मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Monday, 16 December, 2024
२o८o भदौ ५ मंगलबार ११:४२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा देखिएको शिथिलताको असरले ठूला वित्तीय कारोबारमा संकुचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार ११:४२:oo

आर्थिक गतिविधिमा शिथिलता आउँदा गत आर्थिक वर्ष ०७९/८० मा ठूला आकारका वित्तीय कारोबारमा संकुचन आएको छ । बैंकिङ तरलता अभाव, उच्च ब्याजदर, मागमा आएको कमीलगायतका कारण विशेष गरी गत कात्तिकयता २० लाखभन्दा बढीको कारोबारमा कमी आएको हो । गत आवको कात्तिकयता प्रत्येक महिना अघिल्लो आवको तुलनामा ठूला वित्तीय भुक्तानी घटेको छ । गत आवलाई मात्रै तुलना गर्दा पनि साउनदेखि फागुनसम्म ठूला वित्तीय भुक्तानीको मासिक घट्दो क्रममा देखिन्छ । चैत, वैशाख, जेठ र असारमा भने सरकारी भुक्तानीका कारण बढेको छ । तर, त्यो पनि आव ०७८/७९ को सोही महिनाको तुलनामा भने कम नै छ । 

नेपालमा ठूला वित्तीय कारोबार अर्थात् ठूला रकमको भुक्तानी आरटिजिएस (रियल टाइम ग्रोस सेटलमेन्ट)का माध्यमबाट हुने गर्छ । गत आवमा ठूला आकारको भुक्तानी १९ प्रतिशतले घटेको छ । आव ०७८/७९ मा ४२१ खर्ब २८ अर्बबराबरका ठूला वित्तीय कारोबार भएको थियो । तर, गत आवमा ३४२ खर्ब ८४ अर्बमा सीमित भएको छ । 

गत आवको पहिला महिना आरटिजिएसमार्फत ४३ खर्ब ७२ अर्बबराबरको भुक्तानी भएको थियो । त्यसपछि निरन्तर घट्दै फागुनमा २२ खर्ब ८७ अर्बमा सीमित भयो । त्यसपछि सामान्य बढ्दै असार ०८० मा २९ खर्ब ८३ अर्बसम्म पुग्यो । तर, ०७९ असारमा ४३ खर्ब ४९ अर्बको कारोबार भएको थियो । यसरी असारमा मात्रै ठूला वित्तीय भुुक्तानी ३१.४१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्षको अन्तिम चरण भएकाले जेठ–असारमा आर्थिक गतिविधि बढी हुन्छ ।  

ठूला उद्योग तथा कम्पनीले गर्ने भुक्तानी, ठूला सरकारी भुक्तानी, अन्तरबैंक कारोबारलगायत ठूलो रकममा गरिने भुक्तानी आरटिजिएसमार्फत हुन्छ । निर्माण सामग्रीको मूल्यमा भएको वृद्धि, सरकारले भुक्तानी नदिनेलगायतका समस्याका कारण गत आवमा निर्माणसम्बन्धी गतिविधि नै न्यून भयो । त्यसले सिमेन्ट र डन्डी उद्योगदेखि क्रसरसहित समग्र निर्माण क्षेत्रको वित्तीय चक्र नै प्रभावित भयो । यस्तै, बजारमा आएको मागको कमीका कारण अन्य उद्योगका उत्पादन पनि पूर्ण बिक्री हुन सकेनन् । बैंकबाट प्रवाह हुने कर्जाले पनि ठूला वित्तीय कारोबारमा बढाउन सहयोग पुग्छ । तर, गत आवमा तरलता अभावका कारण कर्जा प्रवाह हुन सकेन । त्यसले पनि ठूला वित्तीय कारोबार प्रभावित भएको बताइन्छ । 

यस्तै, गत आवमा सेयर कारोबार, घरजग्गाको कारोबारमा पनि कमी आयो । विगतमा दैनिक सेयर कारोबार नै २१ अर्ब हाराहारीसम्म हुन्थ्यो । ठूला–ठूला रकममा घरजग्गाको कारोबार हुन्थ्यो । तर, अहिले सेयर कारोबारसँगै घरजग्गाा कारोबारमा पनि मन्दी आएको छ । त्यसले गर्दा पनि ठूला वित्तीय कारोबारमा कमी आएको राष्ट्र बैंकको भनाइ छ । 

समग्रमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताले ठूला वित्तीय कारोबारमा कमी आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली शाखाका प्रमुख गुरुप्रसाद पौडेलले बताए । आर्थिक गतिविधि सुस्त हँुदाको असर नै ठूला वित्तीय कारोबारमा देखिएको उनको भनाइ छ । 

तर, बढ्यो रिटेल डिजिटल भुक्तानी
गत आवमा ठूला वित्तीय कारोबार घटे पनि स–साना अर्थात् रिटेल डिजिटल भुक्तानी भने बढेको छ । मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ, क्युआर कोड, कनेक्ट आइपिएसमार्फत हुने भुक्तानी बढेको हो । ०७९ असारमा कनेक्ट आइपिएसमार्फत तीन खर्ब ६९ अर्ब २२ करोड भुक्तानी भएको थियो । असार ०८० मा त्यो चार खर्ब ९८ अर्ब ४५ करोड पुगेको छ । 

यस्तै, असार ०७९ मा मोबाइल बैंकिङबाट एक खर्ब ६३ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । असार ०८० मा त्यो दुई खर्ब ३३ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी असार ०७९ मा वालेटमार्फत १७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी भएको थियो । अहिले त्यसमार्फत २० अर्ब ३२ करोड भुक्तानी भएको छ । पछिल्लो समय क्युआर पेमेन्ट पनि ह्वात्तै बढेको छ । असार ०७९ मा क्युआर पेमेन्टमार्फत १४ अर्ब ५२ करोड रुपैयाँ मात्रै थियो । असार ०८० मा क्युआरमार्फत हुने भुक्तानी रकम ३० अर्ब १४ करोड पुगेको छ । यस्तै, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, आइपिएसलगायतका माध्यमबाट हुने भुक्तानी पनि बढेको तथ्यांकले देखाएको छ । यो त मासिक तथ्यांक मात्रै हो, गत आवमा आरटिजिएसबाहेक अन्य डिजिटल भुक्तानी बढेको राष्ट्र बैंकको भनाइ छ । 

कार्यकारी निर्देशक पौडेलले ठूला भुक्तानीमा कमी आए पनि साना आकारको डिजिटल पेमेन्ट भने बढ्दै गएको बताए । ‘पछिल्लो समय डिजिटल पेमेन्टसम्बन्धी साक्षरता बढ्दो छ । बैंकलगायतका भुक्तानी सेवाप्रदायक संस्थाले ग्राहकमैत्री प्रडक्ट ल्याउन थालेका छन् । त्यसले गर्दा ग्राहकमै आधारित मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्युआर, वालेटमार्फत हुने भुक्तानी भने उच्चदरमा बढ्दै गएको छ,’ उनले भने, ‘यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

समग्र डिजिटल भुक्तानीमा पनि कमी
गत आवमा समग्र डिजिटल भुक्तानी भने घटेको छ । मोबाइल बैंकिङ, क्युआर पेमेन्टलगायतका माध्यमबाट हुने भुक्तानी बढेको छ । तर, ठूला वित्तीय कारोबारमा आउँदा कुल डिजिटल भुक्तानीमा पनि कमी आएको हो ।  

आव ०७८/७९ मा ५९५ खर्बबराबरको कुल डिजिटल भुक्तानी भएको थियो । तर, गत आवमा त्यो ५१६ खर्ब ३५ अर्बमा सीमित भएको छ । असार ०७९ मा मात्रै ६२ खर्ब २७ अर्बको डिजिटल भुक्तानी भएको थियो, जुन हालसम्मकै उच्च हो । तर, असार ०८० मा यस्तो रकम ५० खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको छ । ठूला वित्तीय कारोबार घट्दा नै कुल डिजिटल भुक्तानीमा कमी आएको पौडेलको भनाइ छ । ग्राहकसँग सम्बन्धित डिजिटल भुक्तानी बढ्दो क्रममै रहेको उनले बताए ।