धर्म, ज्योतिष तथा वास्तुसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने गरी बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन गर्न लागिएको छ । ज्योतिष तथा पण्डितहरूलाई नै लक्षित गरेर गर्न लागिएको कार्यक्रममा काजकिरियादेखि जीवनसँग जोडिएका विभिन्न विषयमा उत्तर खोजिने भएको छ ।
यही साउन १९ र २० गते विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजनामा सम्मेलन हुँदै छ । आध्यात्मिक सम्मेलनमा देशैभरबाट करिब पाँच सयजनाको सहभागिता रहने आयोजककाे अपेक्षा छ।
सोमबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक ज्यो. जनार्दन न्यौपानेले दुईदिने सम्मेलनमा विद्वानहरूको सहभागिता रहने र त्यहाँ गहन छलफल हुने हुँदा कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए ।
सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलनले मद्दत गर्ने न्यौपानेले बताए । सम्मेलनमा महत्वपूर्ण तीनवटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा. देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । समाजमा उब्जिएका एक सय २० वटा प्रश्नको उत्तरसहितको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । यस कार्यपत्रले धेरै जटिल प्रश्नहरूको जवाफ दिने न्यौपानेको भनाइ छ ।
त्यस्तै, ज्योतिषशास्त्रमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, वास्तु र जीवनमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यी कार्यपत्रहरूले ज्योतिषीय दृष्टिले वैदेशिक यात्रा तथा जीवनमा वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न मद्दत मिल्ने आयोजकको भनाइ छ ।
धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष, योग, तन्त्र, साधना, वास्तु निर्माण व्यवसायी, व्यापारी एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सम्मेलनको लक्षित वर्गमा रहेका छन् ।
कार्यक्रममा नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रा.डा. नारायण गौतम, त्रिभुवन विश्वविद्यालयका ज्योतिर्विद सह प्रा. दीनानाथ पण्डितलगायत वक्ताको रूपमा रहेका छन् । कार्यक्रमको सहआयोजकमा लुम्बिनी पूजा सामग्री भण्डार, बुटवल रहेको छ ।