१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कन्काईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:४७:oo

झापाको कन्काई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो। नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।

‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ,’ उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु।’

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरू लागेको उहाँको भनाइ छ। चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थले नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ। 

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्री–वितरणकर्तालाई अधिकतम रु. ५० हजार जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए। प्रयोगकर्ताको हकमा भने अधिकतम रु. पाँच हजार जरिवाना तोकिएको छ।

सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन्। 
 

ad
ad