कानुनको छिद्र प्रयोग गर्दै विमानस्थलबाट तस्करी भइरहेको प्रहरी अनुसन्धानमा खुल्यो
कतारबाट मात्रै प्रत्येक महिना कम्तीमा ७० किलो सुन तस्कर भएर नेपाल आउने गरेको खुलेको छ । तस्करले उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
सरकारले वैदेशिक रोजगारमा गएका मजदुरलाई ५० ग्रामसम्म सुन ल्याउन अनुमति दिएको छ । कानूनको सोही छिद्र प्रयोग गरेर तस्करले कतारबाट मात्रै प्रति महिना कम्तीमा ६७ किलो पाँच सय ग्राम सुन नेपाल भित्र्याउने गरेको खुलेको हो । सुन भित्र्याउँदै गरेका पाँच भरियासहित कारोबारमा संलग्न अन्य ११ अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो ।
वैदेशिक रोजगारीबाट घर फर्किएका नेपालीलाई तस्करीमा प्रयोग गरेको पाइयो : एसएसपी डा. मनोज केसी, प्रमुख काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
कानुनको छिद्र प्रयोग गर्दै कतारबाट नियमित रूपले सुन तस्करी भइरहेको पाइएको छ । तस्करहरूले यसका लागि वैदेशिक रोजगारबाट नेपाल फर्किएका मजदुरलाई प्रयोग गर्ने गरेको देखिन्छ । उनीहरूले प्रत्येक महिना कम्तीमा ७० किलो सुन विमानस्थलबाट नेपाल भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले कतारबाट मात्रै प्रत्येक महिना कम्तीमा ७० किलो सुन तस्कर भएर नेपाल आउने गरेको बताए । कतार–नेपाल प्रत्येक दिन तीनवटा उडान हुने गर्छ । प्रहरीका अनुसार उडान भर्ने प्रत्येक जहाजमा तस्करले कम्तीमा १५ जना मजदुरलाई ५० ग्रामका दरले सुन पठाउँछन् । यस आधारलाई आधार मान्दा १५ मजदुरले एउटा फ्लाइटबाट मात्रै तस्करको सात सय ७५ ग्राम सुन लिएर नेपाल आउँछन् ।
तीनवटा फ्लाइटबाट सोही दरमा तस्कर गर्दा महिनामा कम्तीमा ६७ किलो पाँच सय सुन नेपाल भित्रिने गरेको प्रहरीको भनाइ छ । प्रहरीले तस्करको सुन लिएर नेपाल आएका नरेश पन्जियार, दिनेशकुमार यादव, भुमबहादुर ओली, सुनिलकुमार महरा र सन्त गुलाम मुरावलाई आइतबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरूबाट प्रहरीले तस्करले पठाएको दुई सय ९० ग्राम सुन बरामद गरेको थियो । सोही क्रममा प्रहरीले बिमानस्थलबाट सुन बुझ्ने र बिक्री गर्ने विनोदकुमार साह, सन्जुकुमारी साह, दुर्गाप्रसाद यादव, निमाई साह, देवनन्दन साह र शिवसुन्दर राउतलाई पनि पक्राउ गरेको छ ।
चार वर्षमा साढे दुई अर्बको कारोबार
तस्कर गरी ल्याएको सुन सप्तरीको बलान–बिहुल गाउँपालिका– २ की २५ वर्षीया सन्जुकुमारी साहले विमानस्थलको पार्किङमा पुगेर बुझ्थिन् । केही सुन बागबजारस्थित सुर्पना ज्वेलर्सका सञ्चालक निमाइ साहलाई बेच्थिन् । र, रकम ‘नेपाल नेक्सस’का मुख्य एजेन्ट रहेका सिराहा लहान– ४ का शिवसुन्दर राउतलाई पठाउँथिन् । त्यसबापत उनले निश्चित कमिसन बुझ्थिन् । सप्तरीकै बलान–बिहुला– ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव र बोदे बसाइन– १ का २८ वर्षीय देवानन्द साहले पनि सुन बुझ्थे । बिक्री भएको रकम राउतको बैंक खातामा दाखिला गरिदिन्थे । राउतले जम्मा भएको रकम रेमिटमार्फत कतारमा रहेका तस्करलाई पठाउँथे । यसका लागि उनले लाहानमा ‘आई पे रिमिट’ खोलेका थिए । उनले लाहानमा ‘रितेश जनरल स्टोर’ पनि खोलेका थिए ।
प्रहरीका अनुसार उनको बैंक खाता विश्लेषण गर्दा चार वर्षयता एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रूपैयाँ कारोबार भएको देखिन्छ । जसमध्ये एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ८७ रुपैयाँ ‘रितेश जनरल स्टोर’को नाममा खोलिएको बैंक खाताबाट र बाँकी १२ करोड ११ लाख ४२ हजार चार सय आठ रुपैयाँ ‘आई पे रिमिट’बाट भएको देखिन्छ । त्यसबाहेक ४१ करोड ५४ लाख ७६ हजार ८६९ रूपैयाँ बिनोदकुमारको बैक खाताबाट कारोबार भएको देखिन्छ ।
तस्करको सुन बिक्री गरी रकम बाँडफाँट गर्नेमध्ये उनी दोस्रो मुख्य एजेन्ट हुन् । त्यस्तै, मोहनकुमारको बैंक खाताबाट ४८ लाख ७० हजार ६ सय ८७ रुपैयाँ र सन्जुकुमारीको बैँक खाताबाट दुई करोड १० लाख २७ जहार चार सय ९७ रुपैयाँ कारोबार भएको देखिन्छ । चार वर्षको अवधिमा उनीहरूबाट मात्रै दुई अर्ब ३७ करोड ८२ लाख ३६ हजार पाँच सय ४९ रुपैयाँको कारोबार भएको अनुसन्धानबाट देखिएको छ ।