- विश्वका धेरै देशमा ५ जुलाईलाई मेकानिकल पेन्सिल दिवसका रूपमा मनाउने गरिन्छ । पेन्सिल र विद्यार्थीबीचको सम्बन्ध विशेष छ । राम्रा अक्षरले लेखेर राम्रो अंक ल्याउनका लागि उनीहरूले दैनिक यसको प्रयोग गरिरहेका हुन्छन् । हिसाब गर्ने, चिठी लेख्नेलगायत लेखापढीको काममा पनि पेन्सिल प्रयोग हुन्छ । अहिले समाज डिजिटल युगमा प्रवेश गरिसकेकाले लेखापढीका काममा कम्प्युटर, ल्यापटप, मोबाइललगायत ग्याजेटको पनि प्रयोग हुन्छ ।
- मेकानिकल पेन्सिल दिवसका अवसरमा मानिसहरूले प्रियजनलाई पेन्सिल दिने, स्थानीय स्कुलमा पेन्सिल वितरण गर्ने तथा विद्यार्थीहरूका नाममा छात्रवृत्ति घोषणा गर्ने गरेका छन् । मानिसहरूले घरमा पनि पुराना डिजाइनका पेन्सिल सजाएर राख्छन् । बौद्धिक काममा प्रयोग हुने भएकाले पनि पेन्सिलप्रति मानिसको सम्मान विशेष छ ।
- युरोपमा १६औँ शताब्दीमा ग्राफाइटको खानी भेटिएसँगै पेन्सिलको आविष्कार सुरु भएको थियो । पेन्सिलको पहिलो डिजाइन स्विट्जरल्यान्डका कोराड गेस्नरले १५६५ मा बनाएका थिए । ग्राफाइट स्टिकलाई धागोले बेरेर काठको ट्युबमा हालेर पहिलो पेन्सिलको डिजाइन तयार गरिएको थियो । पहिलो मेकानिकल पेन्सिलको पेटेन्ट अधिकार १८२२ मा बेलायतमा साम्पसन मोर्डन र जोन इस्याकले लिएका थिए । यसपछि धेरै कम्पनीले ठूलो परिमाणमा व्यावसायिक रूपमा पेन्सिल उत्पादन गर्न थाले ।
- अहिले विभिन्न आकार र फ्रेममा पेन्सिल पाइन्छन् । काठ, प्लास्टिक र विभिन्न धातुबाट पेन्सिल तयार हुन्छन् । ती पेन्सिललाई चित्रकला र डिजाइनिङका लागि पनि प्रयोग गरिन्छ ।