नेपालका सूचना प्रविधि कम्पनीहरूले एक वर्षमा ५१ करोड ५४ लाख अमेरिकी डलरबराबरको सेवा निर्यात गरेका छन् । सोमबारको विनिमय दरअनुसार यो करिब ६७ अर्ब ९८ करोड रुपैयाँ हो । सन् २०२२ मा नेपाली कम्पनीहरूको सेवा निर्यात मूल्यमा ६४.२ प्रतिशतले बढेको हो । २०२१ मा यस्तो निर्यात ३१ करोड ३९ लाख डलर (करिब ४१ अर्ब ४० करोड रुपैयाँ) मात्रै थियो ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)को अध्ययनले यस्तो देखाएको हो । सन् २०२२ मा एक सय ६ वटा सूचना प्रविधि कम्पनीले सेवा प्रवाह गरेका छन् । त्यस्तै, १४ हजार सात सय २८ जनाले स्वतन्त्र ढंगले निर्यात गरेका छन् । स्वतन्त्र ढंगले आइटी सेवा प्रवाह गर्ने ६६ हजार पाँच सय नौजनाले डिजिटल प्लेटफर्मबाट आइटी सेवा निर्यात गरिरहेको अध्ययनले देखाएको छ ।
सूचनालाई प्रविधिको माध्यमबाट उत्पादन, व्यवस्थापन, भण्डारण तथा आदान–प्रदान गराउने सेवालाई आइटी सर्भिस भनिन्छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा सूचना प्रविधिको योगदान १.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा आइटी सेवाको योगदान ५ दशमलव ५ प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ ।
निर्यातमा आइटी कम्पनीले वर्चस्व बढाउँदै
आइटी कम्पनीले सन् २०२२ मा २० करोड १० लाख, आइटी फ्रिल्यान्सरले ६ करोड ९० लाख र सूचना प्रविधि सेवा इनेबल सर्भिस (आइटिइएस) फ्रिल्यान्सरले २४ करोड ४० लाख अमेरिकी डलरबराबरको सेवा निर्यात गरेको अध्ययनमा उल्लेख छ ।तीन वर्षको तथ्यांकलाई हेर्दा कुल निर्यातमा आइटी कम्पनीले वर्चस्व बढाउँदै लगेको देखिन्छ । २०२० मा २८.५४ प्रतिशत हिस्सा ओगटेको आइटी कम्पनीले २०२१ मा आफ्नो हिस्सा ३५.५२ प्रतिशत पुर्याएको थियो ।
२०२२ मा आइपुग्दा यो हिस्सा ३९.०५ प्रतिशत पुगेको छ । स्वतन्त्र रूपले आइटी सेवा निर्यात गर्ने फ्रिल्यान्सरहरूको हिस्सा घट्दो क्रममा छ । २०२० मा १४.०१ प्रतिशतसम्म हिस्सा पुर्याएका फ्रिल्यान्सरहरूको वर्चस्व घट्दै गएर २०२२ सम्म आइपुग्दा १३.५ प्रतिशतमा सीमित भएको छ ।
हालसम्म आइटिइएसमा स्वतन्त्र ढंगले सेवा निर्यात गर्ने फ्रिल्यान्सरको वर्चस्व बढी नै छ । तर, पछिल्लो तीन वर्षमा यसको हिस्सा खस्किँदै गइरहेको छ । २०२० मा ५७.४४ प्रतिशत वर्चस्व राखेकोमा २०२२ सम्म आइपुग्दा यो हिस्सा ४७.३३ प्रतिशतमा खुम्चिएको छ । आइटी कम्पनीभन्दा पनि फ्रिल्यान्सरले नेपालको जिडिपी र विदेशी मुद्रा सञ्चितिमा बढी योगदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
आइआइडिएसले प्राइमरी डेटाका रूपमा तीन सय ८९ फ्रिल्यान्सर र ८६ आइटी कम्पनीको सहभागितामा उक्त अध्ययन गरेको थियो । यसबाहेक सयभदा बढी सरोकारवालासँग परामर्शसमेत गरिएको थियो । सेकेन्डरी डेटाका रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।
आइआइडिएसका अनुसार क्रेरिक एन्ड डेटा इन्ट्रीमा सात हजार दुई सय १२, क्रिएटिभ एन्ड मल्टिमिडियामा सात हजार तीन सय ५५, प्रोफेसनल सेवामा दुई सय ६७, सेल्स एन्ड मार्केटिङ सपोर्टमा तीन हजार तीन सय २६, सफ्टवेयर विकास र प्रविधिमा १४ हजार सात सय २८, डिजिटल प्लेटफर्ममा लेख्ने र ट्रान्सलेसन गर्नेमा पाँच हजार ६ सय ६८ जना छन् ।सन् २०२१ मा आइटी सेवा निर्यात गर्ने ४२ हजार आठ सय ४७ रहेकोमा सन् २०२२ मा त्यसको संख्या ६६ हजार पुगेको छ । वार्षिक रूपमा नेपालबाट फ्रिल्यान्सरका रूपमा सेवा प्रदान गर्नेको संख्या बढ्दो छ ।
आइटी कामदारको कमाइ कति ?
आइडिआइएसको अध्ययनअनुसार नेपालका आइटी फ्रिल्यान्सरको औसत वार्षिक कमाइ चार हजार सात सय २३ अमेरिकी डलर (करिब ६ लाख १३ हजार नौ सय ९० रुपैयाँ) रहेको छ । तहगत रूपमा हेर्दा नवप्रवेशी आइटी फ्रिल्यान्सरको वार्षिक कमाइ दुई हजार आठ सय १० डलर छ । जुन नेपाली मुद्रामा करिब तीन लाख ७० हजार ६ सय ३९ रुपैयाँ हुन आउँछ । त्यस्तै, मध्यम तहका फ्रिल्यान्सरले वार्षिक ६ हजार तीन सय ९५ डलर (करिब आठ लाख ४३ हजार पाँच सय रुपैयाँ) कमाउँछ । त्यस्तै, वरिष्ठ तहका आइटी कामदारले वार्षिक १५ हजार तीन सय २२ डलर (करिब २० लाख २० हजार नौ सय ७१ रुपैयाँ) कमाउने गरेको अध्ययनले देखाएको छ ।
अर्थतन्त्रमा १.४ प्रतिशत योगदान
सन् २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा आइटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गरेको देखिएको छ । नेपालको जिडिपीमा वार्षिक आइटी सेवा निर्यातको योगदान ०.५ प्रतिशतले बढेको हो । सन् २०२१ मा आइटी सेवा निर्यातले जिडिपीमा ०.९ प्रतिशतको योगदान थियो । त्यस्तै, सन् २०२० मा त्यस्तो योगदान १ प्रतिशत मात्रै थियो । आइटी सेवा निर्यातले नेपालको विदेशी मुद्रा सञ्चितिमा साढे ५ प्रतिशतको योगदान गरेको छ । त्यस्तै, सन् २०२२ मा मात्रै एक सय ६ वटा सूचना प्रविधि कम्पनी र करिब ६६ हजार पाँच सय नौ फ्रिल्यान्सरले ६७ अर्बभन्दा बढीको सेवा निर्यात गरेका छन् ।