१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Friday, 05 July, 2024
मन्सुर मिरोभालेभ
२o८o असार २५ सोमबार ११:३३:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

वाग्नर–रुस मध्यस्थतापछि बढेको लुकासेन्कोको कद

Read Time : > 4 मिनेट
मन्सुर मिरोभालेभ
नयाँ पत्रिका
२o८o असार २५ सोमबार ११:३३:oo

उसो त बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को परिचयमा ‘मध्यस्थता’को परिचय प्रायः जोडिँदैन । ‘युरोपको अन्तिम तानाशाह’ भनेर चिनिने लुकासेन्कोले देशभित्र आफ्ना आलोचक र विरोधीलाई हिंसात्मक रूपमा दमन गरेको इतिहास छ । यसले उनी निरन्तर मानवअधिकार समूहको आलोचनाको निसानामा पर्ने गर्छन् । त्यसैले जब लुकासेन्कोले छिमेकी रूसमा उठेको वाग्नर विद्रोहलाई साम्य पार्न मध्यस्थताको भूमिका निभाए भन्ने खबर बाहिरियो, तब धेरैको मुख्य जिज्ञासा यसबाट उनले के फाइदा उठाउने सोचेका छन् भन्ने थियो । 

पहिलो फाइदा त लुकासेन्कोका प्रमुख राजनीतिक तथा आर्थिक संरक्षक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उनको महत्व कम नरहेको सन्देश प्रवाह भयो । ‘अरू केही नभए पनि उनले आफू अझै रुसका लागि उपयोगी भएको प्रमाणित गरेका छन् । र, बारम्बार त्यही उपयोगिता देखाउन सकेकै कारण नै उनी अहिलेसम्म मिन्स्कको सत्तामा कायम छन्,’ वाग्नर समूहका संस्थापक येभगेनी प्रिगोजिनबारेमा पुस्तक लेख्ने अमेरिकी लेखक जोन लेचनरले टिप्पणी गरे ।

प्रिगोजिन र उनका भाडाका सेनालाई आफूप्रति आश्रित बनाएर लुकासेन्को हजारौँ अनुभवी भाडाका सेनाको साथ पनि सुनिश्चित गर्न सफल भएका छन् । ‘यदि प्रिगोजिनले आगामी दिनमा बेलारुसलाई मुख्य वासस्थान बनाए र त्यहाँबाट वाग्नर वा यस्तै अन्य भाडाको फौजको नेतृत्व गरे भने यसले लुकासेन्कोको राजनीतिक प्रभाव बढाउँछ । उनीसँग आवश्यक परेका वेला प्रयोग गर्न सकिने आफ्नै निजी सेना हुनेछ,’ जर्मनीको ब्रेमेन विश्वविद्यालयका निकोले मित्रोखिनले बताए । 

बेलारुसी अधिकारीले रुसी सीमानजिक मोगिलेभ क्षेत्रको जंगलमा आठ हजार वाग्नर पुरुष लडाकुका लागि शिविर निर्माण गर्न थालेको भेस्र्टका न्युज पोर्टलले विशेष रिपोर्ट प्रस्तुत गरेको थियो । यो स्थान बेलारुसी राजधानी मिन्स्कबाट मात्र १०० किलोमिटर दक्षिण–पश्चिम र युक्रेनी सिमानाबाट २०० किमि उत्तरतर्फ छ । रुसको वाग्नर विद्रोह साम्य बनाउन सघाएर लुकासेन्कोले पुनः उनी सोचिएभन्दा बढी काम गर्न सक्ने देखाएका छन् । ‘उनले पूर्वसोभियत राष्ट्रका नेतालाई आफू अझै पनि द्वन्द्व समाधान गर्न सक्ने वा कम्तीमा न्यूनीकरण गर्न सक्ने मध्यस्थकर्ता भएको देखाएका छन्,’ मित्रोखिनले भने । 

दुई साताअघि जुन २३ मा वाग्नर विद्रोहीहरू मस्को कब्जा गर्ने भन्दै रोस्तोभ–अन–दोनबाट अघि बढ्न सुरु गरेका थिए । विद्रोहीहरू मस्को पुगेका भए, त्यो रुसी इतिहासको सबैभन्दा खराबमध्ये एक दिनको रूपमा दर्ज हुन सक्थ्यो । वाग्नर प्रमुख प्रिगोजिनले रुसी रक्षा मन्त्रालयको नेतृत्वमा युक्रेनमा अवस्थित वाग्नर फौजका शिविरमा आक्रमण भएको र आफूहरूलाई नियमित रुसी सेनाको हिस्सा बन्न बाध्य पार्न ३० लडाकु मारेको आरोप लगाउँदै विद्रोह सुरु गरेका थिए ।

बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले रुसमा  वाग्नर विद्रोहलाई साम्य पार्न ‘मध्यस्थताको’ भूमिका निभाएका थिए, धेरैले उनको असली उद्देश्य जान्ने प्रयास गरिरहेका छन् 
 

वाग्नर समूहले विद्रोहको सुरुमै रुसको दक्षिणी सहर रोस्तोभ–अन–दोन कब्जा गरेको थियो । प्रिगोजिनले त्यहाँबाट उनका लडाकुलाई मस्कोतर्फ अघि बढ्न आदेश दिए । पुटिनले लगत्तै प्रिगोजिनलाई ‘देशद्रोही’को संज्ञा दिए पनि उनीसमेत राजधानी मस्कोबाट सुरक्षित स्थानतर्फ लागेको बताइन्छ । उता वाग्नर फौज लगभग निर्बाध रूपमा मस्कोतर्फ अघि बढिरहेका थिए । यस क्रममा उनीहरूले बाटोमा केही लडाकु विमान खसालेको र तिनका केही पाइलट मरेको विश्वास गरिन्छ । 

वाग्नर समूह आबद्ध लडाकु मस्कोबाट करिब २०० किलोमिटर दक्षिणसम्म पुगिसकेको थियो । र विद्रोही फौज सन् १८१२ मा नेपोलियनको सेनापछि पहिलोपटक यस सहर प्रवेश गर्ने आक्रमणकारी शक्ति बन्न पूर्ण रूपमा सक्षमजस्तै देखिएको थियो । तर, अचानक दृश्यमा लुकासेन्कोले प्रवेश गरेको खबर आयो र बेलारुसी प्रेसले ‘परिस्थितिको शान्तिपूर्ण समाधान गर्न पूर्णतः लाभप्रद र स्वीकार्य विकल्प फेला पारेको’ घोषणा गरे ।

लुकासेन्कोले मध्यस्थता गरेको सम्झौताका बुँदा सरल थिए– पुटिनले प्रिगोजिन र उनका फौजविरुद्ध विद्रोहको आरोप खारेज गरिदिने, वाग्नर फौज मस्कोतर्फको अभियानबाट पछि हट्ने र बेलारुसले समूहको प्रमुखलाई आश्रय दिने । सम्झौतापछि टिप्पणी गर्दै पुटिनले वाग्नर लडाकुहरूले रक्षा मन्त्रालयअन्तर्गत काम गर्ने, घर फर्किने वा बेलारुस जानेमध्ये कुनै एक विकल्प छनोट गर्न सक्ने बताए । ‘गम्भीर गल्ती महसुस गर्ने रुसी योद्धाले यीमध्ये एक छनोट गर्नेछन् भन्ने मेरो विश्वास छ,’ पुटिनले भने । सम्झौता लुकासेन्को र प्रिगोजिनबीचको कैयौँपटकको फोनकलपछि सम्पन्न भएको थियो । ‘वार्ता जटिल थियो, तर तिनले छिटै आफूले गम्भीर गल्ती गरेको महसुस गरे,’ लुकासेन्को समर्थक विश्लेषक वादिम गिगिनले टेलिभिजन टिप्पणीमा भने ।

प्रिगोजिन विधिमा बाँधिने व्यक्ति भने होइनन् । उनी न रुसी, न अन्तर्राष्ट्रिय कानुनप्रति नै सम्मान देखाउँछन् । प्रिगोजिनको नेतृत्वमा खडा गरिएका ‘ट्रोल फार्म’ले कथित रूपमा नक्कली खाता वा वास्तविक अमेरिकी खाताधारीको पहिचान चोरेर सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोप छ । प्रिगोजिनका भाडाका सैनिकमाथि युद्धमैदानमा ‘देशद्रोही’लाई हतौडाले हानेर मार्ने गरेको र त्यो कृत्यको भिडियो खिच्ने गरेकोजस्ता युद्ध अपराधको आरोप छ । वाग्नर लडाकुकै सहयोगले सिरियाली राष्ट्रपति बसर अल–असद उनको देशको अधिकांश भाग पुनः नियन्त्रण गर्न सफल भएका थिए । त्यस सफलतापछि यी सैनिक लिबिया र धेरै उपसहारा अफ्रिकी राष्ट्रमा सञ्चालित हुन थाले ।

अफ्रिका प्रिगोजिनको किल्लाको रूपमा विकास भएको छ, जहाँ उनका हजारौँ लडाकु सक्रिय छन् । अफ्रिकाका कैयौँ देशका शीर्ष सरकारी अधिकारी र त्यहाँका सुन, हिरा, काठ तथा हतियारको व्यापारलाई सुरक्षा सेवा दिएर यस समूहले ठूलो रकम कमाइरहेको वाग्नरको गतिविधिमाथि निगरानी गर्ने फ्रेन्च समूह ‘अल आइज अन वाग्नर’ले बतायो । एक पूर्ववरिष्ठ वाग्नर कमान्डरले मध्यअफ्रिकी गणतन्त्रमा स्थायित्व ल्याउन प्रिगोजिनको भूमिकाको प्रशंसा गर्दै त्यहाँको जनसंख्या रुसी भाडाका सैनिकको उपस्थितिप्रति पूर्णतः उत्साहित रहेको बताए । ‘केन्द्र सरकारले वाग्नरको सहयोगमा सुरक्षा बढाएकाले मानिसहरू मारिने खतराविना सुरक्षित रूपमा घुम्न सक्ने भएका छन्,’ फ्रान्स भागेर दुईवटा पुस्तक लेखेका मारात गाबिदुलिनले भने ।

प्रिगोजिनको अफ्रिकी सम्बन्ध लुकाशेन्कोको लागि चीनसँगको सम्बन्ध विस्तारको दृष्टिले पनि उपयोगी हुन सक्छ । चीनले पहिले नै व्यापार र ऋण गरेर बेलारुसमा अर्बाैं डलर लगानी गरिसकेको छ । प्रिगोजिन र उनको वाग्नर फौज बेलारुसबाट सञ्चालित भयो भने बेइजिङले अफ्रिकामा उसको प्रभाव विस्तार परियोजनाका लागि बेलारुससँग सम्बन्ध सहज बनाउनुपर्ने हुनसक्ने किभमा बस्ने बेलारुसी विश्लेषक इगार टिस्केभिचले भने । वाग्नरको ट्रोल फार्म शाखाले धेरै सफल मिडिया आउटलेट र टेलिग्राम च्यानल चलाउने गर्छ । र, लुकासेन्कोले यस विशेषज्ञतालाई पनि आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्छन् । विपक्षीविरुद्ध आफैँले सञ्चालन गर्दै आएको बेलारुसी प्रोपगान्डाको असफलतापछि, लुकासेन्कोलाई वाग्नरको प्रतिभाहरू आवश्यक पर्न सक्ने टिस्केभिचले भने । 

तथापि दीर्घकालमा प्रिगोजिनको बेलारुस बसाइले लुकासेन्कोलाई नकारात्मक असर गर्न सक्छ । प्रिगोजिन र पुटिनका सैन्य सहयोगीबीच भविष्यमा हुने कुनै पनि द्वन्द्वले लुकासेन्कोलाई असर गर्नेछ । कुख्यात युद्ध अपराधीलाई आश्रय दिएर लुकासेन्कोले पश्चिमसँगको सम्बन्ध पुनस्र्थापित गर्ने कुनै पनि मौका गुमाइसकेका छन् । ‘लुकासेन्कोले पहिलेझैँ सामरिक रूपमा त जित हासिल गरेका छन्, तर रणनीतिक रूपमा भने उनी पहिलेभन्दा खराब अवस्थामा खस्किएका छन्,’ टिस्केभिचले निष्कर्ष निकाल्दै भने ।

रुस–बेलारुसबीच ‘संघ राज्य’ स्थापनाको दशकौँअघिको प्रयास
विगत तीन दशकको अवधिमा लुकासेन्कोले थोरै–थोरै गर्दै मस्कोलाई बेलारुसी स्वतन्त्रता हस्तान्तरण गर्दै गएको आलोचकहरू आरोप लगाउँछन् । त्यसको बदलामा उनले पश्चिमी प्रतिबन्धविरुद्ध राजनीतिक ढाल पाएका छन्, सहुलियतपूर्ण ऊर्जा आपूर्ति र अन्य आर्थिक सुविधाका रूपमा । तथापि लुकासेन्को आफैँले पनि आवश्यकताभन्दा धेरै स्वतन्त्रता हस्तान्तरण नगर्न चतुरता देखाउँदै आएका छन् ।

रुसलाई बेलारुसमा आणविक क्षेप्यास्त्र तैनाथ गर्न दिनु र युक्रेनमा आक्रमण गर्न आफ्नो क्षेत्र प्रयोग गर्न दिनु तर आफ्नो सेनालाई युद्धमैदानमा पठाउन अस्वीकार गर्नु यसैको एक दृष्टान्त मानिन्छ । उनले पूर्व सोभियत संघका सदस्यबीचको सबैभन्दा ठूलो एकीकरण परियोजना पनि पूरा गरेनन् ।

सन् १९९० को दशकको उत्तरार्धमा लुकासेन्को र तत्कालीन रुसी राष्ट्रपति बोरिस येल्तसिनले तिनका राष्ट्रहरू रुस र बेलारुसलाई एउटै ‘संघ राज्य’ बनाउने सहमति जनाएका थिए । येल्तसिनको खराब स्वास्थ्य र मदिरापानप्रतिको लगावलाई ध्यान दिँदै लुकासेन्कोले येल्तसिन छिटै सत्ता सम्हाल्न नसक्ने अवस्थामा पुग्ने र दुवै राज्यको नेतृत्व आफूले गर्न पाउने आशा गरेका थिए । तर, येल्तसिनले रुसी राज्यको नेतृत्वको उत्तराधिकारीमा पुटिनलाई चुने । त्यसपछि लुकासेन्कोले रुस–बेलारुसबीचको एकतालाई रोके । लुकासेन्कोले फेरि रसियामा आफ्नो प्रभाव स्थापित गर्न प्रिगोजिनलाई प्रयोग गर्न सक्छन् । ‘लुकासेन्कोका लागि अहिलेको संकट रूसमाथिको प्रभावको पुनर–ताजगी गर्ने अवसर हो, जसरी सन् १९९० को दशकको उत्तरार्धमा ‘संघ राज्य’ परियोजनामार्फत उनले प्रयास गरेका थिए ,’ किभमा बस्ने विश्लेषक अलेक्से कुस्चले भने ।
(अल जजिराका लागि  मिरोभालेभको विश्लेषण)
 

ad
ad
ad
ad