्छन् । 

उनी भन्छन्, व्यवस्थित डिजाइन गरिएको कार्यकक्षमा काम गरिरहँदा स्फूर्ति बढ्छ । सकेसम्म काम गर्ने स्थान प्रकाश छिर्ने र आकर्षक हुनुपर्छ । सानो क्षेत्रफलमा पनि सुन्दर र आकर्षक कार्यस्थल बनाउन सकिन्छ ।’

उनको अनुभवमा हिजोआज सजिलो, व्यवस्थित र सफा कार्यकक्ष आधुनिक कार्यालयहरूमा अनिवार्य बन्दै गएको छ । व्यवस्थित कार्यस्थलले सफलतालाई समेत प्रभावित पार्ने हुँदा कार्यालयमा सबै कुरा व्यवस्थित, सफा र आकर्षक हुनुपर्छ । ‘कागजातको व्यवस्थित भण्डारण, पुस्तकालय र अध्ययन कक्षको व्यवस्थाले पनि तपाईंलाई उत्साहित बनाउँछ,’ उनले भने । 

कार्यस्थलमा इन्डोर प्लान्ट राख्दा झन् फाइदा हुन्छ । यसले स्वच्छ हावा र शीतलता मात्रै प्रदान गर्दैन, अफिस सजावटमा पनि सहयोग गर्छ । कार्यस्थलको क्षेत्रफल हेरेर कामको प्रकृति हेरेर डिजाइन गर्न सकिन्छ । अफिस कोठाका लागि ह्यांगिङ प्लान्टहरू राख्न सकिन्छ । 

जसले एक–अर्कामा हरियालीको स्पर्श थप्न सहयोग गर्छ । कार्यालयको छत वा पर्खालमा झुन्ड्याउन सकिन्छ । जसले कार्यालयमा हरियाली मात्र थप्दैन, शुद्ध हावाको प्रवाह पनि गर्छ । कुनै पनि अफिस स्पेसका लागि थुप्रै विकल्प हुन्छन् । डेस्क, टेबल वा भुइँमा पनि पर्याप्त मात्रामा सामग्री राख्न सकिन्छ । कार्यालयमा सानो बगैँचा हुनु अझै राम्रो हुन्छ ।

लामो समयसम्म रहने कार्यस्थलले हाम्रो जीवनलाई नै प्रभावित गरिरहेको हुन्छ । मानिसले शान्त, आनन्ददायी वातावरणमा मात्रै सही तरिकाले काम गर्न सक्छ ।
 

ad
ad