मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Friday, 22 November, 2024
२o८o श्रावण २६ शुक्रबार o७:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिम्रिक हेलिकोप्टर उडानमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार o७:५६:oo

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका हेलिकोप्टर उडानमा रोक लगाएको छ । क्यानले गरेको वित्तीय अडिटमा सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको र विमानस्थललाई तिर्नुपर्ने शुल्क बक्यौता पनि नतिरेको भन्दै उडानमा रोक लगाइएको हो ।

क्यानको टोलीले गरेको वित्तीय अडिटमा सिम्रिक एयरको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्नुपर्ने दायित्व बढी देखिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । यस्तै, आर्थिक वर्ष ०७९/८० सम्म सिम्रिक एयरले क्यानलाई बुझाउनुपर्ने विमानस्थल सेवा शुल्क ४६ लाख बक्यौता रहेको छ ।

‘कुनै पनि वायुसेवा कम्पनीको दायित्व अस्वाभाविक धेरै हुँदा उसले जहाजको नियमित मर्मत–सम्भार, पार्टपुर्जा फेरबदल, पाइलट तथा कर्मचारीको तलब–भत्ता, तालिमलगायतमा खर्च कम गर्न कन्जुस्याइँ गर्न थाल्छ,’ भुलले भने, ‘यसले वायुसेवा उडान सुरक्षामा गम्भीर समस्या निम्त्याउन सक्छ ।’ विमानस्थलको सेवा लिएबापत वायुसेवा कम्पनीले सर्भिस शुल्क तिर्नुपर्ने हुन्छ । यदि सेवा शुल्क नतिरे क्यानले उडान रोक्न सक्छ । 

सिम्रिक एयरले पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न नखोजेको उनको भनाइ छ । ‘शुक्रबारदेखि लागू हुने गरी सिम्रिकका सम्पूर्ण उडान रोकेका छौँ,’ भुलले भने, ‘सिम्रिकले विमानस्थलको बक्यौता बुझाउनेदेखि वित्तीय समाधान गर्नेबित्तिकै उडान सुचारु हुन्छ, नत्र उडान गर्न पाउँदैन ।’