एउटा ठूलो खर्क थियो । त्यहाँ केही गोठालाले आआफ्ना गाईवस्तु चराउन लगेका थिए । गाईवस्तु खर्कमा चर्न व्यस्त थिए । गोठालाहरू आपसमा रमाइलो गर्दै थिए । चौरमा चरिरहेका पशुचौपायामा केही गाई, गोरु र खसीबोका थिए ।
चौरमा चरिरहेको एउटा गाईको नजिकै खसी पनि चरिरहेको थियो । गाईलाई नजिकै देखेपछि खसीले अनकनाउँदै गाईसित गुनासो गर्यो । गौमाता, हामी दुवैले मान्छेलाई केही न केही दिन्छौँ । तर, तपाईंले भन्दा त मैले नै बढी दिन्छु । किनकि, तपाईं मान्छेलाई थोरै दूध मात्र दिनुहुन्छ । तर, म त आफ्नो जीवन नै दिन्छु । मेरो पूरै शरीर काटेर मान्छेहरू स्वाद लिई–लिई खान्छन् । तैपनि, उनीहरू मलाई पूजा या सम्मान गर्नुको साटो मौका मिल्दा लात्ताले समेत हिर्काउँछन् । तर, तपाईंलाई भने उनीहरू ‘गौमाता’ भन्दै पूजा गर्छन्, ढोग्छन्, सम्मान गर्छन् । मिठो–मिठो खान दिन्छन् । विशेष स्याहारसुसार गर्छन् । यस्तो भेदभाव किन हुन्छ गौमाता ?
खसीको गुनासो सुनेपछि गाईले यसो टाउको उचालेर खसीतिर पुलुक्क हेर्यो र केहीबेर सोचेर भन्यो— कुरा त तिमीले ठिकै गरेका हौ, खसी भाइ ! म थोरै दूध दिन्छु र तिमी पूरै शरीर नै दिन्छौ । तर, हामी दुईको दिनुमा ठुलो अन्तर छ । म जे दिन्छु, जति दिन्छु, त्यो आफू जिउँदो छँदै दिन्छु । तर, तिमी भने पूरै शरीर दिए पनि जिउँदो छँदै होइन, मरेपछि मात्र दिन्छौ । त्यसैले, आफूले अरूलाई जे दिनु छ, जिउँदो छँदै दिन सक्नुपर्छ । मरेपछि केही दिनुको अर्थ छैन ।