प्राविधिक विषयमा उच्च जिपिए ल्याउने बढे, प्रयोगात्मक परीक्षा नहुँदा गणितको नतिजा भने कमजोर
- गणितमा सबैभन्दा कमजोर नतिजा, ई ग्रेड आउने डेढ लाख
- कम्प्युटर साइन्समा फड्को
- जिपिए ४.० ल्याउनेको नतिजा समीक्षा गरिने
०७९ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजामा गत वर्षभन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार यो वर्ष उच्च जिपिए ल्याउनेको संख्या बढेको हो ।
०७८ मा जिपिए ३.६० देखि ४.० सम्म ल्याउनेको संख्या नौ हजार ६ सय ३३ (१.९४ प्रतिशत) रहेकोमा ०७९ मा सोही जिपिए ल्याउनेको संख्या २२ हजार चार सय ७५ (४.६३ प्रतिशत) पुगेको छ । त्यस्तै, ०७८ मा जिपिए ३.२ देखि ३.६० सम्म ल्याउनेको संख्या ४१ हजार ६ सय २७ (८.४० प्रतिशत) रहेकोमा ०७९ मा ५५ हजार ६९ (११.३६ प्रतिशत) पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ०७८ मा कोभिड महामारीका कारण पनि पढाइमा असर परेको दाबी गर्दै यसपालि सन्तोषजनक नतिजा आएको दाबी गरे ।
तर, कोभिडको खास प्रभावित वर्ष ०७६ र ०७७ मा भने सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर उपलब्ध गराएका कारण उच्च जिपिए ल्याउने अझै धेरै थिए । यी वर्षको नतिजालाई अन्य वर्षसँग तुलना गर्नु उचित नहुने शर्मा बताउँछन् ।
‘०७९ मा राम्रो नतिजा आउनुको कारण पढाइ चुस्त भएरै हो । स्तरीकृत परीक्षाका कारण पनि नतिजा राम्रो आयो,’ उनले भने, ‘०७८ मा कोरोनाका कारण पठनपाठन अवरोध भएको थियो । कोभिडको ह्याङ पनि विद्यार्थीमा थियो ।’
गत चैत १७ देखि २९ गतेसम्म भएको एसइई परीक्षामा देशभरका १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार ६ सय ७४ जना थिए । कक्षा नौदेखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी थिए ।
शिक्षाविद् तुलसी थपलियाले प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तहमा रहेको बताए । यसलाई सहज बनाउनतर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको सुझाव छ । ‘यसपटक समग्रतामा केही सुधार भएको कुरा राम्रो हो । अझै सुधार गर्दै लैजानुपर्छ,’ उनले भने, ‘परीक्षामा असफल हुने विद्यार्थीलाई पनि ध्यान दिनुपर्छ । लगानी र स्रोतसाधनको परिचालन सहज बनाउन आवश्यक छ । राम्रो गर्ने विद्यालयलाई प्रोत्साहन गर्न पनि आवश्यक छ । प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तह हो ।’
शैक्षिक अभियन्ता मिलन पाण्डे भने एसइईको माक्र्सलाई ठूलो बनाएर विद्यार्थीमा त्रास थप्न जरुरी नभएको बताउँछन् । ‘एसइईका उत्तरपुस्तिका चेकजाँच नै मलाई त्यति ठीक लाग्दैन । शिक्षा नीतिअनुसार कक्षा १० को परीक्षा केही होइन । यसको माक्र्स केही उपयोगी भएजस्तो मलाई लाग्दैन । हामीले यसलाई ठूलो बनाएर विद्यार्थीमा भय थपिरहेका छौँ,’ उनले भने, ‘त्यसैले एसइईको नतिजा हेरेर विद्यार्थीले आफूलाई मापन गर्नुहुँदैन ।’
प्रयोगात्मक परीक्षा नहुँदा गणितमा सबैभन्दा कमजोर नतिजा, ई ग्रेड आउने डेढ लाख
यसपालिको एसइईमा सबैभन्दा कमजोर नतिजा गणितमा आएको छ । कुल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीमध्ये एक लाख ५५ हजार चार सय ५९ को गणितमा ई ग्रेड आएको छ । डी ग्रेड ल्याउने ४९ हजार आठ सय १० छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुन्छ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् । ०७८ मा गणितमा ग्रेड ई ल्याउनेको संख्या एक लाख ८८ हजार ९४ थियो ।
‘हाल कक्षा १० को अनिवार्य गणित विषयमा प्रयोगात्मक परीक्षा छैन,’ बोर्ड अध्यक्ष शर्माले भने, ‘सोही कारण विद्यार्थीको सिकाइ कम हुँदा गणितमा नतिजा पनि कमजोर आयो । डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षा पढ्न कठिन हुन्छ ।’ अन्य विषयमा प्रयोगात्मक परीक्षाको २५ नम्बर तोकिएको छ । यस्ता विषयमा उच्च जिपिए ल्याउने धेरै छन् ।
गणितपछि ऐच्छिक विषयतर्फ अर्थशास्त्रमा पनि उच्च जिपिएमा कमजोर नतिजा आएको छ । यो विषयमा दुई लाख ४२ हजार दुई सय ७९ ले परीक्षा दिएकोमा ९७ हजारको नतिजा ग्रेड डी र ई छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ग्रेड ई ल्याउने पाँच हजार आठ सय ८४ छन् । बोर्ड अध्यक्ष शर्माले जिपिए न्यून ल्याएका विद्यार्थीका लागि बोर्डले ग्रेड वृद्धि परीक्षा साउनको अन्तिममा गर्ने बताए ।
कम्प्युटर साइन्समा फड्को, ए प्लस ल्याउने कुन विषयमा कति ?
यो वर्ष ऐच्छिक विषय कम्प्युटर साइन्समा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको संख्या ठूलो छ । कम्प्युटर साइन्समा ३१ हजार आठ सय ७२ ले ए प्लस ल्याएका छन् । यो विषयमा यति धेरै अंक प्राप्त भएको पहिलोपटक हो । ०७८ मा कम्प्युटर साइन्समा २५ हजार आठ सय ४० परीक्षार्थीले ए प्लस ल्याएका थिए ।
त्यस्तै, यसपालि गणितमा १९ हजार तीन सय ३० ले ए प्लस ल्याएका छन् । अनिवार्य अंग्रेजीमा १७ हजार ६ सय २९, विज्ञानमा नौ हजार पाँच सय ७३, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा २२ हजार पाँच सय ७४ विद्यार्थीले ए प्लस ल्याएका छन् ।
ऐच्छिक विषय अफिस म्यानेजमेन्ट र एकाउन्टमा २२ हजार ८८ ले ए प्लस ल्याएका छन् । साधारणतर्फका अनिवार्य विषयमध्ये नेपालीमा सबैभन्दा कम तीन हजार पाँच सय ४० ले ए प्लस ल्याएका छन् । यो गत वर्षभन्दा बढी भए पनि अन्य विषयको तुलनामा कमजोर हो । गत वर्ष एक हजार आठ सय चारजनाले मात्र अनिवार्य नेपालीमा ए प्लस ल्याएका थिए । त्यस्तै, सामाजिकमा दुई हजार तीन सय ९७ जनाले ए प्लस ल्याएका छन् ।
जिपिए ४.० ल्याउनेको नतिजा समीक्षा गरिने
राष्ट्रिय परीक्षा बोर्डले एसइईमा सबैभन्दा उच्च अंक ४.० जिपिए ल्याउनेको नतिजा पुनरावलोकन गरिने बताएको छ । सबैभन्दा राम्रो नतिजा ल्याएका विद्यालयको सुधार अन्य विद्यालयमा पनि लागू गर्न पुनरावलोकन गरिने बोर्डका अध्यक्ष शर्माले बताए । उनका अनुसार बिहीबार नतिजा सार्वजनिक गरिए पनि उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीको विवरण भने खुलाइएको छैन । त्यसबारे छलफल र समीक्षा गरिने शर्माको भनाइ छ ।
उच्च जिपिए बागमतीमा धेरै, कर्णाली कमजोर
उच्च जिपिए ल्याउनेमा संख्यात्मक रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । ३.६० देखि ४.० जिपिएलाई उच्च मानिन्छ । बागमतीमा ११ हजार चार सय ८१ विद्यार्थीले यो नतिजा ल्याएका छन् । कोसीमा दुई हजार सात सय सात, मधेस प्रदेशमा दुई हजार एक सय ८५, गण्डकीमा एक हजार ६ सय ४७, लुम्बिनीमा दुई हजार सात सय ९५, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा दुई हजार तीन सय २० ले उच्च जिपिए ल्याएका छन् ।
तर, विगतमा भन्दा सबै प्रदेशले सुधार भने गरेका छन् । ०७८ मा बागमतीमा चार हजार ६ सय दुई र कर्णालीमा एक सय १४ ले उच्च जिपिए ल्याएका थिए । त्यस्तै, कोसीमा एक हजार एक सय ८७, गण्डकीमा सात सय ८४, लुम्बिनीमा एक हजार दुई सय २० र सुदूरपश्चिममा एक सय ९५ ले उच्च जिपिए ल्याएका थिए ।
नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने–पढाइ चुस्त भएर नै नतिजा राम्रो आयो
०७९ मा राम्रो नतिजा आउनुको कारण पढाइ चुस्त भएरै हो । स्तरीकृत परीक्षाका कारण पनि नतिजा राम्रो आयो । सामुदायिक विद्यालयको नतिजा पनि विगतभन्दा सन्तोषजनक छ । जिपिए ४.० ल्याउने संख्या पनि विगतको भन्दा बढी छ । ०७८ मा कोरोनाका कारण पठनपाठन अवरोध भएको थियो । कोभिडको ह्याङ पनि विद्यार्थीमा थियो ।
प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तह हो : तुलसी थपलिया, शिक्षाविद्
यसपटक समग्रतामा केही सुधार भएको कुरा राम्रो हो । अझै सुधार गर्दै लैजानुपर्छ । परीक्षामा असफल हुने विद्यार्थीलाई पनि ध्यान दिनुपर्छ । लगानी र स्रोतसाधनको परिचालन सहज बनाउन आवश्यक छ । राम्रो गर्ने विद्यालयलाई प्रोत्साहन गर्नुपर्छ । प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तह हो ।
विद्यार्थीले एसइईको नतिजा हेरेर आफूलाई मापन गर्नुहुँदैन : मिलन पाण्डे, शैक्षिक अभियन्ता
एसइईका उत्तरपुस्तिका चेकजाँच नै मलाई त्यति ठीक लाग्दैन । शिक्षा नीतिअनुसार कक्षा १० को परीक्षा केही होइन । यसको माक्र्स केही उपयोगी भएजस्तो मलाई लाग्दैन । हामीले यसलाई ठूलो बनाएर विद्यार्थीमा भय थपिरहेका छौँ । त्यसैले एसइईको नतिजा हेरेर विद्यार्थीले आफूलाई मापन गर्नुहुँदैन ।
पुरानै प्रणालीमा नतिजा, आगामी वर्षदेखि नयाँ नियम लागू हुने
राष्ट्रिय परीक्षा बोर्डले ०७९ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले ०७८ पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो ।
तर, नयाँ प्रणालीमा जाँदा नतिजामा समस्या हुने भएकाले यस वर्ष पुरानै तरिकाले नतिजा सार्वजनिक गरिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ । उनले नयाँ पाठ्यक्रम आइसकेकाले आगामी वर्षदेखि नयाँ व्यवस्था लागू गरिने बताए ।
हाल नतिजा आएको ब्याचका विद्यार्थी पुरानो पाठ्यक्रमअनुसारको अन्तिम ब्याच हो । नयाँ लेटर ग्रेडिङअनुसार ३५ अंकभन्दा कम ल्याउनेलाई ननग्रेडमा राख्ने व्यवस्था छ । ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने निर्देशिकामा उल्लेख छ । सरकारले कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको थियो ।