कठोर आर्थिक अवस्था, उच्च ब्याजदर र आर्थिक बजारमा देखिएको अनिश्चितता नै एफडिआई घट्नुका मुख्य कारण हुन्
सन् २०२२ मा वैश्विक वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) प्रवाह १२ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब डलर पुगेको छ । सन् २०२० मा आएको गिरावट र २०२१ मा गति लिएको वैश्विक एफडिआईमा संकट र चुनौती देखिएको ‘वल्र्ड इन्भेस्टमेन्ट रिपोर्ट–२०२३’ ले देखाएको छ ।
विश्वमञ्चमा देखिएको रुस–युक्रेन युद्ध, खाद्यान्न तथा ऊर्जाको उच्च मूल्य, मन्दीको जोखिम र थुप्रै देशमा रहेको ऋण दबाबले वैश्विक एफडिआईमा नकारात्मक प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय परियोजनाको आर्थिक मूल्य, क्रसबोर्डर मर्जर र प्राप्तिमा विशेष धक्का पुग्न गयो । कठोर आर्थिक अवस्था, उच्च ब्याजदर र आर्थिक बजारमा देखिएको अनिश्चितता नै एफडिआई घट्नुका मुख्य कारण हुन् । २०२२ मा अन्तर्राष्ट्रिय परियोजनाको आर्थिक सम्झौता मूल्य (भ्यालु) मा २५ प्रतिशतले गिरावट आयो । यस्तै, क्रसबोर्डर सेल चार प्रतिशतले कम रहन गयो ।
अन्तर्राष्ट्रिय व्यापार र सीमापारको लगानी (क्रसबोर्डर) वातावरण यो वर्ष चुनौतीपूर्ण रहेको रिपोर्टले देखाएको छ । रुस–युक्रेन युद्धले वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । अझै पनि युद्धको टुंगिने छाँटकाँट देखिएको छैन । यस्तै भूराजनीतिक तनाव पनि उसैगरी बढेको अवस्था छ । केही विकसित देशको आर्थिक क्षेत्रमा देखिएको हालसालैको उथलपुथलले लगानीकर्तालाई अनिश्चितताको भूमरीमा धकेलेको छ । विकसित देशमा निरन्तरको उच्च कर्जाले आर्थिक गतिविधिलाई सीमित गराउँछ ।
युनाइटेड नेसन्स, ट्रेड एन्ड डेभलपमेन्टले वैश्विक एफडिआई यो वर्ष पनि ओरालो नै लाग्ने पूर्वानुमान गरेको छ । प्रारम्भिक सूचकले ऋणात्मक एफडिआईको दृष्टिकोणलाई पुष्टि गर्छ । यो वर्षको दोस्रो त्रैमासको एफडिआई प्रोजेक्टले लगानीकर्ता अनिश्चित रहेको र जोखिम उठाउन नचाहेको देखाएको छ । प्रारम्भिक तथ्यांकअनुसार दोस्रो त्रैमासमा अन्तर्राष्ट्रिय परियोजना आर्थिक सम्झौताको संख्यामा कमी आएको देखिन्छ । यसैगरी, सीमापारिको लगानी, मर्जर र प्राप्तिको गति पनि सुस्त भएको देखिएको छ ।
वैश्विक जिडिपी, ट्रेड र एफडिआईको अवस्था ः रिपोर्टअनुसार २०२३ मा कुल वैश्विक गार्हस्थ्यय उत्पादन (जिडिपी) २.८ प्रतिशतले वृद्धि हुने आकलन छ । यस्तो जिडिपी २०२२ मा ३.४ र २०२१ मा ६.३ प्रतिशत थियो । कोभिडपछिको यो वृद्धि उच्च हो । यस्तै, कोभिड महामारीका वेला २०२० मा वैश्विक जिडिपी २.८ ले ऋणात्मक थियो । कोभिड महामारीको समयलाई हेर्दा प्रायः सबै क्षेत्र ऋणात्मक छन् । सोही वर्ष अर्थात् २०२० मा वैश्विक व्यापार ७.८ प्रतिशत र कुल स्थिर पुँजी २.५ प्रतिशतले ऋणात्मक छन् । सो वर्ष सबैभन्दा बढी ऋणात्मक एफडिआई छ । २०२० मा वैश्विक एफडिआई ४३.७ प्रतिशतले अर्थात् १० खर्ब डलरले ऋणात्मक थियो । तर, २०२१ मा आउँदा बढेर १० खर्ब ५० अर्ब डलर पुग्यो भने २०२२ मा १० खर्ब ३० अर्ब डलरले ऋणात्मक बन्न पुग्यो ।
यसैगरी, विश्व व्यापारको कुरा गर्दा यो वर्ष २.४ प्रतिशको वृद्धि अपेक्षित छ । जुन गत वर्ष ५.१ प्रतिशत, २०२१ मा १०.६ प्रतिशत वृद्धि र २०२० मा ७.८ प्रतिशतले ऋणात्मक थियो ।माथिको तथ्यांकलाई हेर्दा वैश्विक जिडिपीको प्रकृति अन्य बृहत्तर अर्थतन्त्रसँग मिल्दोजुल्दो देखिन्छ, जसले या त ऋणात्मक देखाउँछ, या सुस्त वृद्धिदर । एफडिआईको घटकमा २०२२ राम्रै रह्यो । यसले सबै क्षेत्रको प्रतिनिधित्व गर्ने ठूला बहुराष्ट्रिय कम्पनीको निरन्तरको उच्च लाभलाई दर्साएको छ ।
यो वर्षको दोस्रो त्रैमासमा विकसित अर्थतन्त्रमा एफडिआई प्रवाह ३७ प्रतिशतले घटेर तीन खर्ब ७८ अर्ब डलर पुगेको छ । यो उच्च गिरावट एकमुष्ट लेनदेन र आर्थिक प्रवाहले गर्दा भएको थियो । यसैगरी, विकासोन्मुख अर्थतन्त्रमा एफडिआई प्रवाह चार प्रतिशतले बढेर नौ खर्ब १६ अर्ब डलर पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । यसैगरी, विकासोन्मुख देशमा ग्रिनफिल्ड परियोजना घोषणा ३७ प्रतिशतले बढेको छ भने त्यसको भ्यालु दोब्बर पुगेको छ । यो वृद्धि नवीकरणीय ऊर्जा क्षेत्रमा घोषणा गरिएका अधिकांश मेगा प्रोजेक्टको नतिजा थियो । जसमा १० परियोजनामध्ये पाँचवटा उच्च महत्वका थिए ।
एफडिआई प्रवाह ः सन् २०२२ मा विकसित अर्थतन्त्रको वित्तीय बजारमा गिरावट देखियो । तर, एफडिआईको अस्थिर प्रवाह विकसित बजारमा पनि प्रभाव परेको छ । विशेषगरी, युरोपमा एफडिआईको माध्यम मात्रै बनिरहेको देशको अर्थतन्त्र अस्थिर बन्दा प्रभावित हुन पुग्यो । साथै, लक्जेमबर्गस्थित एमएनई टेलिकम्युनिकेसनले एकसाथ ठूलो पुँजी निकाल्दा एफडिआई प्रभावित भयो । यस्तै, अमेरिकामा एफडिआई प्रवाहमा २६ प्रतिशतले गिरावट आएको छ ।
विकासोन्मुख देशमा वैश्विक प्रत्यक्ष वैदेशिक लगानी समूहगत रूपमा भने बढेको छ । एसियाली विकासोन्मुख देशको एफडिआई २०२१ र २०२२ मा स्थिर ६ खर्ब ६२ अर्ब छ । तर, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको एफडिआई भने ५१ प्रतिशतले बढेको छ । यस्तो एफडिआई २०२१ मा एक खर्ब ३८ अर्ब थियो भने २०२२ को दोस्रो त्रैमाससम्म दुई खर्ब आठ अर्ब डलर पुगेको छ । यसैबीचमा अफ्रिकाको भने ४४ प्रतिशतले घटेको छ । सन २०२१ को ८० अर्ब डलर प्रवाह भएकामा २०२२ मा ४५ अर्ब डलर मात्रै प्रवाह भएको छ ।
विकासोन्मुख देशले विश्वव्यापी एफडिआईको दुईतिहाइभन्दा बढी हिस्सा ओगटेको छ, जुन २०२१ को ६० प्रतिशतभन्दा माथि छ । विशेषगरी खाद्य, ऊर्जा, वित्तीय र कर्जा संकटजस्ता बहुआयामिक संकटले गरिब देशको एफडिआईलाई प्रभावित पारेको देखिन्छ । यसैगरी, कम विकसित देशमा १६ प्रतिशतले गिरावट आएको छ, जुन विश्वव्यापी एफडिआईको दुई प्रतिशत मात्रै हो ।