नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका वेला भारतीय गुप्तचर प्रमुखसँग भेटेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे। अध्यक्ष ओलीले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए।
भारतीय गुप्तचर प्रमुख नेपालमा आएका वेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताउँदै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको दाबी गरे।
उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटे, मैले सार्वजनिक श्परमा भेटेँ, कुरा गरेँ, यसपटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनुभयो। मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन। मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो। जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार गर्न सक्नुहुन्न उहाँ।’
अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताए।
उनले सत्तागठबन्धनले देशका हितहरूलाई जन्मदिनको केकझैँ काटेको आरोप लगाए। राष्ट्रपतिबाट संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण भएको बताउँदै उनले वर्तमान सत्तागठबन्धन सत्ताको उन्मादमा रुमल्लिएको र राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्षपोषण गरेको आरोप लगाए।
अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवासलगायतका अनियमितताका घटनाहरूको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताए।