चलचित्र मानिसले हेरून् भनेरै बनाइन्छ । चलचित्रका टिकट खरिद गर्ने वा सेवाको सब्स्क्रिप्सन लिने मानिस अझै पनि धेरै छन्, जसले व्यावसायिक चलचित्र उद्योगलाई थप चलचित्र उत्पादन गर्न प्रोत्साहन गर्छ । चलचित्र निर्माणको निरन्तरताका लागि दर्शकको उपस्थिति महत्वपूर्ण हुन्छ । तर, चलचित्र र चलचित्र उद्योगमा व्यापक प्राज्ञिक अनुसन्धान भए पनि यी अनुसन्धानले दर्शकप्रति पर्याप्त ध्यान वा विचार पुर्याउन सकेका छैनन् ।
दर्शककेन्द्रित अनुसन्धान सीमित छन् । दर्शकका मामिलामा धेरैजसो बजार अनुसन्धानकर्ताले अनुसन्धान गर्छन् वा बाँकी कसैले गरे भने पनि अनुसन्धान ‘मिडिया प्रभाव’को संकीर्णतामा सीमित हुने गर्छ । यी दुवै अनुसन्धानको अवस्थामा दर्शकलाई ‘गरिब’का रूपमा चित्रण गरिएको हुन्छ वा गरिब भनेर बुझिएको हुन्छ । बजार अनुसन्धान मुख्य रूपमा दर्शकबाट कसरी थप पैसा असुल्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छ, जसले अन्ततः दर्शकलाई नै आर्थिक रूपमा कमजोर बनाइदिन्छ । अर्को अर्थमा ‘गरिब’ले दर्शकलाई सजिलै प्रभावित गर्न सकिन्छ र यिनलाई ‘हानिकारक’ मिडिया सामग्रीको जोखिममा परेका विचराका रूपमा चित्रण गरिएको हुन्छ ।
शक्तिशाली दोस्रो प्रवृत्तिले सेन्सरसिपलाई सशक्त बनाउँछ ।यद्यपि सीमित नै भए पनि एक तप्काले दर्शकको स्वायत्ततालाई स्विकार्छ र दर्शकलाई महत्वसाथ हेर्छ । यस तप्काको प्राज्ञिक अनुसन्धानमा दर्शक सक्रियतापूर्वक आफूले उपभोग गर्न चाहेको मिडिया आफैँले रोज्छन् । यी दर्शक मिडियालाई आफ्नो विवेक एवं अनुभवका आधारमा व्याख्या पनि गर्छन् । अन्ततः दर्शक आफूलाई सही–गलत जे लाग्छ, त्यसबारे खुलेर बोल्छन् । वास्तवमा दर्शकको यो सक्रियताले मिडियालाई तात्विक रूपमा प्रभावित पनि गर्छ ।
सार्वजनिक संकथनमा प्रगतिशील र जटिल विचार बोक्ने चलचित्र दण्डित हुन्छन् र घटिया चलचित्र पुरस्कृत वा प्रोत्साहित हुन्छन् भने गम्भीर परिणाम निम्तिन सक्छ
मिडियाको प्रभावलाई बारम्बार जोड दिने गरिए पनि मिडियासँग आलोचनात्मक रूपमा संलग्न हुने दर्शक÷श्रोताको क्षमतालाई प्रायः उपेक्षा गरिन्छ । मिडियाले महत्वपूर्ण वैचारिकी बोक्छ र दर्शक यसबाट प्रभावित हुन पनि सक्छन् । यति भन्दै गर्दा प्रभावित हुन्छन् नै भनेर ठोकुवा गर्न सकिँदैन । तसर्थ दर्शकमा मिडियाको प्रभाव जाँच्नु महत्वपूर्ण हुँदाहुँदै पनि स्वयम् मिडियालाई आकार दिन दर्शकले खेल्ने भूमिकामा पनि ध्यान दिनु जरुरी छ ।
उदाहरणका रूपमा हामीले हिन्दी सिनेमामा प्रस्तुति र पर्दापछाडि हुने लैंगिक प्रतिनिधित्वबारे एक बृहत् अनुसन्धान गरेका थियौँ । अनुसन्धानका क्रममा हामीले अनलाइन युवा मिडिया समीक्षकलाई पनि समेटेर सानो अध्ययन गरेका थियौँ । हामीले दर्शकले सिनेमासँग अन्तत्र्रिmया गर्ने विभिन्न उपायको अवलोकन गरेका थियौँ । यी युवा समीक्षकले लैंगिकताका मामिलामा रुढिबद्ध धारणाको प्रस्तुतीकरण (स्टेरियोटाइप) र कमजोर प्रतिनिधित्वको आलोचना गरेका थिए । यी समीक्षक आफ्नो आलोचनामा रचनात्मकता प्रदर्शन गर्छन् ।
यति मात्रै नभई यिनले अनलाइन समुदाय निर्माण गरिरहेका छन् र नारीवाद एवं सामाजिक न्यायका बहस र शब्दावलीको प्रसार पनि गरिरहेका छन् । यो एक सुखद समाचार हो । दर्शकको यो स्तरको संलग्नताले चलचित्र उद्योग र निर्मातालाई आफूलाई परिष्कृत गर्ने मौका दिन्छ ।
तर, हामीसँग निराशाजनक समाचार पनि छन् । हाम्रो अनुसन्धानमा समकालीन मिडिया अध्ययनले भन्ने गरेको ‘नेस्टी अडियन्स’ (अश्लील दर्शक) को बढ्दो उपस्थितिको पनि संकेत गरेको छ । यी दर्शक सामान्यतया ट्रोल भनेर चिनिन्छन्, जहाँ यी आफूसँग असहमत हुनेसँग दुव्र्यवहार र उत्पीडन गर्छन् तथा हिंसात्मक धम्की दिन्छन् । प्रायः यी ट्रोल रुढिवादी विचारधारासँग नजिक हुन्छन् र प्रगति तथा सामाजिक न्यायसँग सम्बन्धित मामिलामा प्रतिक्रियावादी दृष्टिकोण राख्छन् ।
यस सन्दर्भमा लैंगिकतासम्बन्धी छलफल विरोधाभासी दृष्टिकोणको एक अत्यधिक विवादास्पद क्षेत्र बन्न पुग्छ । लैंगिकता र मिडियामा केन्द्रित विद्वान्ले परम्परा र सांस्कृतिक पहिचानका नाममा महिलाको स्वतन्त्रतालाई कसरी प्रतिबन्धित गरिन्छ भनेर निरन्तर विश्लेषण गरेका छन् । महिलाले राष्ट्रिय वा सामुदायिकस्तरमा परम्परागत र सांस्कृतिक मूल्यलाई मूर्त रूप दिन्छन् भन्ने अवधारणा व्याप्त छ । र, यी मूल्यबाट हुने कुनै पनि विचलनलाई राष्ट्रिय वा सामुदायिक पहिचानको अस्तित्वमा हुने खतराका रूपमा हेरिन्छ ।
नतिजा व्यक्तिगत सम्बन्ध, पारिवारिक, सामाजिक भूमिका र यौनिकताजस्ता क्षेत्रमा आफ्नो स्वतन्त्रतालाई जोड दिने महिलाको चित्रण गर्ने सिनेमाले राष्ट्रिय वा सामुदायिक पहिचानका ठेकेदारलाई क्रुद्ध बनाउँछ । यी ठेकेदारको नैतिक पहरेदारी, उत्पीडन र हिंसाका धम्कीले दर्शक मात्र नभई चलचित्र उद्योगमा काम गर्ने महिला र लैंगिक अल्पसंख्यक पेसेवरमा पनि चिसो प्रभाव पार्छ ।
चलचित्र निर्मातालाई राम्रो र नराम्रो दुवै फिल्म बनाउने स्वतन्त्रता छ । त्यसैगरी दर्शकसँग पनि आफूले के हेर्ने र नहेर्ने भनेर निर्णय गर्ने शक्ति छ । दर्शकले घटिया चलचित्रको छनोट गर्छन् भने यो दर्शकको कुरा भयो । तर यदि सार्वजनिक संकथनमा प्रगतिशील र जटिल विचार बोक्ने चलचित्र दण्डित हुन्छन् र घटिया चलचित्र पुरस्कृत वा प्रोत्साहित हुन्छन् भने यसबाट गम्भीर परिणाम निम्तिन सक्छन् ।
हिन्दी चलचित्र उद्योगले प्रदर्शन हुने नयाँ चलचित्रमा दर्शकको उत्साह बढाउन र कमाइ गर्न अनलाइन समुदायलाई सक्रिय रूपमा समावेश गर्छ । यद्यपि, चलचित्र उद्योगले यी समुदायको दृष्टिकोण र चाहनालाई सुन्नुपर्छ र प्रतिक्रिया पनि दिनुपर्छ । समाचार र वित्तजस्ता उद्योग सार्वजनिक विश्वास पुनस्र्थापित गर्ने लक्ष्य राख्दै मिथ्या समाचार र अनलाइन धोखाधडीविरुद्ध लड्न गम्भीर प्रयास गरिरहेका छन् । चलचित्रमा हुने पाइरेसी (चलचित्रको अनधिकृत प्रदर्शन) रोक्न जुन किसिमले जसरी पहिले हिन्दी चलचित्र उद्योगले स्रोतको खर्च गरेको थियो, त्यसरी नै अनलाइन समुदायको दृष्टिकोण र चाहनालाई सुन्ने हो भने निश्चय नै सुरक्षित, सशक्त र समृद्ध सिनेमा संस्कृतिको विकास हुन सक्छ ।
(उल्लाह टिस मुम्बईका मिडिया र सांस्कृतिक अध्ययनका उप–प्राध्यापक हुन्) द इन्डियन एक्सप्रेसबाट