१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Friday, 05 July, 2024
२o८o असार २६ मंगलबार o९:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखराका ६२ प्याराग्लाइडिङ कम्पनी मध्ये २६ मात्रै महानगरमा दर्ता 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार o९:२५:oo
  • नवीकरण गर्दैनन्, पर्यटन शुल्क तिर्दैनन्  
  • साढे दुई करोड कर उठ्ने आकलन 

पोखरामा सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरू नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको छ । आर्थिक वर्ष ०७१/७२ मा प्याराग्लाइडिङ कम्पनीहरू दर्ता भएर आव ०७५/७६ सम्म नवीकरण गरेका छन्, तर त्यसपछि पोखरा महानगरपालिकालाई पछिल्लो तीन वर्षदेखि नवीकरण शुल्क तिर्न अटेर गरेका छन् । त्यस्तै उनीहरूले प्रदेश सरकारले तोकेको पर्यटन शुल्कसमेत बुझाएका छैनन् । प्याराग्लाइडिङ कम्पनीले कर र पर्यटन शुल्क नतिरेको पाएपछि महालेखा परीक्षकको कार्यालयले समेत असुल गर्न महानगरलाई भनेको छ । कम्पनीहरूबाट कम्तीमा पनि साढे दुई करोड कर संकलन हुने महानगरको आकलन छ । 

महालेखा भन्छ– व्यवसाय नवीकरण गराऊ, कर असुल गर
महानगरपालिको आर्थिक ऐन, २०७८ को दफा १२ बमोजिम अनुसूची १४ मा अल्ट्रालाइट फ्लाइटले वार्षिक व्यवसाय शुल्क एक लाख बुझाउनुपर्ने उल्लेख छ । साथै, महानगरपालिका क्षेत्राधिकारभित्रको व्यवसायी करको दायरामा ल्याउनुपर्ने व्यवस्था छ । त्यसैगरी, प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची ४ मा प्याराग्लाइडिङबापत विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने शुल्कको ५ प्रतिशत रकम पर्यटन शुल्क बुझाउनुपर्ने व्यवस्था छ । पोखरा महानगरभित्र ६२ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहे पनि २६ वटा मात्र दर्ता भएका छन् । दर्ता भएका कम्पनीहरूले पनि नवीकरण शुल्क, पर्यटन शुल्क नबुझाएको पाएपछि महालेखाले उनीहरूबाट एक लाख १५ हजारका दरले कर असुल गर्न भनेको छ ।

प्याराग्लाइडिङ व्यवसायीले व्यवसाय नवीकरण नगरेपछि पोखरा महानगरले ०७५ सालमा उडानमा रोक लगाएको थियो । त्यस समय ६० कम्पनी दर्ता रहेकामा ५६ वटाको कार्यालय पोखरामा थिए । माउन्ट भ्यु प्याराग्लाइडिङले मात्रै कर बुझाएको थियो ।  त्यस समयमा आव ०७२/०७३ को ५५ सय, ०७३/०७४ को ५५ सय, ०७४/०७५ को ५० हजार र ०७५/०७६ को २५ हजार गरी प्रत्येक कम्पनीले नवीकरणबापत ८६ हजार नगरपालिकालाई तिर्नुपर्ने  कायम गरिएको थियो । कायम शुल्क केही कम्पनीले तत्काल तिरे पनि केहीले साताभित्र तिर्ने वाचा गरेपछि महानगरले चैत पहिलो सातादेखि उडान गर्न दिएको थियो । ०७५ चैतभित्र नवीकरण गर्नेलाई थप पाँच हजार, ०७६ वैशाखमा आउनेलाई १० हजार र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिई नवीकरण गर्ने र ०७६ असारसम्म नवीकरण नगर्ने कम्पनीलाई उडान रोक्ने निर्णय भएको थियो ।    

प्रदेशलाई पर्यटक शुल्क तिरेनन्  
गण्डककी प्रदेश सरकारले आव ०७६ देखि प्रत्येक प्याराग्लाइडिङ कम्पनीलाई पर्यटन शुल्कबापत एक लाख शुल्क तोकेको छ । नवीकरणबापतको सबै रकम महानगरको खातामा जम्मा हुने र पर्यटन शुल्कबापत उठाएको रकमको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेश सरकारको हुने ऐनमा व्यवस्था छ । तर, व्यवसायीहरूले प्रदेश सरकारलाई बुझाउनुपर्ने सो शुल्कसमेत हालसम्म बुझाएका छैनन् । प्रदेश सरकारले कम्पनीसँग पर्यटक शुल्कबापत रकम लिने भएपछि महानगरले तेकेको नवीकरण शुल्क ०७४/०७५ मा ५० हजार रहेकोमा त्यसलाई घटाएर ०७५/०७६ मा २५ हजार बनाएको थियो । 

शुल्क ५० प्रतिशत बढ्यो
असार दोस्रो सातादेखि पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क ५० प्रतिशत बढेको छ । आठ हजार रहेको शुल्क बढाएर १२ हजार पु¥याइएको छ । विमानस्थल सञ्चालनपछि प्याराग्लाइडिङ उडान मान्द्रेढुंगाबाट सञ्चालन गर्नुपर्दा खर्च बढेकाले रकम वृद्धि गरिएको नाका अध्यक्ष भट्टराईले बताए । 

अध्यक्षकै कम्पनी विनादर्ता 
प्याराग्लाइडिङ व्यवसायीहरूको संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्षले समेत महानगरपालिकामा दर्ता र नवीकरण नगरी, कर नतिरी कम्पनी सञ्चालन गरिरहेका छन् । ब्लु होराइजन नामक कम्पनी सञ्चालन गर्दै आएका अध्यक्ष सुनीलबहादुर भट्टराईले शुल्क नतिरी सञ्चालन गरिरहेका छन् । 

वार्षिक डेढ लाखले गर्छन् प्याराग्लाइडिङ उडान   
प्याराग्लाइडिङ व्यवसायीहरू नेपाल हवाई खेलकुद संस्था (ना)मा आबद्ध भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराइका अनुसार धेरै उडान हुँदा दिनमा १३ सय र कम हुँदा करिब तीन सय व्यावसायिक उडान हुन्छन् । वार्षिक रूपमा एक लाख ५० हजारको हाराहारीमा उडान हुने उनले बताए । विगत २८ वर्षदेखि प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि सारङकोट र तोरीपानीसँगै मान्द्रेढुंगा र तामागीलाई जोनका रूपमा कायम गर्दै सञ्चालन हुँदै आएको थियो ।  विमानस्थल सञ्चालनमा आएपछि भने मान्द्रेढुंगाबाट मात्र हुँदै आएको छ । 

असोजसम्म नतिरे उडान रोक्छौँ : धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका

प्याराग्लाइडिङ व्यवसाय दर्तासँगै र आवश्यक कर तिर्ने सम्बन्धमा व्यवसायीसँग छलफल भइरहेको छ । आर्थिक ऐनमा व्यवस्था गरेर चालू आर्थिक वर्षबाट एउटा प्याराग्लाइडिङ कम्पनीसँग वार्षिक २० हजार लिने गरी व्यवस्था गरिएको छ । सो रकम सबै कम्पनीले अनिवार्य तिर्नुपर्छ । पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ १८ नै वडाबाट २४ मा सारिएको छ । नयाँ ठाउँमा जान महानगरले बाटो बनाउनेदेखि व्यवसायीलाई उपकरण खरिदमा सहयोगसमेत गरेको छ । महानगरले प्याराग्लाइडिङ व्यवसायका लागि सहयोग गर्ने, तर व्यवसायीहरूले महानगरमा दर्ता नगर्ने र कर नतिर्ने भन्ने कुरा आउँदैन । असोजसम्मका लागि समय दिएका छौँ, त्यसवेलासम्म नतिरे सञ्चालन रोक्छौँ ।

शुल्क बढी भएकाले नतिरेका हौँ  : सुनीलबहादुर भट्टराई, अध्यक्ष, नेपाल हवाई खेलकुद संस्था   

अन्य व्यवसायको तुलनामा प्याराग्लाइडिङ कम्पनीलाई तोकिएको शुल्क बढी छ । ०७६ सालदेखि महानगरमा लिखित रूपमा शुल्क घटाउन अनुरोध गर्दै आएका छाैँ । यस वर्षबाट महानगरले आर्थिक ऐनमा व्यवस्था गरेर शुल्क २० हजार बनाएको छ । केही दिनमा हामी सबै व्यवसायीले तिर्नुपर्ने शुल्क तिर्छाैँ । पोखरामा हाल ६२ वटा कम्पनी दर्ता रहेकामा ५२ वटा सञ्चालनमा छन् । महालेखाले तिर्नुपर्ने रकम देखाउँदा सबै कम्पनीको देखाउनुपर्ने थियो किन २६ कम्पनीको मात्र देखायो ? त्यसको कारणसमेत खोजी गरिरहेका छौँ ।

ad
ad
ad
ad