१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Friday, 05 July, 2024
तेजराज भट्ट काठमाडाैं
२o८o असार २० बुधबार o९:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा फैलिँदै लागुऔषधको जालो

Read Time : > 2 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २० बुधबार o९:५१:oo

जेलमा छोरालाई भेट्न गएकी आमासँगै भेटियो लागुऔषध, चोरीका ९० प्रतिशतभन्दा बढी घटनामा लागुऔषध प्रयोगकर्ता संलग्न

जिल्ला कारागारमा रहेका छोरा भेट्न गएकी धनगढी उपमहानगरपालिका–३, की ५० वर्षीया कमलादेवी अवस्थी गत १० असारमा लागुऔषधसहित पक्राउ परिन् । उनले छोरा ओमप्रकाशलाई लगेको सामान सुरक्षाकर्मीले चेकजाँच गर्दा बिस्कुटभित्र लुकाएको पाँच ग्राम लागुऔषध फेला पर्‍यो । ओमप्रकाश लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका छन् । प्रहरीका अनुसार उनकी श्रीमतीसमेत लागुऔषध मुद्दा जिल्ला प्रहरीको हिरासतमा छिन् ।

लागुऔषधको प्रयोग र कारोबार डरलाग्दो गरी फैलिरहेको यो एउटा पछिल्लो उदाहरण हो । प्रहरीले सक्रियता बढाएपछि केही समययता कैलाली, कञ्चनपुरमा दैनिकजसो लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन् । चार वर्षयताको लागुऔषधका मुद्दा र व्यक्ति पक्राउको संख्या हेर्दा सुदूरपश्चिममा लागुऔषधको जालो तीव्ररूपमा फैलिँदै गएको देखिएको छ । 

प्रहरीले आर्थिक वर्ष ०७६/७७ मा प्रदेशका नौ जिल्लामा लागुऔषधसम्बन्धी एक सय ७१ वटा मुद्दा अदालतमा दर्ता गरेको थियो । जबकि चालू आर्थिक वर्षको मध्य असारसम्म चार सय ९३ मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार बीचका दुई आर्थिक वर्षमा क्रमशः दुई सय ५३ र तीन सय ५३ मुद्दा दर्ता भएको देखिन्छ ।

लागुऔषधको जालो तीव्ररूपमा फैलिएसँगै मान्छे पक्राउ पर्ने क्रम पनि बर्सेनि बढेको छ । आव ०७६/७७ मा लागुऔषधसम्बन्धी मुद्दामा प्रदेशभरि १३ महिलासहित दुई सय ७० जना पक्राउ परेकोमा चालू आवको ११ महिनामा ६ सय ७० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए । त्यसमध्ये ५३ जना महिला रहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रयोगकर्ताको संख्या बढी छ । पछिल्लो समय लागुऔषधमा फस्ने महिलाको संख्या पनि बढ्दै गएको पाइएको प्रहरी उपरीक्षक चौधरीले बताए । प्रदेशभरि हाल प्रहरीको हिरासतमा रहेका दुई सय ६७ जनामध्ये ५० प्रतिशतभन्दा अर्थात् एक सय ३७ जना लागुऔषधको मुद्दाका रहेका उनले जानकारी दिए । यहाँका नौवटै जिल्ला कारागारमा एक हजार पाँच सय ९० कैदीबन्दी रहेकोमा तीन सय ७७ जना लागूऔषध मुद्दाका रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषधको जालो फैलिँदै जाँदा समाजमा आपराधिक घटना पनि बढिरहेका छन् । ‘लागुऔषधको जालो डरलाग्दो गरी फैलिरहेको छ । यसले शान्ति, समृद्धि र विकासलाई असर गरेको छ,’ चौधरीले भने, ‘धेरैजसो आपराधिक घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता पाइने गरेको छ ।’ यद्यपि, लागुऔषध नियन्त्रणको अभियानसहित प्रहरीले सक्रियता बढाएपछि प्रयोगकर्ता र कारोबारी धमाधम पक्राउ पर्दा संख्या बढी देखिएको उनले बताए ।

अनुसन्धानबाट चोरीका ९० प्रतिशतभन्दा बढी घटनामा लागुऔषध प्रयोगकर्ता संलग्न देखिन गरेको प्रहरीको दाबी छ । लेन ओभरटेक गरेर हुने सवारी दुर्घटना तथा बलात्कार, हत्याजस्ता जघन्य अपराधमा पनि लागुऔषध प्रयोगकर्ताको संलग्नता बढी रहने गरेको चौधरीले बताए । प्रहरीको तथ्यांकअनुसार लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये १६ देखि २० वर्ष उमेर समूहका युवायुवतीको संख्या बढी छ ।

खुला सिमानाले नियन्त्रणमा चुनौती
लागुऔषधसम्बन्धी अधिकांश मुद्दा कैलाली र कञ्चनपुरका छन् । खुला सीमानाका कारण भारतको सीमावर्ती क्षेत्रबाट लागुऔषध ल्याउने गरिएको बताइन्छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खुला सिमाना लागुऔषध नियन्त्रणका लागि चुनौतीपूर्ण रहेको बताए । सीमावर्ती क्षेत्रमा लागुऔषधको अवस्था भयावह रहेको उनले बताए ।

‘लागुऔषधको अवस्था भयावह छ । हामीले सीमाक्षेत्रमा निगरानी बढाएका छौँ, तर पनि बढेको बढ्दै छ । नियन्त्रण गर्न सकेका छैनौँ । प्रहरीले नभेटेको संख्या झन् कति छ कति,’ अधिकारीले भने, ‘सुरक्षा निकायको प्रयासले मात्र लागुऔषध नियन्त्रण गर्न सकिँदैन । सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’ कञ्चनपुरमा भारतसँग जोडिएको एक सय २५ किलोमिटर खुला सिमानाले चुनौती बढाएको उनले बताए ।

प्रहरीका अनुसार चरेशबाहेक सबै लागुऔषध कारोबारी र प्रयोगकर्ताले सीमावर्ती भारतीय क्षेत्रबाट ल्याउने गरेका छन् । कैलालीमा भारतसँग एक सय तीन किलोमिटर खुला सिमाना छ । सीमाक्षेत्रमा रहेका सुरक्षा पोस्टहरूमा जनशक्ति कम रहेकाले पनि लागुऔषध नियन्त्रण गर्न गाह्रो हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार कैलाली, कञ्चनपुरमा सीमाको एउटा सुरक्षा पोस्टले १०–१२ किलोमिटर क्षेत्रसम्म हेर्नुपर्ने भएकाले निगरानी गर्न गाह्रो हुने गरेको हो ।

सुरक्षा निकायको एकल प्रयासले मात्र लागुऔषध नियन्त्रण सम्भव नभएकाले अभिभावक, समाज, सामाजिक संघसंस्था सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने प्रहरी उपरीक्षक चौधरीले बताए । आफ्ना छोराछोरीबारे अभिभावकले चासो दिनुपर्ने उनले बताए । ‘१६ देखि २० वर्षको उमेरका युवायुवती लागुऔषधमा बढी फसेको देखिन्छ । यो उमेरमा अभिभावकले बढी ध्यान दिनुपर्छ,’ उनले भने ।

ad
ad
ad
ad