मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Wednesday, 12 March, 2025
२o८o श्रावण २५ बिहीबार o६:२o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे चार अर्बमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकको दुर्दशा : डेढ महिनामा २६ पहिरो, सय घन्टा सडक अवरुद्ध

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार o६:२o:oo

यात्रुवाहक र मालवाहक गरेर दैनिक ११ हजार सवारीसाधन गुड्ने नारायणगढ–मुग्लिन सडकखण्डको २४ किलोमिटर क्षेत्रमा पहिरोले सधैँ सास्ती, वैकल्पिक मार्ग निर्माणबारे सधैँ चर्चा हुन्छ, काम हुँदैन । 

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला पुलनजिक गत १४ असारमा पहिरो खस्दा २७ घन्टा सडक अवरुद्ध भयो 

चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा मंगलबार बिहान ५ बजे लेदोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक ५ घन्टा ५० मिनेट अवरुद्ध बन्यो । यसबाहेक मंगलबार नै चारकिलो, नाम्सीखोला, टोपेखोला, कालीखोला, तुइनखोलामा पनि पहिरो खसेको थियो । बिहान सवा ८ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन हुन नपाउँदै पुनः १० मिनेटमा नजिकैको टोपेखोलामा ठूलो पहिरो खस्यो । बिहान ११ बजे पहिरो पन्छाए पनि सडक दुईतर्फी सञ्चालन हुन दिउँसो २ बजेसम्म पर्खनुपर्‍यो । 

१४ असारमा तुइन पुलमै पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आउन २७ घन्टा लागेको थियो । तर, सडक सञ्चालनमा आएको २४ घन्टा नबित्दै १६ असार बिहान ३ बजे फेरि सोही ठाउँमा पहिरो खस्यो । पहिरो खसेको २२ घन्टापछि मात्र सडक पुनः सञ्चालनमा आयो । 

दैनिक ११ हजार मालवाहक र यात्रुवाहक सवारीसाधन गुड्ने ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडकमध्ये ३४ किलोमिटर विश्व बैंकको ऋण सहयोगमा पाँच वर्षअघि मात्र तीन अर्ब ४० करोड खर्च गरेर दुई लेनमा स्तरोन्नति गरिएको हो । तर, हरेक वर्ष पहिरोको उस्तै छ । 

६ असारदेखि २३ साउन डेढ महिनामा २६ पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक सय घन्टा आठ मिनेट अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरको तथ्यांक छ । यसबीचमा सडक घन्टौँसम्म एकतर्फी मात्र सञ्चालन भएको छ । 

२६ ठाउँमा गएको पहिरोमध्ये सबैभन्दा धेरै तुइनखोला र कालीखोलामा ६–६ पटक गएको छ । नाम्से पुलमा तीनपटक तथा १८ किलो, डुम्रे, रिग्दी, सिमलताल–सेतीदोभानमा दुई–दुईपटक पहिरो गएको छ । त्यस्तै जलबिरे, टोपेखेला र चारकिलोमा एक–एकपटक पहिरो खसेको छ । 

‘यो तथ्यांक ठुल्ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हकमा मात्र हो,’ सडक डिभिजन भरतपुरका इन्जिनियर सागर कार्की क्षेत्रीले भने, ‘बर्खामा ससाना पहिरो त धेरै नै खसिरहन्छन् । त्यसको रिपोर्टिङ र तथ्यांक हामीसँग छैन ।’

यो सडक स्तरोन्नती पछि ०७५ यता पहिरोका कारण मौरीखोला पुलमा झन्डै तीन दिन (६६ घन्टा) सडक अवरोध भएको थियो । सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार सडक हस्तान्तरण भएपछि सवारीसाधन अवरोध हुने गरेर डेढ सयभन्दा धेरैपटक पहिरो खसेको अनुमान छ । तर, सडकसँग यसको यकिन तथ्यांक छैन । नारायणगढ–मुग्लिन हुँदै नियमित भरतपुर–काठमाडौं माइक्रोबस चलाइरहने दोलखाका ५१ वर्षीय हेम थापा कैयौँपटक पहिरोका कारण सडकमै वास बसेको अनुभव सुनाउँछन् । ‘बाटो बनाएका छन् । तर, पहिरो रोकिएको छैन,’ उनले भने, ‘बर्खामा नारायणगढ–मुग्लिनमा माइक्रो चलाउन डर हुन्छ । कतिखेर पहिरो खस्छ थाहै हुँदैन ।’

नारायणगढ–मुग्लिन सडक विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत ३६ किलोमिटरमध्ये चितवनको आँपटारीदेखि मुग्लिङसम्मको ३३ किलोमिटर स्तरोन्नति गरिएको थियो । ७ वैशाख ०७२ बाट सुरु भई पाँचपटक म्याद थपपश्चात् करिब एक वर्ष ढिला गरेर २४ साउन ०७५ मा दुई लेनमा स्तरोन्नति गर्न तीन अर्ब ४० करोड खर्च भएको छ । आयोजनाको ठेक्का रकम तीन अर्ब रहे पनि ४० करोड लागत बढेको थियो । 

खोजी हुँदै नारायणगढ–मुग्लिन सडकको विकल्प
पूर्वी र पश्चिम नेपाललाई मुलुकको राजधानीसँग जोड्ने मुख्य सडकमार्ग, नारायणगढ–मुग्लिनको विकल्प खोज्ने प्रक्रिया पनि सुरु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले तीन हप्ताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुंगा हुँदै मुग्लिनसम्म सडक बनाउन स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ । विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति नयाँ राजमार्ग घोषणासहित मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने हुन्छ । यसको लागत चार अर्ब अनुमान गरिएको छ । 

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३२ किलोमिटर दूरी पर्छ । अहिले भएको सडकको त्रिशूलीको अर्को किनारमा उक्त सडक बन्नेछ । गैँडाकोटदेखि नवलपरासीतर्फ आठ किलोमिटर र तनहुँ देवघाटदेखि मुग्लिन २४ किलोमिटर पर्नेछ । 

कालीगण्डकीमाथि पुल बनेकाले यो सडक बनेमा पश्चिमका गाडी चितवन आउनुपर्ने छैन । यसबाहेक अहिले तराईबाट आउँदा कान्ति लोकपथको सडक, पश्चिमबाट आउँदा बुटवल–पोखरा–काठमाडौं र पूर्वबाट आउँदा बर्दिबास–धुलिखेल–काठमाडौं नारायणगढ–मुग्लिनको विकल्प हुन् । हेटौँडा–नौबिसे सडक र हेटौँडा–कुलेखानी–दक्षिणकाली–काठमाडौं वैकल्पिक सडक हुन् । तर, यी सडकमा १२ महिना नै लोडसहित ठूला सवारी चल्न मुस्किल छ । 

नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं—तराई– मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा भए नारायणगढ मुग्लिन सबैभन्दा उत्तम विकल्प बन्ने पौडेल बताउँछन् । नारायणगढ–मुग्लिन सडकको क्षमता दैनिक १७ हजार सवारीसाधनको रहे पनि दैनिक ११ हजार मालवाहक र यात्रुवाहक सवारीसाधन गुड्छन् । पौडेलका अनुसार अब नारायणगढ–मुग्लिनमा टनेलबाहेकको विकल्पमा पहाड काटेर सडक विस्तार गर्न सकिने अवस्था पनि छैन ।

एक वर्षमा ५७ सवारी दुर्घटना, ११ जनाको मृत्यु
एसियाली मापदण्डमा स्तरोन्नति गरिएको भनिएको मुग्लिन–नारायणगढ सडकमा एक वर्षमा ५७ सवारी दुर्घटना भएका छन् । गत आव ०७९–८० मा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको र एक सय ५९ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । प्रहरीले दुर्घटनाको कारणबारे छुट्टै तथ्यांक नराखे पनि बर्सातका महिना र चार्डपर्व परेका समयमा धेरै सवारी दुर्घटना भएको देखिन्छ । 

गत वर्ष साउनमा नौ सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका छन् । असोजमा नौ सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु र १२ जना घाइते भएका छन् । यो सडकमा पछिल्लो तीन वर्षमा दुई  सय १२ दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । पाँच सय २६ जना घाइते भएका छन् ।

यो बर्खामा कहिले–कहिले पहिरो ? कति घन्टा अवरोध ?
- ६ असार : नाम्सी पुल (१ घन्टा ५५ मिनेट)
- ७ असार : डुम्रे, रिग्दी र सिमलताल–सेतीदोभान (५ घन्टा ५० मिनेट)
- ८ असार : डुम्रे, रिग्दी र सिमलताल–सेतीदोभान (३ घन्टा)
- ९ असार : १८ किलो (२ घन्टा १० मिनेट)
- ११ असार : १८ किलो (१ घन्टा ४० मिनेट)
- १४ असार : तुइनखोला पुल (२७ घन्टा १५ मिनेट)
- १६ असार : तुइनखोला पुल र नाम्सी (२४ घन्टा ४५ मिनेट)
- १८ असार : तुइनखोला पुल (४ घन्टा ४५ मिनेट) 
- २३ असार : कालीखोला (९ घन्टा) 
- २७ असार : कालीखोला (४० मिनेट)
- ९ साउन : कालीखोला र तुइनखोला (१ घन्टा १० मिनेट)
- १३ साउन : कालीखोला (५ घन्टा ५ मिनेट)
- १४ साउन : कालीखोला र तुइनखोला (६ घन्टा)
- २० साउन : जलबिरे (१ घन्टा)
- २३ साउन : कालीखोला, चारकिलो, नाम्सीखोला, टोपेखोला र तुइनखोला (५ घन्टा ५० मिनेट)

३१ ठाउँको पहिरोको जोखिम घटाउन गरिएको थियो ५० करोड खर्च
०७२ मा सडक स्तरोन्नति गर्दा ३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरिएको थियो । सडक डिभिजनले ती ठाउँमा ५० करोड खर्च गरिसकेको छ । तर, अझै पहिरो नियन्त्रणमा आउन सकेको छैन । नयाँ–नयाँ ठाउँमा पनि पहिरोको जोखिम बढेको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार त्यतिखेर जोखिम पहिचान भएका ठाउँमा चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदीकिनारमा पाइलिङ गर्ने र आरसिसी वाल लगाउने काम गरिएको थियो । ‘दासढुंगादेखि मुग्लिनसम्म झन्डै २४ किलोमिटरमा कहाँ कतिखेर पहिरो खस्छ भन्ने अनुमान गर्न सकिँदैन, सबै ठाउँमा पहिरो रोक्न नसकिने भएकाले अति जोखिम भएको ३१ ठाउँमा पहिरोको जोखिम न्यूनीकरण गरिएको हो,’ उनले भने, ‘तीन हप्ताअघि मात्र सडकमुनि पनि दुई ठाउँमा पहिरो जोखिमको काम सम्पन्न गरिएको छ ।’ त्यही भएर सडक डिभिजनले आपत्कालीन खर्च भनेर वार्षिक ८० लाख छुट्याउने गरेको छ । बर्खाको चार महिना एउटा एक्स्काभेटर र दुईवटा रोडर तयारी अवस्थामा राखेको हुन्छ । इन्जिनियर, सबइन्जिनियर र सुपरभाइजरको एउटा छुट्टै टोली पनि खटिन्छ ।

भूगर्भविद् सुबोध ढकाल भन्छन्– पहिरोको खुट्टा काट्ने काम मात्र भयो 
मुग्लिन–नारायणगढ सडक क्षेत्रमा भौगोलिक बनोट कमजोर छ, टुक्रे र कुहिएका चट्टान पनि छन् । सडकभन्दा माथिल्लो भिरमा पानी धेरै छ । सडक स्तरोन्नति गर्दा पहिले पहिरोको अध्ययन गरिएन । लेखाजोखा नगरी सडक खुलाइयो र जहाँजहाँ पहिरो गयो त्यहाँ जथाभावी भित्ता काट्ने काम भयो । भित्ता काट्दा एंगल र उचाइ नमिलाएर काटिएको छ, अलि भिरालो बनाएर काटेका छन् । एक्स्काभेटरले खनिएको छ, पहिरो ओभरहेंगिङ छ (काटिएको ठाउँमा) । अहिले पनि बर्खामा पहिरो खसेपछि हटाउने गरिएको छ । सडक अवरुद्ध भएपछि खुलाउन त पर्‍यो । अहिले त जहाँजहाँ पहिरो गयो त्यहाँ पहिरोको खुट्टा काट्ने काम भइरहेको छ, झरेको भाग काटिँदै छ । पहिरोको खुट्टा काटियो, जिउले धान्न सकेन । त्यसैले फेरि माथिबाट पहिरो झरिरहेको छ । पहिरो नियन्त्रण गर्न बर्खाअघिका आठ महिनामा काम गर्नुपर्छ । अब माथिल्लो तहमा पहिरो थामिने गरी काम गर्नुपर्छ । 

सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल भन्छन्– २४ किमि पूरै पहिरो नियन्त्रण गर्न १० अर्ब चाहिन्छ
०७२ को भूकम्पको प्रभाव पनि होला, खोलाले माटोलाई कमजोर बनाउँदै जाँदा अत्यधिक चापका कारण सडक दबेर पहिरो बढेको छ । नयाँ पुल बन्दै छन् । पहाड काट्दाको कम्पनलगायतले पहिरो खसेको अनुमान गर्न सकिन्छ । नयाँ–नयाँ ठाउँमा पहिरो खसिरहेको छ । यो वर्ष तुइनखोला, कालीखोला र मौरीखोलामा पहिरोले दुःख दिइरहेको छ । पहिरोको जोखिम रहेको २४ किलोमिटर पूरै नियन्त्रणका लागि १० अर्ब लाग्छ, तर त्यसपछि पनि पूरै नियन्त्रण हुन्छ भन्न सकिँदैन । यसअघि जोखिम पहिचान गरिएका ३१ ठाउँको सबै गरेर सात सय मिटरमा नियन्त्रणको काम गर्न मात्रै ५० करोड खर्च भएको थियो । २४ किलोमिटरको हिसाब गर्दा १० अर्बले पनि मुस्किल हुन्छ । यति ठूलो रकम खर्च गर्न उपयुक्त पनि हुँदैन, चार अर्बमा त नयाँ सडक बन्छ । पहिरोको जोखिम देखिएका थप ठाउँमा अध्ययन गरेर न्यूनीकरण गर्ने हो । पहाडमा दीर्घकालीन रूपमा पहिरो जाँदैन भन्ने हुँदैन । तर, न्यूनीकरणको काम गर्न सकिन्छ ।