सहरदेखि केही परको गाउँमा एक वृद्ध दम्पती बस्थे । यो स्थान निकै शान्त थियो । वरपर खेतबारी प्रशस्त थियो । त्यहाँ काम गर्ने किसान प्रायः काममा व्यस्त देखिन्थे । एक बिहान सबेरै उठेर बगैँचामा टहलिरहेका वृद्ध दम्पतीले हातमा कोदालो लिएर साइकलमा गइरहेको नौलो युवकलाई देखे । युवक एकैछिनमा ओझेल भए । वृद्ध दम्पतीले खासै ध्यान दिएनन् । दोस्रो दिन बिहान पनि ती युवक त्यसैगरी जाँदै गरेका देखिए । अब यो दैनिकी नै बन्यो । ती युवक हरेक दिन कोदालो बोकेर साइकलमा आउँदै गरेका देखिन्थे र एकैछिनमा बेपत्ता हुन्थे । तिनी कहाँ जान्थे र के गर्थे, वृद्ध दम्पतीमा कुतूहल उत्पन्न भयो ।
उनीहरूले ती युवकको चियो गर्ने सल्लाह गरे । अर्को बिहान उनीहरूले आफ्नो गाडी सडकको किनारमा तयारी अवस्थामा राखे । एकैछिनमा ती युवक सदाझैँ साइकल आए र आफ्नो बाटो लागे । वृद्ध दम्पती पनि आफ्नो गाडीबाट साइकलवाला युवकलाई पछ्याउँदै बिस्तारै अघि बढे । केही अगाडि पुगेपछि ती युवकले आफ्नो साइकल रोके र एउटा खेततिर लागे । खेतमा पुगेपछि उनी आफ्नो कोदालोले खेत खन्न थाले । दम्पतीलाई उनको यो कार्य अलि अनौठो लाग्यो । नजिकै गएर उनीहरूले युवकलाई सोधे– बाबु, तिमी यो गाउँका होइनौ जस्तो लाग्यो । यहाँ आएर यसरी अर्काको खेत किन खनिरहेका छौ ?
खेतमा कोदालो चलाउँदै युवकले भने– मैले अबका दुई दिनपछि एक किसानकहाँ काम गर्न जानु छ । तर, मसँग खेतमा काम गरेको अनुभव थिएन । मसँग आफ्नो जमिन पनि थिएन । त्यसैले, मैले यो जमिनका मालिकसँग अनुरोध गरेर यहाँ खेती गर्ने अनुभव लिइरहेको छु । आखिर, राम्रो काम गर्न अनुभव त चाहियो नि होइन ? युवकको भनाइ सुनेपछि वृद्ध दम्पती खुसी भए र उनलाई सफलताको आशीर्वाद दिएर फर्किए ।