नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ, तर सिराहाका पाँच पालिकाले दीर्घरोगीलाई भत्ता रोक्दै आएका छन्
सिराहा नगरपालिका– १९ सन्हैठाका रामविलास यादव ब्लड क्यान्सरले ग्रस्त छन् । आर्थिक अवस्था कमजोर रहेका रामविलासले औषधोपचार गराउँदै आएका छन् । उनी लामो समयदेखि रोगले थलिएकाले कमाउने मेलो छैन । यस्तोमा दीर्घरोगीलाई सरकारले घोषणा गरेको मासिक पाँच हजार रुपैयाँ भत्ता उनका लागि ठूलो राहत हुने थियो । तर, उनले पटक–पटक प्रयास गर्दा पनि भत्ता पाएका छैनन् ।
सिराहा नगरपालिका– ७ का गंगा कामती पनि क्यान्सरपीडित हुन् । रामविलासले जस्तै कामतीले पनि सरकारले घोषणा गरेको मासिक पाँच हजार भत्ताका लागि धेरैपटक सिराहा नगरपालिका धाए । निकै दौडधुप गरेपछि नगरपालिकाले बैंक खाता खोल्न लगायो । दुई महिना बितिसक्दा पनि खातामा भत्ता आएको छैन ।
लक्ष्मीपुर पतारी गाउँपालिका– ६ का कृष्णा दासको दुवै मिर्गौला काम गर्दैन । अहिले उनी प्रादेशिक अस्पताल सिराहामा डायलाइसिस गराइरहेका छन् । आर्थिक अवस्था कमजोर रहेका दासलाई गाउँबाट सिराहा आउजाउ गर्ने भाडा सधैँ समस्या हुन्छ । दीर्घरोगीलाई दिने मासिक सुविधा दिए उनलाई निकै राहत हुने थियो । तर, लक्ष्मीपुर गाउँपालिकाले उनको भत्ता रोकिदिएको छ ।
यी केही उदाहरण हुन् । सरकारले घोषणा गरेको दीर्घरोगी मासिक भत्ता नपाउने धेरै छन् । सिराहा नगरपालिकामा ४० जना दीर्घरोगी छन् । सिराहा नगरपालिकाले प्राइम बैंकमा सबैलाई खाता खोल्न लगाएको छ । तर, खाताको खोलेको दुई महिना बितिसक्दा पनि नगरपालिकाले भत्ता निकासा गरेको छैन । सरकारले पठाएको रकम पनि पालिकाले नदिएपछि दीर्घरोगी बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा गुहार लगाउने पुगेका छन् । बैंकमा खाता खोल्न लगाएर रकम पठाउन आलटाल गरेपछि आफूहरू प्रशासन गुहार्न पुगेको सिराहा– ११ का दिलीप कामतीले बताए । ‘नगरपालिकामा धेरै दौडधुप गरियो, तर वास्ता भएन,’ कामतीले भने, ‘त्यही भएर सिडियोसाहेबलाई निवेदन दियौँ । अब केही होला कि ।’ दीर्घरोगीका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले दीर्घरोगीका लागि सरकारले घोषणा गरेको भत्ता रोक्न नहुने भन्दै पालिकासँग पहल गर्ने आश्वासन दिएको सिराहा– ६ का सुरेन्द्र यादवले बताए । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इद्रिश राइनले सबै तयारी पूरा भए पनि रकम निकासा हुन नसकेको बताए ।
औषधि खर्च पाँच हजार दिन मन्त्रालयको परिपत्र
सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक पाँच हजार औषधि खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिरामीको औषधि उपचार लामो समयसँग गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुने आर्थिक भार कम गर्न औषधि उपचारबापत खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
०७८ मा संसद्मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले क्यान्सर, मिर्गौला, मेरुदण्डको पक्षघातजस्ता रोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए । यसका निम्ति गम्भीर प्रकारका रोगको औषधि उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ पनि पारित गरिएको थियो । १३ चैत ०७८ मा स्वीकृत गरेको कार्यविधि कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारमा परिपत्र गरिसकेको छ । तैपनि दीर्घरोगीले भत्ता पाएका छैनन् ।
सिराहामा १७ स्थानीय तह छन् । तीमध्ये पाँच स्थानीय तहले दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय कार्यान्वयन गरेका छैनन् । भत्ता नदिनेमा सिराहा नगरपालिका, सुखीपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र भगवानपुर गाउँपालिका छन् । उनीहरूले रकम नभएको बहाना बनाउँदै दीर्घ रोगीलाई सुविधाबाट वञ्चित गर्दै आइरहेका छन् । यसअलावा लाहान नगरपालिकाले ४३, मिर्चैैया नगरपालिकाले १८, गोलबजार नगरपालिकाले ४५, कल्याणपुर नगरपालिकाले २६, धनगढीमाई नगरपालिकाले २८ दीर्घरोगीलाई मासिक पाँच हजारका दरले भत्ता दिने गरेको छ ।