विकल्प नदिए आन्दोलन चर्काउने चेतावनी
- काठमाडौं महानगर क्षेत्रको फुटपाथमा व्यापार गर्दै आएकी शान्ता बस्नेत शारीरिक रूपमा अपांग छिन् । उनले फुटपाथमै सामान बेचेर तीन वर्षदेखि गुजारा गरिरहेकी छिन् । बस्नेत दम्पतीसँग फुटपाथमा सामान बेचेर छाक टार्नेबाहेक विकल्प पनि छैन । दैनिक रूपमा महानगरका नगर प्रहरीको दुर्व्यवहार सहेरै भए पनि फुटपाथ छाड्न सकेकी छैनन् । ‘रत्नपार्कमा राति साढे सातबाट मात्र पसल राख्न दिन्छ । त्यही पनि प्रहरी आएर कहिले सामान लुट्छ, दुर्व्यवहार गर्छ । हामीलाई सडकमै बसेर पसल गर्ने रहर छैन । विकल्प दिएर व्यवस्थापन गरिदिनुपर्यो भनेर धर्नामा आएको हो,’ उनले भनिन् ।
- कमला दाहालले फुटपाथमा सामान बेचेर जीवन धान्न थालेको १४ वर्ष भयो । झापामा भएको घरखेत बाढी र डुबानमा परे पनि उनी १४ वर्षअघि काठमाडौं आइन् । एक वर्षअघिसम्म जसोतसो जीवन धानिरहेकी उनी महानगरमा बालेन साह मेयर बनेपछि दैनिकी थप कष्टपूर्ण भएको छ । ‘एक वर्षअघिसम्म बिहान–बेलुका दुःख–सुख यही व्यापारबाट गुजारा चलिरहेको थियो । अहिले त बिहान–बेलुका के खाने भन्ने छ । अहिले आधा पेट खाएर बाँचिरहेका छौँ,’ उनले भनिन्, ‘साढे सात बजेदेखि मात्र पसल राख्न दिन्छ । चोर्न जाऔँ भने भएन । लुट्न जाऔँ भएन । हामीले जानेको यही हो । के गरौँ ?’ उनी पनि विकल्प दिए महानगरलाई कर तिर्नसमेत तयार रहेको बताउँछिन् ।
- धर्नामै भेटिएकी सावित्रा बस्नेत पनि फुटपाथमा बसेर काम गर्ने रहर नभएको बताउँछिन् । महानगरले व्यापार गर्ने समय र स्थानको विकल्प दिए मान्न तयार रहेको बताउँछिन् । ‘बेलुका साढे सात बजे पनि फुटपाथ व्यापार खुला हुन्छ, त्यही पनि डराई–डराई बस्नुपर्छ । यतिवेला त सडकमा मान्छे नै हिँड्दैन । के व्यापार गर्नु ?’ सावित्राले भनिन् ।
शान्ता, कमला, सावित्राजस्ता कैयौँ फुटपाथ व्यापारीले आइतबार दिउँसो फुटपाथको विकल्प दिनुपर्ने माग गर्दै राष्ट्रिय सभागृहअघि धर्ना दिएका छन् । काठमाडौं महानगरपालिकाले विनाविकल्प फुटपाथ व्यापारीलाई हटाएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले गाएको गीत गरिबको चमेली बोल्दिने कोही छैन... गाउँदै व्यंग्य गरेका छन् । उनीहरूले सडक–साइकल–गाडा–परम्परागत मजदुर–उद्यमीलाई विस्थापित गर्न बन्द गर्नुपर्ने, गरिब होइन गरिबी हटाउनुपर्ने, गरिखान दिनुपर्ने भन्दै नारा लगाएका थिए ।
राष्ट्रिय स्वतन्त्र व्यापार व्यवसायी युवा संघका संयोजक सुजन गिरी फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याएर भए पनि व्यवस्थापन गर्नुपर्ने बताउँछन् । फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीलाई विकल्प दिनुपर्ने र विनाविकल्प हटाउन नहुने बताउँछन् । ‘फुटपाथमा व्यवसाय गरिरहनुभएका व्यवसायीलाई विकल्प दिनुपर्यो । यिनलाई विनाविकल्प हटाउनुहुँदैन । करको दायरामा ल्याएर भए पनि व्यवस्थापन गर्नुपर्यो,’ गिरीले भने, ‘हुने त सटर चलाएर व्यवसाय गरिहाल्छन् । नहुनेलाई व्यवस्थापन गर्नुपर्यो । मेरो सटरमा पसल छ । मलाई फुटपाथ चाहिएको होइन । नहुनेका लागि व्यवस्था गर्नुपर्यो ।’ उनी फुटपाथ व्यवसायीको माग सम्बोधन नभए दबाबका अन्य कार्यक्रम सुरु हुने बताउँछन् । एक वर्षअगाडि नयाँ बानेश्वरबाट फुटपाथ व्यसायीलाई हटाउन थालेको महानगरले विभिन्न समयमा ठेलागाडा, साइकल व्यवसायीको सामान जफत गर्ने, सडकमै ती व्यवसायीमाथि हातपात गर्ने, लखेट्नेजस्ता अमानवीय क्रियाकलाप गर्दै आएको छ ।
व्यवस्थापन गर्न ठाउँ खोज्दै छाैँ : महानगर
फुटपाथ व्यवसायीको धर्नालाई नजरअन्दाज गरेको महानगरले भने उनीहरूलाई विकल्प दिनेबारे सोचिरहेको जवाफ दिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले फुटपाथ व्यवसायीको मागप्रति सकारात्मक रहेको बताए । उनीहरूलाई व्यवस्थापन गर्न ठाउँ खोजिरहेको उनको भनाइ छ । ‘फुटपाथ व्यवसायीलाई ठाउँ दिन दुई–तीन ठाउँ हेरेका छौँ । उहाँहरूलाई व्यवस्थापन गर्छौँ,’ प्रवक्ता मानन्धरले भने ।
उनी पछिल्लो समय नगर प्रहरीले फुटपाथ व्यवसायी, ठेलागाडा व्यवसायीमाथि दुर्व्यवहार गर्ने काम नभएको दाबी गर्छन् । स्थानीय सरकार स्वायत्त सरकार भएको भन्दै ललितपुर वा अन्य स्थानीय तहले के गरेभन्दा पनि आफ्नो अनुकूल नीति–नियम बनाएर काम गरिरहेको बताउँछन् । साउन ०७९ देखि महानगरले फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायीहरूको संघ–संगठनका प्रतिनिधिहरू मेयर साहसँग भेट गर्न र छलफल गर्न लागिपरेको छ । तर, कैयौँपटक छलफलको प्रयास गर्दा पनि मेयरले समय नदिएको आरोप छ ।