मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
२०८० श्रावण २५ बिहीबार ०७:४४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपराष्ट्रपति यादव चीन जाँदै

Read Time : > 1 मिनेट
२०८० श्रावण २५ बिहीबार ०७:४४:००

प्रधानमन्त्रीको क्युबा, न्युयोर्क र चीन भ्रमणको गृहकार्य

उपराष्ट्रपति रामसहायप्रसाद यादव ३१ साउनदेखि ३ भदौसम्म चीन भ्रमणमा जाने भएका छन् । उनी युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’मा सहभागी हुने तय भएको हो । उपराष्ट्रपति यादवको यो पहिलो विदेश भ्रमण हो । 

सरकारकी प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद्को मंगलबार बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको छ । उनको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्याल, उद्योग तथा वाणिज्यसचिव मधुकुमार मरासिनीलगायत उच्चपदस्थ अधिकारी छन् । प्रदर्शनीमा ६० मुलुक सहभागी हुँदै छन् । 

चीनको दक्षिण–पश्चिमी क्षेत्र कुन्मिङमा आयोजना हुँदै आएको प्रदर्शनीमा विगतमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन र परमानन्द झाले पनि सहभागिता जनाएका थिए । 

चीन र दक्षिण एसियालाई आर्थिक रूपमा जोड्न चीनले बर्सेनि प्रदर्शनी राख्दै आएको छ । यस वर्ष प्रदर्शनीको मुख्य विषय ‘साझा विकासका लागि ऐक्यबद्धता र समन्वय’ राखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलबाहेक करिबसयजना व्यापारिक प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । चीन र दक्षिण एसियाबीच गत वर्ष करिब दुई सय अर्ब डलरको व्यापार थियो । यस वर्ष प्रदर्शनीको ‘थिम कन्ट्री’का रूपमा नेपाललाई पनि राखिएको छ ।

चीनको वाणिज्य मन्त्रालय, युनान प्रान्तीय सरकार, सिचुआन प्रान्त, स्वायत्त क्षेत्र तिब्बत, चोङकिङ नगरपालिका, छन्दु नगरपालिकालगायत आयोजक छन् ।

प्रधानमन्त्री प्रचण्ड क्युबा, न्युयोर्क र चीन जाने कूटनीतिक गृहकार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ अन्तिम सातापछि क्युबा, संयुक्त राष्ट्रसंघीय महासभा न्युयोर्क र छिमेकी चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले प्रमुख प्राथमिकतामा चीनको भ्रमणलाई राखेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि कूटनीतिक च्यानलबाट तयारी भइरहेको छ । समयको चापलाई हेरेर सकभर सबै ठाउँमा भ्रमण हुने गरी गृहकार्य हुँदै छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ पत्रिकासँग भने । 

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरुमा क्युबाको भ्रमण गर्ने गरी तयारी छ । भदौ अन्तिम साता क्युबाको दुईदिने भ्रमण सकेर प्रधनमन्त्री प्रचण्ड न्युयोर्कमा पुग्ने कार्यतालिकामा गृहकार्य भइरहेको स्रोतले बतायो । २ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । त्यसलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने योजनामा छन् । 

प्रधानमन्त्री प्रचण्डलाई ६ असोजमा चीनको हान्जाउमा आयोजना हुने एसियाली खेल कार्यक्रममा सहभागीसमेत हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा छ । ‘संयुक्त राष्ट्रसंघमा सम्बोधन र उच्चस्तरीय भेटघाट सकिएपछि सम्भव भएसम्म मात्रै खेल हेर्न जाने सोचमा प्रधानमन्त्री हुनुहुन्छ । एसियाली खेलमा सहभागी हुन समयले दिएन भने न्युयोर्कबाट बेइजिङ गएर उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । त्यहीअनुसार तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘समयको चापले गर्दा यीमध्ये रोज्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीको पहिलो रोजाइ चीन हो । चीनमा औपचारिक वार्ता हुने मिति तलमाथि नहुने गरी क्युबा र न्युयोर्कको कार्यक्रमका लागि गृहकार्य गर्नु भन्ने निर्देशनअनुसार समन्वय भइरहेको छ ।’